• २० असोज २०८१, आइतबार

कठ्याङ्ग्रियो मधेश

blog

जनार्जन खत्री 

सर्लाही, पुस १६ गते ।  तराई मधेशका जिल्लामा दुई दिनदेखि घाम लागेको छैन।  निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्गिँरदो चिसो भइरहेको छ। अचानक कठ्याङ्ग्रिँदो चिसो हुँदा जनजीवन निकै कष्टकर बनेको छ। 

यहाँ बुधबारदेखि घाम लाग्न छाडेर थप चिसो बढेको हो। चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन्। 

चिसो अत्यधिक हुँदा स्थानीय पालिका र अन्य सरोकारवाला निकायले प्रभावितलाई कुनै सहयोग गरेका छैनन्। न्यानो कपडा नभएकाहरू चिसोमा लगलग कामेर बसिरहेका देखिन्छ। 

जिल्लाको बसबरिया गाउँपालिका–३, भवानीपुरकी मन्बादेवी माझी मुसहरले न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर बस्नु परेको गुनासो गर्नुभयो। “गाउँपालिका र वडा कार्यालयसँगै टाँसिएको मुसहर बस्ती छ तर हामी मुसहर चिसोमा यसरी कठ्याङ्ग्रिएर बसेको कसैले देखेका छैनन्,” ६५ वर्षीया मन्बादेवीले भन्नुभयो, “गाउँपालिका र वडाध्यक्षले हामी चिसोले यसरी कामेर बसिरहेको देख्नुभएको छ। केही भन्न गयौँ भने हाम्रो कुराको सुनुवाइ नै हुँदैन।”

बढ्दो चिसोमा खरको छानो र माटोले लिपपोत गरिएको घरमा बस्ने मुसहर समुदाय धेरै प्रभावित बनेका छन्। मुसहर समुदाय राति सुत्दा पराल ओछ्याएर सुत्ने गरेको बरहथवा नगरपालिका–८, टाँडी मुसहरी टोलकी सञ्जावती माझीले गुनासो गर्नुभयो। 

चिसो छल्न जिल्लाको ग्रामीण भेगमा स्थानीयले आगो बालेर तापिरहेका छन्। चिसोका कारण बाहिर मानिसको चहलपहल निकै कम भएको छ। 

लालबन्दी नगरपालिका–१२, जियाजोरका स्थानीय अर्जुन विश्वकर्माले आफूहरूको क्षेत्रमा पनि चिसोका कारण विपन्न परिवारको अवस्था निकै दयनीय बनेको बताउनुभयो। “बुधबारदेखि घाम नलागेर अत्यन्त कठ्याङ्ग्रिँदो चिसो हुँदा गरिब परिवारलाई निकै गाह्रो परेको छ,” विश्वकर्माले भन्नुभयो, “चिसो बढेपछि सबै जना आ–आफ्नो घरमा आगो तापेर बस्नुभएको छ।”

चिसोमा किसानलाई पशुपन्छी जोगाउन मुस्किल परेको छ भने बाक्लो हुस्सुले तोरीलगायतका बालीनालीमा प्रकोप देखापर्न थालेको छ। सर्लाहीमा यो वर्ष चिसोले कठ्याङ्ग्रिएर हरिपुरमा तीन जना, बसबरियामा एक जना र हरिवनमा मागेर खाँदै हिँड्ने एक जनाको मृत्यु भइसकेको छ। 

कठ्याङ्ग्रिँदो चिसो भइरहँदा जिल्लामा अधिकार सम्पन्न स्थानीय तहले राहतका लागि कुनै पहल नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्। हरिपुर नगरपालिकाका प्रमुख गोपाल पञ्जियारले गैर–सरकारी संस्थासँग समन्वय गरी विभिन्न वडामा चिसो प्रभावितलाई न्यानो कपडा वितरण गरिरहेको र यसलाई व्यवस्थापन गर्न लागिपरेको बताउनुभएको छ। 

अधिकांश स्थानीय पालिका राहतका लागि गैरसरकारी संस्थाकै भरमा बसेका छन्। “गैरसरकारी संस्थासँग समन्वय गरेर केही वडामा न्यानो कपडा बाँड्यौँ तर सबैले नपाएको भन्दै त्यसमा व्यापक गुनासो आयो,” नगरप्रमुख पञ्जियारले भन्नुभयो, “राहतको विषयमा जति बाँड्दा पनि गुनासो कम हुँदैन रहेछ, हामी यसलाई व्यवस्थित गर्दैछौँ।”

गैरसरकारी संस्थाबाहेक जिल्लामा पालिका आफैँले कहीँ पनि न्यानो बाँड्ने काम गरेका छैनन्। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यस सम्बन्धमा पालिकाहरू नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। 

जिल्ला विपत् व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गौतमले तत्कालका लागि डिभिजन वन कार्यालयमार्फत प्रत्येक पालिकालाई दुई/दुई चट्टा दाउरा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। “तत्काल स्थानीय बासिन्दालाई आगो ताप्ने व्यवस्था मिलाउन लागिपरेका छौँ,” प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयो, “वनसँग पनि दाउराको अभाव देखियो, २० पालिकालाई तत्काल दुई/दुई चट्टा उपलब्ध गराउने निर्णय गरेका छौँ।”

विद्यालय जाँदैनन् बालबालिका 

बोदेबर्साइन समाचारदाता ललिता साहका अनुसार शीतलहरकै कारण विपन्न समुदायका बालबालिका विद्यालय जान छोडिसकेका छन्। सप्तरीको बोदेबर्साइन–९ बस्ने साहिरा बीबीले चार जना छोरीलाई सरकारी विद्यालयमा पढाउनुहुन्छ। 

मजदुरी गरेर छोरीहरूलाई पढाउँदै आएकी उहाँलाई चिसोले छोरीहरू बिरामी पर्छन् भन्ने चिन्ता छ। एक हप्तादेखि बाक्लो हुस्सु लागेको र घरमा बाक्लो लुगा नभएकै कारण छोरी फतमा, तवसुम र नगमालाई विद्यालय जान नदिएको आमा साहिराले बताउनुभयो। 

शीतलहरसँगै बढेको चिसोका कारण स–साना बालबालिकालाई विद्यालय जान कठिनाइ भइरहेको बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेषकुमार सिंहको भनाइ छ। उहाँले थप्नुभयो, “अझै एक/दुई दिन हेर्दैछु, मौसमको अवस्था यस्तै रह्यो भने नगरका विद्यालय बिदा गर्ने अभिभावक तथा प्रधानाध्यापकसँग छलफल भइरहेको छ।’’

रूपनी– २ का बुधेश्वर आधारभूूत विद्यालय जाडोले विद्यार्थी पढ्न नआएकाले बन्द गर्नुपरेको जना शिक्षिकाले बताउनुभयो।

जिल्लाको बोदेबर्साइन, शम्भुनाथ, तिलाठी कोइलाडी, राजगढ, बलानविहुल, खड्क, हनुुमाननगर, सुरुङ्गालगायतका दर्जनौँ विद्यालयमा पढ्ने विपन्न परिवारका सयौँ बालबालिका शीतलहरकै कारण पुस र माघमा विद्यालय छाड्ने गरेको शिक्षक सङ्घका अध्यक्ष शैलेन्द्र मण्डल बताउनुहुन्छ। 

रूपनी गापा–१ स्थित कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरका प्रधानाध्यापक पर्शुराम यादवले निर्वाचनका कारण यस पटक ढिलो गरी अर्धवार्षिक परीक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो। जतिसुकै जाडो भए पनि विद्यार्थी आउनैपर्ने बाध्यता छ। विपन्न दलित समुदायका बालबालिकालाई लुगाकै अभावमा कक्षा उपस्थितिमा समस्या हुने गरेको छ। चिसोले गर्दा प्रत्येक कक्षामा दुई÷चार जना विद्यार्थी मात्रै आउने गरेका छन्। 

मावि कट्टीका प्रधानाध्यापक नविन झाले बीचमा विद्यालय नआउँदा विद्यार्थीले पढाइ नै छोड्नेसम्मको अवस्था आउने बताउनुहुन्छ। बालबालिकालाई न्यानो लुगा वितरण गर्न नसकेको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले स्वीकार गर्नुभयो। 

जनजीवन प्रभावित

बर्दिबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार जिल्लाको उत्तरवर्ती बर्दिबास, गौशाला, भङ्गाहा सीतापुर पनि शीतलहरको चपेटामा परेका छन्। पश्चिमबाट चल्ने चिसो स्याँठ र दुई दिनदेखि घाम नलाग्दा तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ । 

बाक्लो कुहिरोका कारण हिँड्डुल गर्नसमेत असहज बनेको छ। सरकारी कार्यालयमा सेवाग्राही पातलिएका छन्। सर्वसाधारण काम गर्न नसकेर सडक छेउछाउ आगो ताप्ने क्रम बढेको छ। स्थानीय शिक्षकका अनुसार सामुदायिक विद्यालयमा समेत विद्यार्थीको उपस्थिति पातलिन थालेको छ। बाक्लो हुस्सुले अपराह्नसम्म पनि ‘भिजिबिलिटी’ स्पष्ट नहुँदा राजमार्ग क्षेत्रमा हेडलाइट बालेर सवारी गुड्ने गरेका छन्।

श्वास प्रश्वास, हाडजोर्नी, क्रोनिक कफ, रुघाखोकी, बच्चालाई निमोनिया हुने क्रम बढेको छ। मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनले चिसोबाट वृद्धवृद्धा र बालबालिका प्रभावित भएको बताउनुभयो। मनरासिस्वा नगरपालिकाले ८५ वर्ष उमेर नाघेका सय जना ज्येष्ठ नागरिकलाई कम्बल, च्यवनप्रास र फलफूल वितरण गरेको छ। नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको ‘ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई ‘न्यानो सहयोग’ गरिएको बताउनुभयो। 

यसअघि मनरासिस्वा नगर क्षेत्रका १० वटै वडामा आगो ताप्न एक लाख रुपियाँभन्दा बढी मूल्यका चार ट्याक्टर दाउरा वितरण गरेको थियो। जाडो बढ्दै गएपछि गौशाला नगरपालिकाले पनि ‘कपडा बैङ्क’ स्थापना गरेको जनाएको छ।