• २० असोज २०८१, आइतबार

चुरे गाउँपालिकाको ४० प्रतिशत क्षेत्रमा बत्ती पुगेन

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस १७ गते । कैलालीको पहाडी गाउँपालिका चुरेको बाटेगढामा पहिलो पटक बिजुली पुगेपछि स्थानीयमा खुसी छाएको छ । चुरे गाउँपालिका –४ बाटेगढामा पहिलो पटक बिजुली बत्ती पुगेपछि अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको भन्दै  स्थानीयहरू खुसी भएका हुन् । यद्यपि सो गाउँपालिकाको ४० प्रतिशत क्षेत्रमा अझै बत्ती पुग्न सकेको छैन । 

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वडा २ र ४ को एउटा गाउँमा मात्र बत्ती पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाका अन्य वडाका धेरै गाउँमा अझै बत्ती  पुगेको छैन, समग्रमा भन्नुपर्दा अझै ४० प्रतिशत क्षेत्र बिजुली बत्तीको पहुँचभन्दा बाहिर रहेका छन् ।’

अध्यक्ष बोगटीले आफ्नो कार्यकालभित्र सबै ठाउँमा बत्ती पुगाउन पहल गर्ने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बाटेगढामा एक करोड ६० लाखको लागतमा बिजुली बत्ती बालिएको बताउनुभयो । सो क्षेत्रका स्थानीयले बत्तीका लागि सोलारको प्रयोग गर्दैआएका थिए । 

केन्द्रका प्रमुख मण्डलले विस्तारित विद्युतीकरण अन्तर्गत चुरेमा १२ औँ ट्रान्सफर्मर बाटेगढा रहेको जनाउँदै चुरे गाउँपालिका अन्तर्गत पर्ने चुरेफेदीको गाउँ बालुवागडमा २०७६ मा विद्युतीकरण गरिएको बताउनुभयो ।  जागती, गर्भा दरबारलगायत चुरेका अन्य गाउँमा समेत विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणको रहेको छ ।