• १२ असोज २०८१, शनिबार

कम्बोडियाको होटलमा आगलागी

सबैसँग बिदा मागेर सधैँका लागि बिदा भए निराकर

blog

लीलाराज खड्का

बिर्तामोड, पुस १६ गते । थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको होटलमा बुधबार राति भएको आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेले ज्यान गुमाउनुभएको छ। आफू बसेको होटलको पहिलो तलाबाट नेपाली समयअनुसार राति ११:३० बजेबाट आगलागी सुरु भएको थियो।

आगलागीपछि १२औँ तलामा रहनुभएका निराकारले राति १:०० बजे बिर्तामोडमा रहनुभएका बुबालाई भिडियो कल गर्नुभएको थियो। बिर्तामोड नगरपालिका–१ का वडाध्यक्ष समेत रहनुभएका अग्नि पाण्डेले छोरा विदेशमा यसरी अप्ठ्यारोमा परेको खबर भिडियो कलबाट सुनेपछि केही बोल्नै नसकेको बताउनुभयो। बुबासँगको कुराकानीपछि उहाँले साइँली बुहारी सङ्गीता पाण्डेलाई भिडियो कल गर्नुभएको थियो। “सायद म मर्छु होला। आगो घरभित्र पसिसक्यो हामफाल्न आँट आउन सकेको छैन। बुबाआमाको राम्रो हेरचाह गर्नू भन्दै हुनुहुन्थ्यो,” बुहारी सङ्गीताले बताउनुभयो। 

भिडियो कल हेर्दा कोठाभरि धुँवा फैलिसकेको थियो। त्यस बेला नेपाली समयअनुसार बिहानको २:०० बजेको थियो। उहाँले भन्नुभयो, “फोन काटिएपछि घरमा भएका सबैजना एकै ठाउँमा जम्मा भएर रातभर रौयाैँ। त्यसैगरी बिहान भयो।” पाण्डेका चार जना दाजुभाइमध्ये माइला निराकार १६ वर्षदेखि घरबाहिर रहने गरेको भाइ निश्चल पाण्डेले बताउनुभयो। भारत गुहामा व्यवसाय गर्दै आउनुभएका निराकर कोरोना महामारीका बेलादेखि भने नेपालमा सडक निर्माण ठेक्कापट्टाको काम गर्दै आउनुभएको थियो। २२ दिनअघि व्यावसायिक साथीहरूसँग थाइल्यान्ड जान्छु भनेर उड्नुभएका निराकार थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको क्यासिनोसहितको होटलमा पुग्नुभएको थियो। त्यस होटलमा आगलागी भएपछि १२औँ तलाबाट खसेर निराकारको मृत्यु भएको निश्चलको भनाइ छ। 

मृत्यु हुनुअघि निराकारले आफ्ना १० वर्षीय छोरा आर्मनलाई भिडियो कलबाट भनेका भिडियो क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। निराकारले छोरा आर्मनलाई आफूले धेरै माया गर्ने बताउनुभएको छ। गल्ती काम कहिल्यै नगर्नू, छोरालाई राम्रो मान्छे बन्नू भन्दै निराकारले आमा र हजुरबुबालाई धेरै माया गर्नू भनेर सम्झाउनुभएको छ। मृत्युअघि निराकारले श्रीमती शशीकला, छोरा, बुबा, दाजुभाइ र केही साथीसँग समेत भिडियो कलमा कुरा गर्नुभएको थियो। दाजुले आफू नबाँच्ने निश्चित भएपछि अनलाइनमा देखेजति सबैलाई फोन गरेको भाइ निश्चलले बताउनुभयो। 

बुधबार राति ११:३० बजेदेखि आगो लागेको र बिहीबार बिहान ४:०० बजेसम्म भिडियो कलमा कुराकानी भएको बुहारी सङ्गीताले जानकारी दिनुभयो। थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर मृत्यु भएका निराकारको शवलाई नेपाल ल्याउने तयारी थालिएको छ। पाण्डे परिवार र बिर्तामोड नगरपालिका–१ अहिले शोकमा डुबेको छ। घरपरिवारसँग चार घण्टा लामो भिडियो कल हुँदा पनि त्यहाँ दाजुको उद्धार हुन नसकेको भाइ निश्चलले बताउनुभयो। “बुधबार रातिदेखि बिहीबार बिहानसम्म निरन्तर परिवारसँग भिडियो कलमा कुराकानी भइरहे पनि दाजुको उद्धार हुन पाएन। भिडियो कल हुन छाडेपछि हामीले आस मारिसकेका थियाै,” भाइ निश्चलले भन्नुभयो। 

बोल्ने क्रममा निराकारले मोबाइलबाट तल प्रहरी तथा एम्बुलेन्सको साइरनको दृश्य र आवाज देखाइरहेकाले चाँडै उद्धार हुने बताए पनि त्यो सफल नभएको बुहारी सङ्गीताले जानकारी दिनुभयो । “दमकलले माथि आगो निभाउन नसकिरहेको प्रस्ट देखिन्थ्यो, जे नहुनु थियो त्यही भयो,” निराकारका दाजु निरजले भन्नुभयो, “अरूभन्दा पनि आगलागी भएको घण्टौँसम्म पनि उद्धार नहुनु दुःखद कुरा हो।”