• २० असोज २०८१, आइतबार

ऊर्जा क्षेत्रको संयुक्त प्राविधिक समिति बैठक सम्पन्न

blog

काठमाडौँ, पुस १५ गते । नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १२औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकको तयारी सुरु भएको छ । बैठकका सम्भावित विषयवस्तु र ती पक्षको प्राविधिक अवस्थाबारे आपसी परामर्श गर्न नेपाल–भारत संयुक्त प्राविधिक समितिको बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जीवकुमार देवको नेतत्वमा नेपाली प्राविधिक टोली सो बैठकका लागि नयाँ दिल्ली गएको थियो । संयुक्त प्राविधिक समितिको बैठकमा दुवै देशका सरोकारका विद्युत् आयोजना, प्रसारण संरचना, तिनको क्षमतालगायतका विषयमा तथ्याङ्क तथा वस्तुस्थिति बुझ्ने काम भएको देवले जानकारी दिनुभयो । बैठकमा ४०० केभी लम्की–बरेली र दुहबी–पूर्णिया प्रसारण लाइन निर्माणलाई गति दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । संयुक्त प्राविधिक समितिको बैठकमा विद्युत् आयोजना, प्रसारण लाइन संरचनालगायतका विषयवस्तुमा प्राविधिक तथा तथ्याङ्कीय अवस्था के कस्तो छ ? त्यसबारे जानकारी आदानप्रदान भएको छ । सचिवस्तरीय बैठकमा उठ्न सक्ने विषयका रूपमा दुईदेशीय प्रसारण लाइन संरचना तथा पूर्वाधार विस्तार नै मुख्य कुरा हुने देखेका छौँ,” उहाँले भन्नुभयो । 

नेपालमा आगामी दिनमा विद्युत् उत्पादन बढ्दै जाने भएकाले निर्यात पूर्वाधार विस्तार गर्नुपर्ने देखिएकाले यी दुई प्रसारण लाइन निर्माणको मोडालिटी लागत साझेदारीलगायतका विषयमा बैठकमा छलफल भएको थियो ।