• १२ असोज २०८१, शनिबार

बसाइँ सरेर आउनेलाई दुहुनो गाई

blog

कविराज घिमिरे 

हिले, पुस १५ गते । धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को बढिरहेको बेला छथरजोरपाटी गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई आकर्षित गर्न सफल भएको देखिन्छ। 

सहरी सुविधा र कामको खोजीमा पहाडबाट अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दो छ। जसले गर्दा पहाडका उर्बर भूमि बाँझिने क्रमसमेत उत्तिकै बढेको छ। यस्तोमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाले बसाइँसराइ कम गर्न तथा बसाइँ सरेर आउने परिवारलाई आकर्षित गर्न सफल भएको हो। यसको उपाय बन्यो, बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार कार्यक्रम। गाउँपालिकाले दुहुनो गाई उपहार अभियान चलाएकोले पहाडी क्षेत्र मात्रै होइन, झापाबाट बसाइँ सर्नेलाई पनि आकर्षित गर्न थालेको छ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले ल्याएको यस्तो योजनालाई नयाँ जनप्रतिनिधिले समेत अघि बढाएका छन्। कार्यक्रम सफल र राम्रो भएकाले यसलाई निरन्तरता दिइएको पालिकाले जनाएको छ। बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न तथा बसाइँ सरेर आउनेलाई आकर्षित गर्न यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा बताउनुहुन्छ। “पहाड रित्तिने क्रम बढेकोले बसाइँ सरेर आउनेलाई जीविकोपार्जनमा सहयोग पुगोस् र उनीहरू आकर्षित होऊन् भनेर हामीले यो कार्यक्रम अघि सारेका हौँ,” अध्यक्ष सुब्बाले बताउनुभयो।  यो कार्यक्रमअन्तर्गत अन्य जिल्ला तथा स्थानीय तहबाट बसाइँ सरी आएमा गाउँपालिकाले एउटा लैनो गाई उपलब्ध गराउँछ। बसाइँ सरेर आएको तीन महिना पूरा भएपछि गाई प्राप्त गर्छन्। बर्सेनि बसाइँ सरेर आउनेको सङ्ख्या बढ्दै गएकाले कार्यक्रम सफल भएको गाउँपालिकाका उपाध्यक्ष गीता खेवा बताउनुहुन्छ। 

बसाइँ सरेर आएका परिवारले गाउँपालिकामा निवेदन, बसाइँसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी पुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिसपत्रलगायतका कागजात गाउँपालिकाको पशुपन्छी शाखामा पेस गर्नुपर्छ। यसपछि गाउँपालिकाले स्थलगत रूपमा अनुगमन गर्नेछ। सबै कागजात ठीक भएको अवस्थामा दुहुनो गाई प्रदान गरिन्छ। बसाइँ सरेर आएको कम्तीमा तीन महिना भएपछि मात्रै दुहुनो गाई उपहार पाउनका लागि योग्य हुनेछ।  

तीन वर्षअघि सुरु भएको यो अभियानमा अहिलेसम्म ३६ परिवारले दुहुनो गाई पाएका छन्। दुहुनो गाई उपहार कार्यक्रमले बसाइँसराइ गरी तराई–मधेशलगायत अन्य क्षेत्रमा जाने क्रममा कमी ल्याउने विश्वास गरिएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा १०/१० वटा २०७९/८० मा १६ वटा गाई वितरण गरेको छ। त्यस्तै पाँच परिवार प्रक्रियामा रहेका छन्। उनीहरूलाई दुहुनो गार्ई खरिद गर्न प्रतिपरिवार अधिकतम ६१ हजार रुपियाँ अनुदानस्वरूप उपलब्ध गराइएको छथरजोरपाटी गाउँपालिका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले बताउनुभयो। 

सबैभन्दा धेरै बसाइँ सरेर रित्तिँदै गएको तेलियामा समेत यो कार्यक्रमका कारण तीन परिवार अन्यत्रबाट बसाइँ सरेर आएका छन्। बसाइँ सरेर आउनेहरू कतिपय विकट स्थानबाट स्वरोजगारका लागि तथा शिक्षाको सहज पहुँच हेरेर आएको बताउँछन्। आफ्ना बालबालिकाको सहज शिक्षाका लागि बसाइँ सर्नै पर्ने अवस्था आएकाले यहाँ आउँदा दुहुनो गाईसमेत पाउँदा खुसी लागेको तेह्रथुमबाट बसाइँ सरेर आउनुभएकी विमला बस्नेतको भनाइ छ। यो गाईको कारणले अन्य गाई पनि थपेर पाल्न सुरु गरेको उहाँ बताउनुहुन्छ। गाउँपालिकाले दिएको गाईको आम्दानीबाट सामान्य घर खर्च चल्ने गरेको बस्नेतको भनाइ छ। 

अहिले बसाइँ सरेर आउनेमध्ये सबैभन्दा धेरै तेह्रथुम जिल्लाका छन्। तेह्रथुमसँगै धनकुटाकै अन्य पालिका, भोजपुर, सङ्खुवासभा र झापाबाट समेत आएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिकाबाट बसाइँ सर्ने तयारी गर्दा बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार दिने थाहा पाएपछि यहाँ आएको कल्पना श्रेष्ठ बताउनुहुन्छ।

तेह्रथुममा नगद अनुदान 

उता तेह्रथुमको छथर गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई व्यावसायिक योजना र व्यवसायको आधारमा अनुदानस्वरूप नगद एक लाखदेखि पाँच लाख रुपियाँसम्म उपलब्ध गराउँदै आएको छ। हालसम्म सो योजनाअन्तर्गत ३४ घरपरिवारले अनुदान लिएका छन्। तराईका झापा, मोरङ, सुनसरीसहित धनकुटा र पाँचथरबाट समेत बसाइँ सरेर आएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले जानकारी दिनुभयो। “व्यवसाय र कार्ययोजना हेरेर हामीले थोरै रकमले हुने व्यवसायका लागि थोरै रकम र धेरै लाग्नेलाई पाँच लाख रुपियाँसम्म ३४ परिवारलाई उपलब्ध गराएका छौँ,” तिगेलाले भन्नुभयो। 

सो गाउँपालिकामा यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ देखि सञ्चालित छ। बसाइँसराइको दर हेर्दा अबको केही वर्षमा पहाड रित्तिएर जङ्गलमा परिणत हुने अवस्था आउने देखिएकाले साङ्केतिक रूपमा पहाडमा पनि आकर्षित गर्न सकिन्छ भनेर यस्ता कार्यक्रम सञ्चालन गरिएको पालिका प्रमुखको भनाइ छ तर यति मात्र पर्याप्त नहुने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारले यस प्रकारका कार्यक्रम ल्याउन दबाब दिन यो कार्यक्रम लागू गरिएको तिगेलाको भनाइ छ। मध्यपहाडी राजमार्ग र पहाडको सहरी क्षेत्र लक्षित कार्यक्रम मात्र अघि सारेर बसाइँसराइ नरोकिने उहाँहरूको दाबी छ।