• २० असोज २०८१, आइतबार

मुख्यमन्त्रीद्वारा सेती अस्पतालमा सीटी स्क्यान सेवाको उद्घाटन

blog

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन र अवलोकन गर्नुहुँदै मुख्यमन्त्री त्रिलोचन भट्ट। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी/भवानी ऐर

धनगढी, पुस १७ गते। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान सेवा थपिएको छ। 

अस्पताल स्थापनाको ८३ वर्षपछि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा सीटी स्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार एक कार्यक्रमकोबीच सीटी स्क्यान सेवाको उद्घाटन गर्नुभयो। 

सो क्रममा उहाँले आफ्नो पालामा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउनुभयो। ‘जसमध्ये यो अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालन महत्त्वपूर्ण कार्य हो’, उहाँले भन्नुभयो। 

सीटी स्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने मुख्यमन्त्रीको विश्वास थियो। उहाँले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो। 

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा सीटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्दा छ करोड ८७ लाख रुपियाँमा सीटी स्क्यान मसिन खरिद भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयले जानकारी दिनुभयो। 

उहाँले बचत भएको रुपियाँ अस्पतालको लागि एमआरआई मेसिन खरिद गर्नका लागि खर्च गरेको बताउनुभयो। 

सीटी स्क्यान सेवा थपिनु प्रदेशवासीका लागि खुसीको कुरा रहेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले मसिन थप्ने तर, जनशक्ति अभावमा केही समयपछि बन्द हुने गरेकाले त्यसतर्फ  सजग रहन अस्पताललाई आग्रह गर्नुभयो। 

अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाहले अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालनले यो प्रदेशका जनता सीटी स्क्यान गराउनकै लागि काठमाडौं, नेपालगञ्ज, भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।