• २० असोज २०८१, आइतबार

बाँकेका दुई गाउँपालिकामा टेलिकमका थप टावर जडान हुने

blog

टावर जडानका लागि टेलिकमका प्रबन्ध निर्देशक पौडेलसँग छलफल गर्नुहुँदै सांसद केसी । तस्बिर :सिराज खान

सिराज खान
नेपालगञ्ज, पुस १४ गते ।
 बाँकेका दुई दुर्गम गाउँपालिकामा नेपाल टेलिकमले थप टावर जडान गर्ने भएको छ । टेलिकमले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा थप टावर जडान गर्नुभएको हो ।

यी गाउँपालिकाका अधिकांश क्षेत्रमा मोबाइल सेवा नहुँदा स्थानीयलाई समस्या भइरहेकाले टेलिफोन सेवालाई गुणस्तरीय बनाउन थप टावर जडान गर्ने निर्णय भएको बाँके क्षेत्र नम्बर १ क का प्रदेश सांसद कृष्णा केसीले बताउनुभयो ।

थप टावरको जडान र भएका टावरको क्षमता वृद्धिका लागि नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललाई भेटेर माग गरेपछि टावर जडानको निर्णय भएको जानकारी उहाँले दिनुभयो ।

सांसद केसीका अनुसार नेटवर्कले काम नगर्ने स्थानमा थप टावरहरू स्थापना गर्ने र कम क्षमता भएका टावरलाई क्षमता वृद्धि गर्ने निर्णय गरिएको टेलिकमले जानकारी दिएको छ  ।

कोहलपुरको चप्परगौडीदेखि दाङको शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका धेरै ठाउँमा टावर नहुँदा मोबाइल नेटवर्कको समस्या रहेको छ ।

यी क्षेत्रमा टेलिफोनको पहुँच पुर्‍याउन यसै साताबाट सर्वेसमेत सुरु गरिने र भएका टावरहरूमा क्षमता विस्तारको काम तत्काल नै सुरु गरिने प्रदेश सांसद केसीले बताउनुभयो ।

कोहलपुर चप्परगौडीदेखि दाङको शिवखोलासम्मको अधिकांश राजमार्गमा नेटवर्कले काम नगर्ने भएकाले विभिन्न भागमा थप टावरहरू राख्नुपर्ने स्थानीयको माग लामो समयदेखि रहेको छ । सोही प्रकारले राप्तीसोनारी र नरैनापुरमा अहिले रहेका टेलिकम टावरहरूका क्षमता कम भएकोले वृद्धि गर्नुपर्ने र थप जडान गर्नु पर्ने देखिएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न स्थानमा टावरहरू थप गरिने भएपछि ती पालिकाका अध्यक्षले खुसी व्यक्त गर्नुभएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नयाँ टावर जडान र पुरानाको क्षमता विकास गरिएपछि नेटवर्कको समस्या समाधान हुनुका साथै जनताले राहत पाउने बताउनुभयो ।

यसैगरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पनि मुख्य राजमार्गलगायत धेरै ठाउँमा नेटवर्कको समस्या रहेकाले अब समाधान हुने सुनेर खुसी लागेको बताउनुभयो ।