• २० असोज २०८१, आइतबार

विमान अपहरणको कथा : काठमाडौँ कनेक्सन–२

blog

काठमाडौँ, पुस १५ गते । चलचित्र ‘काठमाडौँ कनेक्सन’को पहिलो सिजनपछि दर्शक यसको दोस्रो सिजन कहिले आउँछ भनेर प्रतीक्षारत थिए। अब दर्शकको त्यो प्रतीक्षाको घडी सकिएको छ। चलचित्र ‘काठमाडौँ कनेक्सन सिजन २’ प्रदर्शनमा आइसकेको छ। चलचित्रको पहिलो भागको अन्त्यमा विमान अपहरणको कथाबाट चलचित्र टुङ्गिएको थियो, त्यहीँबाट चलचित्रको दोस्रो सिजन सुरु भएको छ। 

दोस्रो सिजनमा धेरै एक्सनका दृश्यलाई रोमाञ्चक ढङ्गबाट चलचित्रमा समावेश गरिएको छ, जसलाई अवश्य नै दर्शकले मन पराउनेछन्। चलचित्रको पहिलो सिजनको कुरा गर्ने हो भने चलचित्रको कथा एउटा पत्रकारको वरपर घुमेको देखाइएको थियो। पत्रकारलाई एउटा रहस्मय फोन आउँछ र त्यसको कनेक्सन काठमाडौँसँग जोडिएको हुन्छ। यसपछि सिजन–२ बाट यसको कथालाई अगाडि बढाइएको छ। 

‘काठमाडौँ कनेक्सन सिजन–२’को कथा ९० को दशकको घटनासँग मिल्दोजुल्दो तरिकाले परिकल्पना गरिएको छ। चलचित्रको पूरा कथा विमान अपहरणसँग नै सम्बन्धित रहनुका साथै काठमाडौँमा भएको बम आतङ्कलाई पनि चलचित्रमा देखाइएको छ। निर्देशक सचिन पाठकले यिनै कुरालाई रोमाञ्चक र नाटकीय ढङ्गबाट चलचित्रमा देखाउन खोज्नुभएको छ। चलचित्रको कथा विमान अपहरणमा केन्द्रित भए पनि यसमा देखाइएका अन्य विभिन्न खालका अपत्यारिला लाग्ने दृश्यले अवश्य नै दर्शकको मनमा कौतुहल जगाउने काम गर्छ। 

चलचित्रमा अनुराग अरोडा, गोपाल दत्त, जाकिर हुसैन, अमित स्याल, अंशुमन पुष्कर र हरमन सेट्टीले आफ्नो अभिनयको कौशलता बेजोड ढङ्गबाट प्रस्तुत गर्नुभएको छ। अनुराग अरोडा र अमित स्याल जस्तो चिनेजानेका कलाकारहरूको अभिनय यसमा रहेको छ। दुवैले आफ्नो अभिनय क्षमतालाई चलचित्रमा भरपुर ढङ्गबाट प्रस्तुत गर्न खोज्नुभएको छ। दुवैको अभिनय एकदमै माझिएको छ। यति मात्र होइन यो सिजनमा हरेक कलाकारहरूले आफ्नो अभिनय इमानदार तरिकाले गर्नुभएको छ। कसैको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।    

निर्देशक पाकठले पहिलो सिजनमा जस्तै चलचित्रको दोस्रो सिजनमा पनि अब्बल खालको निर्देशकीय क्षमता देखाउनुभएको छ। ‘रङ्गबाज–डर कि राजनीति’, लन्डन फाइल्सलगायत धेरै चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसक्नुभएका पाठकको निर्देशकीय पक्षलाई अवश्य नै दर्शकले रुचाउनुहुनेछ।

चलचित्रको संवाद होस् या यसको पटकथा सबै एकलमै मिलेको छ। निर्देशक पाठकले हरेक कलाकारहरलाई सही ढङ्गबाट प्रस्तुत गर्नुभएको छ। उहाँले सबै कलाकारमाथि न्याय गर्नुभएको छ। निर्देशक पाठकले यति स्वादिलो चलचित्र बनाउनुहुन्छ भन्ने कसैले पनि अनुमान गर्न सक्दैन। चलचित्र विमान अपहरणमा मात्र केन्द्रित नभएर काठमाडौँमा भएको बम आतङ्कलाई पनि निर्देशक पाठकले एउटा बिल्कुलै नयाँ ढङ्गबाट पस्कनु खोज्नुभएको छ। चलचित्र हेर्दा कतै डर र त्रास जाग्छ भने कतै आँखाभरी आँसु आउँछ।