• १६ भदौ २०८१, आइतबार

चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

blog

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित बेंसीमा सञ्चालित चिस्यान केन्द्रमा भण्डारण गरिएका सुन्तला र सञ्चालक प्रेमबहादुर गुरुङ । तस्बिर : साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), पुस १५ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङस्थित बेंसीमा कृषकको सुविधाका लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीय स्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषिउपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो ।

चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका कृषकलाई सहज भएको छ । दश टन क्षमताको केन्द्रमा अहिले करिब चार टन सुन्तला भण्डारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (सुन्तला जोन) कार्यक्रमबाट १३ लाख रुपियाँ अनुदान र ब्यक्तिगत ८ लाखभन्दा बढी लगानी गरी कुल २३ लाख रुपियाँ लागतमा केन्द्र निर्माण गरिएको छ । 

केन्द्र सञ्चालनमा आएपछि स्थानीय स्तरमै उत्पादित कृषिजन्य फलफूलका लागि सहज हुने न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेमबहादुर गुरुङले बताउनुभयो । सिजनमा उत्पादन हुने सुन्तला केन्द्रले बोटमै बाहिरी जिल्लाका ब्यापारीको तुलनामा प्रतिकेजी १५ देखि २० रुपियाँ मुल्य बढी दिएपछि स्थानीय किसान उत्साहित भएका छन् । ‘‘कृषकहरुले स्थानीयस्तरमा उत्पादन भएको सुन्तला खरिद र आफ्नै बगैंचाको करिब चार हजार टन सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु’’,उहाँले भन्नुभयो । 

अहिले भण्डारण गरिएको सुन्तला चैत–बैशाखको बेसिजनमा बजारमा पठाउने उहाँले बताउनुभयो । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने योजना उहाँले सुनाउनुभयो । 

अहिले प्रतिकेजी ६० देखि ७० रुपियाँका दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकेजी १६० देखि २०० रुपियाँ मूल्यसम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुनसम्म सुन्तला बोटमै राख्ने गरेका थिए । 

समयमा फल नटिप्दा उत्पादकत्व र बगैंचा व्यवस्थापनमा समस्या भएको थियो । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनुभयो । धेरै समय बोटमा फल लाग्दा हावाहुरीले क्षति हुने समस्या पनि हटेको उहाँको भनाइ छ । चिस्यानगृहको भवनमा फलफूल र तरकारीलाई ताजा बनाइराख्ने अनुकूलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।