• १३ साउन २०८१, आइतबार

काँक्रेविहारमा सयर

blog

निर्दयी चिसोले गलेर पिन्चे रोदनका आँसु बगाएर बसेको सुर्खेत उपत्यका कुहिरो हटेर भर्खरै न्यानो घाममा तङ्ग्रिएको छ । पश्चिमी हावाको चिसोले पनि हदैसम्म हिर्काउँछ । मेरो शरीर लुगलुग कामिरहेको छ । ज्ञानको भर्भराउँदो बत्तीको प्रतीक काँक्रेविहारको गरिमामय चहक दृश्यावलोकनको भोकले मलाई आतुर बनाइरहेको छ । त्यही भोक तुर्ने काँक्रे बिहार सयरको तारतम्य २०७४ साल पुस २ गते दिउँसो २ः४५ बजेको प्रहरमा जुरेको थियो । सम्भव भएसम्मको न्यानो कपडामा बेरिएर वीरेन्द्रनगरको केन्द्रबिन्दु मङ्गलगढी चोकमा टुप्लुक्क पुग्छु । ऐतिहासिक महिमा बोकेको सुर्खेतको प्राचीन सम्पदास्थल काँक्रे बिहारमा पुग्दा चञ्चल मनलाई बिहारको चुम्बकीय आकर्षणले स्थिर बनाउँछ । बुलबुले तालको महìव, लाटीकोइली गाउँको ऐतिहासिक विरासत, इत्राम खोलाको रहस्य र देउती बजै मन्दिर दर्शनको रहर हृदयमा अङ्कुराएर झाङ्गिन्छ । 

तनक्क तन्किएको फित्तासरह सिधा कालोपत्रे पच्छ्याउँदै मङ्गलगढी चोकबाट चढेको ट्याम्पो झन्डै अढाइ कि.मि. दक्षिण शिवालय चोक छिचोलिनेबित्तिकै घचक्क रोकिन्छ । अनि घ्यार्र आवाज डकार्दै निमोठिएर पूर्वतर्फ मोडिन्छ । बुर्बुरेमार्गमा ट्याम्पोको हलचल व्यायाममा निचोरिँदो थिलथिल भएको मेरो शरीर हायलकायल बन्छ । दायाँबायाँका निर्मल दृश्यलाई भने धुवाँ, धुलोले छक्याएर हैरान खेलाउँछ । जतिजति स्वच्छन्द हावामा सयर मार्दै अगाडि बढ्ने रहर पलाउँछ, त्यति धुलो र धुवाँको प्रदूषणलाई छिन्किँदै पढ्दै जान्छु । आरोग्य शरीरलाई थला पार्ने प्रदूषित साम्राज्यले सुर्खेत उपत्यकाको क्षितिजमा पनि टम्म जमेर उधुम मच्चाएको देख्दा मन खिन्न हुन्छ । स्वस्थ वातावरण खल्बलिएको ठाउँमा शुद्धता पाउने आश गर्नु बेकार हो । वर्कतले भ्याएसम्म भने वातावरण पढ्दै अगाडि दौडिने जमर्को गर्दछु । 

उर्वर फाँट, फाट्टफट्ट झुल्किने गाउँबस्तीसँग लुकामारी खेल्दै धामीझाँक्रीको कम्पन अभिनयमा पूर्वतर्फ बतासिन्छ टेम्पो । सहरी कोलाहलबाट अछट्ट वातावरणमा रहेको बिहार नजिकै प्रवेश गर्दा यात्रामा विछट्टै आनन्द आउँछ । रारा ताल आकारको सुर्खेत उपत्यकामा अवस्थित बिहार नजिक ट्याम्पो टक्क अडिन्छ । अनि ओर्लिएर बौद्ध शैलीमा कुदिएका यत्रतत्र छरपस्ट चट्टान सम्पदा पढ्दै उत्खननको रासतर्फ घोरिन्छु । बौद्ध दर्शनको पहिचानमा फरफराइरहेका ध्वजाले भग्नावशेष परिसरबाटै स्वागत गर्छन् । युद्धस्तरमा पुनर्निर्माण भइरहेको सूचनाले टाढै रहन सचेत गराउँछ । गुम्बा परिसरमा अध्ययनमा रमाउँदा एकाएक हराउँछु म । गुम्बाको पौराणिक चुम्बकीय शक्तिले लठ्ठ बनाउनु नै काँक्रेविहारको अपूर्व विशेषता रहेछ । अनौठो लिपिमा सदियौँदेखि सन्देश प्रवाह गरिरहेको बिहार परिसरको पत्रे चट्टानले घुमफिरकर्तामा नवीन उत्सुकता पनि दर्शाउँछ रहेछ । यो उत्सुकता हो, ऐतिहासिक कालमा शत्रु धपाउन काँक्रेविहारको सुरक्षा बिन्दुबाट घुँयत्रो खेलाइएको तथ्यपरक ऐतिहासिक प्रमाण । घना जङ्गलको नाभीमा वीरेन्द्रनगर नगरपालिकाद्वारा संरक्षित बिहारको सर्वाङ्गीण महìव अद्वितीय रहेछ ।

मृग, खरायो, जरायो, झारल, स्याल, बाघ, भालु, चराचुरुङ्गीको बासस्थान जङ्गल अतिक्रमणसँगै धरापमा पर्दा प्राकृतिक असन्तुलनले सङ्कट निम्तिने खतरा रहेछ । चारैतिर अग्लिएका पहाडले सुर्खेतलाई उपत्यकाको विरासत सुम्पिनु नै अद्भूत भौगोलिक वरदान हो सुर्खेतको । अधिक उचाइ भर्दै झुलिरहेको सालघारी वरपर बनेली आवाजको सङ्गीतमय गुञ्जनले पर्यटकलाई मुग्ध पारिरहेको छ । माथिमाथि पश्चिमी आकाशबाट पूर्वतर्फ कुदिरहेको मलमले सेतो पछ्यौरीरूपी फुर्के बादल खुला समुद्रमा तैरिएको छिर्केमिर्के पानीजहाज सललल बगिरहेझैँ देखिन्छ । 

लहरै राखिएका प्राचीन ढुङ्गा र फरफराइरहेका ध्वजाले स्वागत गरेसँगै विचित्र विशिष्टता बिहारले निरन्तर पस्किरहेको छ । यति महìव बोकेको प्राचीन सम्पदास्थलको विषयमा कलम चलाउँदा सावधान रहन्छु । काँक्रेविहारको पहिचानमा सुर्खेतवासी गर्व त गर्छन् नै । प्राचीन सम्पदास्थल काँक्रेविहारको उपस्थिति वीरेन्द्रनगर नगरपालिकाको सांस्कृतिक, पौराणिक, ऐतिहासिक पहिचानको शृङ्गार स्वतः मानिन्छ । 

छिद्र परेका विरूप पातहरू सालको हाँगा हाँगामा बतासको बेगलाई थेग्दै उजाड ग्रीष्म ऋतु पर्खिरहेका थिए । वसन्तदेखि ग्रीष्मसम्मको अवधिमा झर्ने र पुनः पलाउने पात एउटा मानिसले लामो जीवनको आयु टुङ्ग्याउनु र पुनर्जन्म प्राप्त गर्नु सरहको जीवनचक्रको क्रम पनि हो । काँक्रे बिहारमा आउने यात्रुलाई ऋतुअनुसारको शृङ्गारमा स्वागत गर्नु नै आसपासको सालघारीको दीर्घकालीन विशेषता मानिन्छ । 

काँक्रेविहारको जीवनचक्रबाट अब भौगोलिक परिचयतर्फ कुदाउछु । काँक्रेविहारको पूर्वमा नयाँगाउँ, पानीढाल र कुन्तीगाउँको हुलिया खुल्छ । पश्चिममा लाटीकोइली, जयपुर र तिलपुरले आ–आफ्नो पहिचान फर्माउँछन् । पूर्व–पश्चिमसम्म लमतन्न उत्तरी महाभारत मुन्तिर गोला, हाँसेगाउँ, फिनीडाँडा, कल्याणपुर, लादे–गुराँसे, पाखापानी, दहडाँडो, चोल्पाडाँडो, गुर्वाकोटको लेक हुँदै अझै पारि सल्यानसम्मको पठार अग्लिन्छ । सत्यकाँडा डाँडो, पातलगङ्गा गाउँ, ऐलानी जमिन तथा उब्जाउ विशाल फाँट र अझै पारि अमालचौर किनारको ग्रामीण बस्ती दक्षिणतर्फ समेटिन्छ । अझै पूर्वमा नेटा दहको डाँडो, रजेनाको शिखर, साटाखानीको लामीडाँडा झुल्किन्छ । पश्चिममा बयलकाँडागढी, कुनासरी र बफुङ्गे सिमलको डाँडो अग्लिन्छ । उत्तरमा राता नाङ्ला लेकपराजुलको मण्डप डाँडा शिविर अग्लिन्छ । 

काँक्रेविहारको मौन एकाग्रता भङ्ग हुँदै गर्दा बनेली आवाजसँगै रमाउन यो मन पनि एकाएक त्यतै दौडिन्छ । रुखका चिल्ला हाँगा हाँगा र डाली डालीमा गुञ्जिरहेको चराचुरुङ्गीको रागरागिनी आलापले तत्काल बिछट्टै मन हर्छ । वल्लो डाली र पल्लो डाली फुत्त फुत्त चाहार्दै आफ्नो लवज विनिमयमा कुर्लिंदै रमाउने बनेली रमझममा जब मेरा आँखा जुद्छन् र मिठो आलाप दुवै कानमा ठोकिन्छ । त्यही बनेली विनिमयद्वारा मभित्र एउटा भाव एकाएक जन्मिन्छ, हुर्किन्छ र मौलाउँदै जान्छ । प्रदूषित सहरिया सुविधाले पछारेर घायल बनेको कुँजो शरीर तत्कालको सीमित काँक्रेविहारको बसाइमा प्राकृतिक तागतमा लाभान्वित भई एकाएक बौरिन्छ । काँक्रेविहारको टुक्राटुक्री चट्टानलाई हृदयको इशाराअनुसार प्रेमपूर्वक स्पर्श गर्छु । यस दुर्लभ संयोगबाट शरीरमा अतिरिक्त ऊर्जा पाउँछु । 

अक्सर नेपालका सरकारी योजनाहरू अलपत्र हुने दीर्घ रोग छ । त्यही रोगले काँक्रेविहारको योजना पनि डसिने पो हो कि भन्ने डरले घरिघरि झस्किन्छु । बिहार परिसरमा छरप्रस्ट चट्टान पुनर्निर्माणले व्यवस्थित होला कि नहोला ? यही द्विविधायुक्त विचलनले मेरो मन खल्बलिन्छ । पुनर्निर्माणमा कुनै रोगको बाछिटा नपरोस् भन्दै भगवान् पुकार्छु । वासुकी बुद्ध, चैत्य, देवीलगायत विविधतायुक्त शिला कुदिएका काँक्रे विहारका प्रतिविम्बलाई हृदयमा सजाउँछु । अनि जीवनभर सजाइरहने कसम खाँदै अन्यत्र मोडिन्छु ।

काठमाडौँ, दाङ उपत्यका सरहको सुर्खेत उपत्यकाको भाग्य अझै फुल्ने, फल्ने भविष्य देखेको छु । सामरिक किल्ला बयलकाँडागढीबाट २०२१ सालमा तत्कालीन राजा महेन्द्रद्वारा सुर्खेतमा सदरमुकाम स्थानान्तरण भएको रहेछ । २०२९ सालमा देशलाई चार विकास क्षेत्रमा विभाजन गर्दा सुदूरपश्चिमाञ्चल विकास केन्द्र तोक्ने तत्कालीन राजा वीरेन्द्रद्वारा औधि मन पराइएको उपत्यका पनि हो । २०४१ सालमा मोटर यातायातसँग जोडिएपछि दिनप्रतिदिन यसको भाग्य चम्किँदै गएको रहेछ । 

यहाँ पातालगङ्गा, कुन्ती, नयाँगाउँ सुर्खेतमा थारू बस्ती रहेछन् । २०२९ सालपछि मात्र उपत्यका नजिकैको पहाडबाट मानिस ओइरिएर यहाँको जनसङ्ख्या ह्वात्तै बढेको रहेछ । काँक्रे बिहारजस्ता प्राचीन सम्पदास्थलले मात्र होइन, गन्धक, तामाखानी उद्योगले यस उपत्यकाको भविष्यलाई सुन्दर बनाउँछ । गर्भभित्रै लुकेका धार्मिक, पौराणिक, सांस्कृतिक, औद्योगिक खानी तथा रम्यस्थलहरू उजागर बन्दै जाऊन् । यहाँका अन्य पहिचान स्थलहरूमा दक्षिण फर्केको पहारिलो, घमाइलो राजदरबार स्थान (पित्तनापोत क्षेत्र) एक हो । पुरानो नेवारबस्ती रहेको उत्तर दक्षिणउन्मुख पहारिलो यस कुनोबाट समग्र सुर्खेतको सुन्दरता एकै पटक देख्न सकिन्छ । छिञ्चु उपत्यका, सदावहार गुराँसेको हावाखोरी शिविर, बेथान कर्णाली सङ्गम समग्र सुर्खेतका आकर्षक स्थल हुन् । तथापि सुर्खेत उपत्यकाभित्रको सांस्कृतिक मुटु धमनी सम्पदा धरोहर काँक्रे बिहार नै अजर अमर साबित हुन्छ ।