• १३ साउन २०८१, आइतबार

भादागाउँ थारु होमस्टे : चुनौती झेल्दै, व्यवस्थित हुँदै

blog

थारु होमस्टे भादागाउँ । तस्बिर : राजेन्द्र थापा

अविनाश चौधरी

धनगढी, पुस १४ गते । दशक अगाडि कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँमा स्थापनामा भएको भादा होमस्टे आशातित् फस्टाउन सकेको छैन । बाटोको समस्या लगायतका कारणले सञ्चालकहरूले चाहेअनुसार होमस्टे फस्टाउन नसकेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब १३ किलोमिटरको दूरीमा रहेको यो होमस्टेमा पाहुनाको आगमन सघन हुन नसकेपछि चाहेजस्तो नचलेको हो । योभन्दा पछि स्थापना भएको बर्दियाको डल्ला र पूर्वी नवलपरासीको अमलटारी होमस्टेमा राम्रो  व्यापार भइरहेको छ । २०६७ मै स्थापनामा भएको भादा होमस्टेले भने अपेक्षा गरिएअनुसार पर्यटकलाई स्वागत गर्न पाएको छैन ।  

भादा होमस्टेमा पर्यटक बढ्न नसक्नुको मुख्य कारण बाटोको समस्या र सेवा सुविधाको अभाव रहेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले बताउनुभयो । ‘धनगढीबाट दूरी छोटो भए पनि बाटो अझै राम्रो बनिसकेको छैन’, उहाँले भन्नुभयो, ‘बाटोको समस्याका कारण धेरैभन्दा धेरै मान्छे भादासम्म पुग्दैनन् । यातायातको पनि समस्या छ ।’ 

होमस्टे घरहरू थारु समुदायको परम्परागत शैलीका छन् । तर, पाहुनाहरूको चाहना  ‘अट्याच बाथरुम’ सहित आधुनिक सेवा सुविधाको छ ।

उर्मीहुँदै भादासम्म पुग्ने सडक निर्माणको कार्य भइरहेको छ । केही वर्षभित्र राम्रो सडक बनेपछि आवतजावत गर्न सहज हुने विश्वास उहाँले गर्नुभयो । त्यस्तै, भादामा पर्यटक आकर्षण कम हुनुको अर्को कारण होमस्टे आवश्यकताअनुसार व्यवस्थित गर्न नसक्नु हो । 

होमस्टे घरहरू थारु समुदायको परम्परागत शैलीका छन् । तर, पाहुनाहरूको चाहना  ‘अट्याच बाथरुम’ सहित आधुनिक सेवा सुविधाको छ । होमस्टेमा आएका पाहुनाले खोजेको रिसोर्ट सरहको सुविधा हुनेगरी व्यवस्थित गर्न नसक्दा पर्यटकलाई बढी दिन टिकाउन नसकेको अध्यक्ष चौधरीको भनाइ छ । ‘पाहुनाहरूले चाहेअनुसारको आधुनिक सुविधायुक्त घर बनाउन दश पन्ध्र लाख रुपियाँ बजेट चाहिन्छ’ उहाँले भन्नुभयो, ‘त्यति लगानी सामान्य किसानले गर्न सक्दैन । लगानी गर्न नसक्दा होमस्टे फस्टाउन सकेन ।’ 

यद्यपि, लगानी गरेर पर्यटकको चाहना अनुसारको संरचना तयार पारेका होमस्टेमा पर्यटक बढी आकर्षित भइरहेको बताइएको छ । त्यसरी तयार पारिएको ठाउँ होमस्टेभन्दा पनि रिसोर्ट सरह बनेको छ । ‘हामीले बिलकुल टिपिकल थारु परम्परागत घर र अर्गानिक खानपानको सेवा सुविधाका लागि होमस्टे सञ्चालन गरेका हौँ’, स्थानीय अगुवा पदम चौधरीले भन्नुभयो, ‘त्यसलाई सुधारेर आधुनिक बनाउन नसक्दा पर्यटक कम आए । एक त यो प्रदेशमै पर्यटक कम आउने गर्छन् ।’ 

हामीले बिलकुल टिपिकल थारु परम्परागत घर र अर्गानिक खानपानको सेवा सुविधाका लागि होमस्टे सञ्चालन गरेका हौँ’, स्थानीय अगुवा पदम चौधरीले भन्नुभयो ।

भादा होमस्टेमा पर्यटक भित्र्याउन स्थानीय सरकार पनि अग्रसर छ । अधिकतम पर्यटक भित्र्याउन प्रयास गरिरहेको वडा अध्यक्ष रामलाल चौधरीले बताउनुभयो । ‘हामीले होमस्टेको प्रवर्धनका लागि बजेट पनि छुट्ट्याइएका छौँ’, उहाँले भन्नुभयो, ‘थारु समुदायको संस्कृति, पहिचान र प्रकृति जोगाउनु पर्छ भनेर वडाले सहयोग गर्दैआएको छ ।’ धनगढीदेखि भादासम्म आउजाउका लागि सहज हुनेगरी बाटो कालोपत्र भएमा भादामा पर्यटक ओइरिने उहाँको भनाइ छ । 

यसैबीच, भादा होमस्टेको प्रवर्धन गर्ने उद्देश्यले आजबाट भादामा होमस्टे महोत्सव आयोजना गरिएको छ । चार दिनसम्म आयोजना हुने महोत्सवको करिब ५५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।