• २० असोज २०८१, आइतबार

अस्थायी टहरामा जनजीवन थप कष्टकर

blog

हुप्सेकोट –१ जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरा । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, पुस १७ गते । मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –१ जुकेपानीका १८ घरपरिवार पहिरो प्रभावित अस्थायी टहरामा बस्दैआएका छन् । 

गत बर्खामा हुप्सेकोट –५ वाकखोरमा पहिरोले विस्थापित भएका उहाँहरूलाई टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता छ । ५५ वर्षका खगिसरा रानाको परिवार, पहिरोले विस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १६ महिनाभन्दा बढी भयो । जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ताको विषय छ ।

गत असारमा वाकखोरमा पहिरोमा घर परेपछि १८ परिवार विस्थापित भए । खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भए पनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ स्थायी बसोबासको प्रबन्ध राज्यले मिलाई दिनुपर्ने बताउनुभयो । पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छाडेर गाउँपालिकाले बनाइदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । खेती किसानी गर्नेलाई टहराको बसाइमा जीवन धान्न सजिलो नभएको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चिसो मौसममा बालबालिकालाई विशेषगरी श्वास प्रश्वासमा समस्या देखिने, वृद्ध वृद्धमा जाडोले कठ्याङ्ग्रिने, हाड जोर्नी दुख्ने समस्या देखापरेको छ” रानाले भन्नुभयो । चिसो बढेसँगै हामीलाई निकै समस्या परेको छ, न बस्ने ठाउँ छ न खेती किसान गर्ने ठाउँ छ ।

निर्वाचनका समय जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उम्मेदवारले मत मागे तर अहिले विजयी भएपछि कोही पनि फर्किएर त्यहाँ नपुगेको स्थानीयको गुनासो छ । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले अस्थायी टहरामा बस्दै आएका परिवारलाई व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।