• २० असोज २०८१, आइतबार

एउटै पालिकाबाट ६ जना प्रदेश सांसद

blog

रवीन्द्र उप्रेती
बर्दिबास, पुस १७ गते । महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ । 
जिल्ला निर्वाचन कार्यालयका अनुसार यो नगरपालिका ठेगाना भएका प्रत्यक्षतर्फ २ र समानुपातिकबाट ४ जना निर्वाचित हुनु भएको हो । मनरासिसवा नगरपालिका प्रमुख मोहन पाण्डेका अनुसार निर्वाचित सबै ६, ७ र ८ नं वडाका स्थायी बासिन्दा हुनुहुन्छ । १० वडा रहेको मनरासिसवा क्षेत्र नं ४ (२) अन्तर्गतको पालिका हो । तर यसको वडा नं ८, ९ र १० क्षेत्र नं ३ (२) मा पनि पर्छ । 
प्रत्यक्षतर्फबाट मनरासिसवा ८ सहसरामकी रानी कुमारी तिवारीले क्षेत्र नं ३ (२) बाट र वडा नं ७ सरपल्लोका सरोजकुमार सिंह क्षेत्र नं ४ (२) बाट निर्वाचित हुनु भएको हो । तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा सिंह जनता समाजवादी पार्टी (जसपा)सँग आबद्ध हुनुहुन्छ ।
त्यस्तै समानुपातिकतर्फ मनरासिशवा वडा नं ६ सरपल्लोकी रमिता प्रधान लोसपाबाट, वडा नं ७ सरपल्लोकै अनिता साह र वडा नं ८ सहसरामका चन्दन सिंह जनमत पार्टीबाट, तथा वडा नं ८ सहसरामबाटै अञ्जना पण्डित नेपाली काङ्ग्रेसबाट मधेस प्रदेश सांसद निर्वाचित हुनु भएको हो । 
‘मधेस प्रदेशका साथै मनरासिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय, अनुकरणीय एवं उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौ र सफलताको कामना पनि गर्दछौं’ नगरप्रमुख पाण्डेले भन्नुभयो । 
प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित हुनु भएकी रानीकुमारी तिवारीले आफूहरू सबै ६ जना प्रदेश सांसद एउटै पालिकाको भएकोमा आफूलाई गौरव लागेको प्रतिक्रिया दिनु भयो । मनरासिसवाको सर्वाङ्गीण विकाशका लागि सबै ६ जना प्रदेश सांसदबिच समन्वय गरेर अगि बढ्न आफूले पहले गर्ने तिवारीले बताउनुभयो ।