• २० असोज २०८१, आइतबार

दुर्गम डाइनी खोला झलमल्ल

blog

जनार्जन खत्री 

सर्लाही, पुस १७ गते । सर्लाहीको चुरे भेगस्थित अत्यन्त दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायण खोलाअन्तर्गत डाइनी खोलामा बिजुली बत्ती पुगेको छ। बिजुली बत्ती पुगेपछि दुर्गम गाउँ डाइनी खोलाको बस्ती झलमल्ल भएको छ। 

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तरको प्रयासपछि जिल्लाकै अत्यन्त विकट क्षेत्र डाइनी खोलामा बिजुली बत्ती पु-याएको हो। 

वर्षौंको प्रतीक्षापछि गाउँमा बिजुली बत्ती बल्न थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन्। स्थानीयले अहिले धमाधम मिटर राखेर बत्ती बाल्न थालेका छन्। वडाध्यक्ष छेनामसिंह घिसिङले सहायक पोल नहुँदा अझै धेरै घरमा बिजुली पुग्न बाँकी रहेको र त्यसका लागि वडाबाट निवेदन लेखेरै प्राधिकरणसँग चार सयवटा पोल माग गरिएको जानकारी दिनुभयो। 

उहाँका अनुसार नारायण खोलाका करिब नौ सय घर धुरीमध्ये भर्खर तीन सयमा बिजुलीको पहुँच पुगेको छ। त्यहाँको पन्ध्र बिघा, कामिटार, सिरुघारी, होमाले डाँडा, डाइनी शीरलगायतका बस्तीमा बिजुली पुग्न बाँकी नै रहेको वडाध्यक्ष घिसिङले बताउनुभयो। 

त्यहाँ बिजुली पुगेपछि लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडाध्यक्ष छेनामसिंह घिसिङ र प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जिवकुमार साहले ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको औपचारिक उद्घाटन गर्नुभएको छ। 

नारायण खोलाको मोटर दोभानतर्फ केही वर्षअघि नै बिजुली पुगेको थियो। डाइनी खोलातर्फ भने सत्र कट्ठाबाट पहिलो पटक बिजुली पु¥याइएको लालबन्दी वितरण केन्द्रले जनाएको छ। प्राधिकरणले क्रमैसँग सबै ठाउँमा विद्युत् पु-याइने जनाएको छ। लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जिवकुमार साहले पहाडी भेगजस्तै रहेको लालबन्दी–१४, नारायण खोला र लालबन्दी–१२, भालुखोपको डाँडापाखाका बस्तीमा निकै सङ्घर्षले बिजुली बत्ती पु-याइएको बताउनुभयो। सडक नपुगेकाले लालबन्दी–१३, पत्थरकोटस्थित छेडा गाउँबाट लखन्देही खोलाको बगर हुँदै जानुपर्ने नारायण खोलामा डाँडा पाखामा छरिएर रहेका बस्तीहरू छन्।