• २० असोज २०८१, आइतबार

सीमा क्षेत्रको आयात र निर्यातलाई व्यवस्थित गर्न प्रजिअलाई निर्देशन

blog

अर्थ मन्त्रालय । फाइल तस्बिर

काठमाडौं, पुस १४ गते। केन्द्रीय राजश्व चुहावट समितिको बैठकले राजश्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै सरोकारवालालाई  निर्देशन दिएको छ। 

राजश्व सङ्कलनको वर्तमान अवस्था र राजश्व चुहावट नियन्त्रणका सम्बन्धमा अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बुधबार बसेको बैठकले राजश्व सङ्कलनमा देखिएका चुनौती, चोरी, पैठारी नियन्त्रणका सम्बन्धमा छलफल गरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। 

सीमा क्षेत्रबाट हुनसक्ने अवैध आयात, निर्यातलाई नियन्त्रण गरेर राजश्व सङ्कलनलाई व्यवस्थित गर्न सीमाक्षेत्रका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाउने निर्णय समेत भएको उहाँले बताउनुभयो। 

राजश्व सङ्कलनका हिसाबले अहिलेको चुनौतीपूर्ण अवस्थामा सबैले आ- आफ्नो क्षेत्रबाट इमान्दारिताका साथ काम गर्न र राजश्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन भएको काफ्लेले बताउनुभयो। 

राजश्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमा नाकामा हुने राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासनको सक्रियतामा कुनै कमी नरहने गृहमन्त्रीबाट आश्वासन भएको छ।