• १२ असोज २०८१, शनिबार

छ वर्षदेखि लामीडाँडा विमानस्थल बन्द

blog

राजकुमार भट्टराई  

खोटाङ, पुस १७ गते । कच्ची हुँदा नियमित उडान भइरहेको खोटाङको लामीडाँडा विमानस्थल स्तरोन्नतिपश्चात् छ वर्षदेखि कामविहीन बनेको छ। खोटाङको सबैभन्दा पुरानो जिल्लावासीको यात्राको एक मात्र माध्यम रहेको विमानस्थलमा अहिले उडान नहुँदा व्यापार व्यवसायसमेत ठप्प भएको छ। 

खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा वि.सं. २०२८ मा निर्माण सम्पन्न पश्चात् खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको थियो। उडान बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ३४ लाख बजेटमा २०७३ सालबाट स्तरोन्नति गर्न सुरु ग¥यो। विमानस्थलको काम सम्पन्नपश्चात् २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान ग¥यो तर त्यसपश्चात् उडान नहुँदा आसपासका व्यापार व्यवसाय ठप्प भएका छन्।

कच्ची हुँदा हप्तामा दुई दिन उडान भइरहेको विमानस्थल स्तरोन्नतिपश्चात् नियमित उडान हुन्छ भन्ने स्थानीयवासीले सोचेका थिए तर उनीहरूले सोचेजस्तो नभएपछि अहिले विमानस्थल आसपासका होटल पसलहरू प्रायः सबै बन्द भएको छ। कतिपय व्यवसायीहरू अहिले खेतीतर्फ व्यस्त छन् भने कतिपय व्यवसायीहरू होटलमा ताल्चा लगाएर अन्यन्त्र गएका छन्। घरका ढोका झ्यालमा धमिरा लागेको छ भने बाटोमा झारपात पलाएको छ। “विमानस्थल नजिकै रहेको बैङ्कसम्म स्थानीय आउँछन्, तर होटेल पसलहरूमा व्यापार छैन,” स्थानीय होटल व्यवसायी जगत थापा मगर बताउनुहुन्छ। विमानस्थल सञ्चालनका लागि कसैले पहल नगरेको उहाँको दुखेसो छ। 

विमानस्थलमा उडान भर्न माग गर्दै दुई पटक मन्त्रालय पुगेर निवेदनसमेत दिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो। उडान नहुँदा गाउँपालिकावासी धेरैको रोजगारी गुमेको छ। होटल व्यवसाय, तरकारी तथा फलफूल खेतीमा ठूूलो असर परेको अध्यक्ष श्रेष्ठको भनाइ छ।

हेलिकोप्टर र हवाइजहाज गरी एक दिनमा ७२ उडानसम्म भएको जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलमा फेरि नियमित उडान गराउने भन्दै धेरै पटक नेताहरूले भाषण गरे तर विमानस्थलको हवाइमार्गबाहेक अन्य क्षेत्र अहिले घाँसे मैदानमा परिणत भएको छ भने कार्यालयमा ताल्चा लगाइएको छ। हप्तामा एक पटक मात्र भए पनि उडान भए बिरामी, सुत्केरी तथा गर्भवती र वृद्धवृद्धालाई यात्रा गर्न सहज हुने स्थानीयको भनाइ छ। समुन्द्री सतहबाट १२३० मिटर उचाइमा रहेको लामीडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ। ५२० मिटर लम्बाइ र २० मिटर चौडाइ धावनमार्ग रहेको सो विमानस्थलमा ट्वीनअटर जहाजहरू उडान–अवतरण गर्न सक्ने प्राधिकरणले जनाएको छ।