• १२ असोज २०८१, शनिबार

विराटनगर क्षेत्रको कालोपत्रे तोड्दै जोड्दै

blog

नवराज कट्टेल

विराटनगर, पुस १६ गते । कोसी राजमार्गअन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भइरहेको छ। व्यापारिक मार्गका रूपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भइरहेको हो। 

छलेन परियोजना इटहरीका इन्जिनियर प्रियंका झाका अनुसार अहिले बरगाछीदेखि दक्षिण एसलाल पेट्र«ोल पम्पसम्म ठेकेदार कम्पनीले सडक मर्मतको काम गरिरहेको छ। ठेक्का सम्झौतामा उल्लेख भएको शर्तअनुसार हस्तान्तरणपछिको मर्मत गर्नुपर्ने म्यादको काम ठेकेदारले गरिरहेको हो। 

‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन सहज ढङ्गले गुड्न सक्ने अवस्था छैन। विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर सडक गत वर्ष यसरी नै तोड्दै जोड्दै गरिएको थियो। उक्त सडकको अवस्था अहिले उस्तै भइसकेकोछ। अहिले रोडशेष चोकदेखि महेन्द्र चोकसम्म धेरै समस्या नभएपनि महेन्द्रचोक–बरगाछी, बरगाछी–कञ्चनबारी, कञ्चनबारी–ढाटसम्मको क्षेत्रमा समेत उस्तै समस्या देखिएको छ। 

नेपाल–भारत–चीन गरी त्रिदेशीय लाइफलाइन मानिएको यो सडकको विराटनगर बजार क्षेत्रमा सधै समस्या दोहोरिने गरेको छ। सडकको भारबहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी गुडेका कारण भासिने गरेको, इन्जिनियर झाको दाबी छ। मर्मत भइरहेको बरगाछी–एसलाल पेट्रोल पम्मसम्मको ठेक्का टुण्ढी–रमण जेभीको हो। उसैले मर्मत गरिरहेको छ। २०७२/७३ मा ठेक्का सम्झौता भएको सडकको केन्द्र भागदेखि दाँया–बाँया तीन तीन लेन रहेको छ। 

“जुन समयमा सडकको डिजाइन भयो, त्यसबेला एक लेनको ४५ प्रतिशत भारवहन अवधारणा थियो,” इन्जिनियर झाले भन्नुभयो। एउटै लेनमा ४० टनका गाडी गुडिरहँदा भानिएको हो। विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा तेब्बर वजन बोक्ने गरेका छन्। विराटनगरमा १० टनदेखि ४० टनसम्मको वजन भएका मालवाहक सवारी सडकमा गुड्ने गरेका हुन्। औद्योगिक क्षेत्रका मालवस्तु बोकेर आएका सवारी गुड्ने क्षेत्रमा सडकको हरिबिजोक देखिएको छ। खासगरी फलाम उद्योगका सामान बोक्ने मालवाहक सवारी सडक विनासका माध्यम बनेका हुन्। 

२०६९÷७० सालदेखि सुरु भएको आयोजनाको काम सकिदाँ सडकको अवस्था पुरानै स्थितिमा फर्किने आशङ्का गरिएको छ। छ लेन सडकको केन्द्र भागको डिभाइडरबाट दायाँ–बाँया ३–३ लेन विभाजित छ। त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछि बीचको भाग साना सवारी गुड्ने गरेको र सडकको केन्द्र भागबाट ठूला मालवाहक लगातार गुड्दा भासिएर डाँडापाखा भएको दाबी छ। 

सडकको भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो। अहिले एउटै लेनमा ४० टन क्षमतासम्मका सवारी गुडने गरेपनि त्यसको व्यवस्थापन मिलाउने निकाय मौन रहने गरेको आयोजनाका प्राविधिकको बुझाइ छ। भन्सार क्षेत्रबाट फलाम उद्योगका सामान बोकेर आएका सवारीलाई भारवहनभन्दा बढी भए त्यसको नियन्त्रण ट्राफिक प्रहरीले गर्नुपर्ने हुन्छ तर नेपालमा फलामजन्य वस्तु निकालेर टुक्र्याउने सुविधा भन्सार क्षेत्रमा समेत छैन। जसका कारण भारतबाट मालवस्तु बोकेर आएका सवारी अनलोड गरेर सामान टुक्र्याउन नसकिने अवस्था छ। त्यसको भार सडकले बोक्नु परेको छ। सरकारको दस अर्ब ९८ करोड रुपियाँ लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक निर्माणको काम भइरहेको छ।