चमेली असल, मेहनती र दयालु थिइँ । उ सानै हुँदा उसको बुवाको बस दुर्घटनामा परी मृत्यु भएको थियो । आमालाई राम्रोसँग आँखा देख्न नसक्ने समस्या थियो । उपचार गराउन उनीहरूसँग धन थिएन ।
यही कारण उनले पढ्न पाइनन् । ‘इन्दिरा, इन्दिरा स्कुलमा पढ्न कति रमाइलो हुन्छ होला हगि ?’ शनिबार घाँस काट्न जाने बेला इन्दिरालाई सोधिन् ।
“ह्या ! त्यो पढाइको कुरै नगर । बरु तँलाई पो मज्जा छ । दिनरात लेख्नु पनि पर्दैन,” इन्दिराले भनी ।
“पढाइलाई त्यस्तो भन्नु हुँदैन । पढ्नुपर्छ । म पो गरिब छु । पढ्न सकिएन,” चमेलीले भनिन्, “म त तँ जस्तै पढ्न पाएको भए मेहनतले पढ्थेँ ।”
चमेली भोक नभनी दिनरात काम गरेर आमालाई खुवाउँथिन् । बचे आफू खान्थिन् । चमेलीको उमेर बढ्दै थियो । यता बाहिरी मान्छेले भने उनको परिवारलाई झन्झन् हेप्न थाले । चमेलीको चाहना थियो, एक दिन पैसा टन्नै कमाएर हेप्ने मान्छेलाई देखाउनु । उसले आमालाई पनि भनी, “आमा कति दिन हामी भोकभोकै बस्ने, गाउँलेको हेपाइ सहेर कति बस्ने ?”
“के गर्नु हाम्रो भाग्य यस्तै रहेछ,” आमाको जवाफ आयो ।
“हैन आमा । यो हाम्रो भाग्य होइन यो त सबै हाम्रो गरिबीको कारण हो,” चमेलीले दाबी गरिन् ।
“हो त है, तर के गर्नु ? म आँखा देख्न नसक्ने बूढी । मैले तेरो लागि केही गर्न सक्दिनँ । मलाई माफ गर्दे है छोरी,” आमा त रुन पो थालिन् । चमेलीले आमालाई कमजोर नहुन ढाडस दिइन् । अनि आफूले सहर जाने योजना बनाएको कुरा सुनाइन् । “अञ्जान सहर, अञ्जान मान्छे के गर्छेस् त्यहाँ गएर छोरी ? फेरि त नै गईस् भने मेरो साहरा को हुन्छ, भन त,” आमाले सङ्कोच जनाइ ।
चमेलीले आफ्नो चाहना पूरा गरेरै छाड्ने अडान राखिन् । “आमा म सहर गएर इमानदारीका साथ पैसा कमाउँछु । हजुर सुन्तली फुपूकोमा बस्नुहुन्छ । मैले उहाँलाई पनि भनिसकेको छु ।” आफूले भने जसरी खुवाउन पनि नसकेको अवस्था छ, पढाउन, हुर्काउन उस्तै गाह्रो भएको अवस्था छ । आफँैले छोरीलाई काम खोजीदिनुपर्नेमा आफै जान तयार भएको देखेर आमा खुसी भइन् ।
भोलिपल्ट चमेली सबेरै उठेर पँधेरोबाट पानी ल्याइन् । आमालाई पानी तताएर खुवाइन् । सहर जाने तयारी चल्दै गर्दा सुन्तली फुपू पनि आइपुगिन् । आमाले आशीर्वाद दिँदै भनिन्, “रामरी जा है छोरी बेलैमा खाना खाएस् । बेलैमा सुतेस् । आफ्नो ख्याल राखेस् ।” चमेली रुँदैरुँदै सहरको बाटोतर्फ लागि ।
चमेली सहर त पुगी तर काम पाइनन् । उनी खानपिउन नपाएर कमजोर हुन थाली । हिँड्दै जाँदा उसले केही मान्छे चाउचाउ बिस्कुट खाइरहेको देखिन् । र नजिक गएर भनी, “मलाई पनि अलिकति खान दिनुहोस् न ।”
“पर जा, यति ठूलो भएर मागेर हिँड्न लाज लाग्दैन, काम गरेर खान सक्दिनस्,” चाउचाउ खाइरहेका मान्छेहरूले भने । माग्न लाज त लाग्छ नि दाइ । म गाउँबाट काम गर्छु भनेरै आएकी तर यो पापी सहरमा पढेलेखेकोले मात्र काम पाउँदोरहेछ । मजस्तो अनपढले खै कसरी पेट भर्ने हो, चमेलीको आँखा आँसुले भरियो ।
चमेलीको कुरा सुनेर त्यहाँका मान्छेहरूले चाउचाउ खानै सकेनन् । उनीहरूको आँखा पनि आँसुले रसायो एक जनाले चमेलीलाई खाजा नै खुवाइदिए । अनि काम पनि खोजी दिए । “धन्यवाद दाइ हजुर मेरो लागि देवतासरह हुनुहुन्छ,” ती मान्छे बिदा हुँदा चमेलीले भनी । चमेलीले त्यो ठाउँमा गएर काम गरेको एक महिना पुगिसकेको थियो । कमाइ खासै थिएन । उसले सोची, ‘यसरी काम गरेर आमाको उपचार कहिले गर्ने । बरु फुर्सद हुँदा अरू पनि काम गर्छु । अलिकति थप कमाइन्छ कि ।’
अर्को दिनबाट फुर्सदको समयमा अरूकहाँ काम थाली । केही दिनपछि साहुले यो कुरा थाहा पाइन् । त्यसपछि चमेलीलाई घरबाटै निकालिदिइन् ।
चमेलीले अलिअलि कमाएको पैसाबाट काँक्रो ल्याएर बेच्न थाली । केही दिनपछि काँक्रो बेचेर कमाएको पैसा बाटोमै लुटेराले खोसेर भागे । ‘चोर, चोर,’ चमेलीले यतिभन्दा चोर निकै पर पुगिसकेको थियो । चोरको पत्तो लागेन । अब चमेली जस्तो आएकी थिइ, उस्तै भइ । उनी फेरि कामको खोजीमा लागि ।
केही दिनमै ढुङ्गा खोग्दा देवतै मिलेझैँ भयो । चमेलोले धनी साहुकहाँ काम पाइन् । महिनाको कमाइ पनि धेरै थियो । केही दिनपछि चमेलीले धनी साहुलाई आफ्नो घरको अवस्था पनि सुनाइ । ‘सबै ठीक हुन्छ,’ साहुले भने । सुखदुःखमै चमेलीले त्यहाँ काम गरेको चार वर्ष पूरा भएछ । आमाको आँखाको उपचार गराउँछु भन्दै उ बिदा मागेर गाउँतर्फ लागि ।
‘सहरबाट छोरी आउँदा कति खुसी होलिन् मेरी आमा,’ सोच्दै सिधै फुपूकहाँ पुगिन् उनी । उसले आमाका लागि लगाउने कपडादेखि औषधिसम्म ल्याएकी थिइन् । फुपूको घरमा उनले आमालाई कतै देखिनन् । केही बेरपछि फुपू घाँस बोक्दै आइपुगिन् । चमेली दौडदै आमाका बारेमा सोधिन् ।
“तिम्रो आमा यो संसारमा हुनुहुन्न, हामी सबैलाई छोडेर जानुभयो,” सुन्तली फुपूले अँध्यारो मुख लगाएर भनिन् । चमेलीलाई संसार अँध्यारो भयो । उनी उभिएकै ठाउँमा ढलिन् । चमेली बेहोस भएपछि त्यहाँ गाउँले पनि जम्मा हुन थाले । फुपूले आत्तिँदै काखमा राखेर झक्झकाइन् । बल्ल चमेलीका होस खुल्यो ।
‘मलाई आमा चाहियो । पैसा चाहिएन । आमा फर्केर आउनुहोस्,’ चमेली बर्बराउन थालिन् । उनको अवस्था देखेर गाउँले सबै स्तब्ध भए । चमेलीले पैसा कमाएर ल्याए पनि आमालाई त बचाउन सकिनन् । आफ्नो भन्ने पनि चमेलीको कोही रहेनन् । त्यसैले उनले आफूले कमाएको पैसाबाट बुवाआमा नभएका बालबालिका खोजीखोजी पढ्ने चाँजोपाँजो मिलाउनतिर लागिन् । आँखा कमजोर भएर पढ्न नसकेका झनै उनको प्राथमिकतामा पर्थिन् । अचेल गाउँसहरमा उनी चमेली मिसको रूपमा चर्चित छिन् ।