स्वच्छ वातावरणमा बाँच्न पाउनु मानवलगायत यस पृथ्वीका सबै जीवको अधिकार हो। स्वच्छ वातावरणका निम्ति चेतनशील प्राणीका नाताले मानव जातिको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुनुपर्ने हो तर मानव निर्मित प्रदूषण पर्यावरण बिगार्ने प्रमुख कारण बन्दै छ। मानव जातिकै कारण वातावरणमा कार्बनडाइअक्साइड उत्सर्जन अत्यधिक मात्रामा भइरहेको छ। वनजङ्गल विनाश, जैविक इन्धनको थेग्नै नसकिने उपभोग इत्यादिका फलस्वरूप वातावरणमा हरितगृह ग्यासको मात्रा बर्सेनि बढ्दो छ। संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले हालै सार्वजनिक गरेको ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्ट्डी’ को प्रतिवेदनअनुसार हरितगृह ग्यास वृद्धिकै कारण बितेका आठ वर्षमा हालसम्मकै सबैभन्दा बढी गर्मी वर्ष भएका छन्।
जलवायु परिवर्तन अहिले विश्वका निम्ति सबैभन्दा ठूलो चुनौती भएको छ। पृथ्वीको तापमान बढ्दै गएको छ। बढ्दो तापमानको असरले अस्वाभाविक मौसमी घटना देखिन थालेका छन्। पछिल्लो अध्ययन प्रतिवेदनले विगत आठ वर्षदेखि पृथ्वीमा तापक्रम निरन्तर नै बढ्दै गएको छ। औद्योगिक मुलुकले विगत डेढ सय वर्षमा जीवाश्मा इन्धन र स्रोतको अति दोहन गरेका कारण वायुमण्डल प्रदूषित गर्ने ग्यासहरू उत्सर्जन हुने क्रम राकिएको छैन। विश्वतापमान घटाउन गरिएका सबै प्रयासमा विशेष गरी धनी मुलुककै चासो कम देखिएको छ। त्यसैले वातावरणीय दुष्प्रभाव बढ्दो क्रममा देखिन थालेका छन्। पछिल्लो यताका दशकमा पृथ्वीको तापमान बढ्दो क्रममै रहेका कारण सन् २०५० सम्म विश्वतापमा एक दशमलव पाँच डिग्री सेल्सियसले घटाउने प्रतिबद्धता कार्यान्वयन हुनेमा धेरै शङ्का उत्पन्न हुन थालेको छ।
तापक्रममा आएको वृद्धिका फलस्वरूप समुद्री सतह वृद्धि भएको छ। ताममान वृद्धि भएका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रममा पनि बढेको छ। हिमालयका हिउँ र हिमनदीले समग्र पृथ्वीको पर्याचक्रमा प्रतिकूल असर परिरहेको छ। वैश्विक दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा युरोपको आल्पस हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम निकै बढेको छ भने स्विट्जरल्यान्डजस्तो पर्वतीय मुलुकमा समेत उच्च गर्मीका कारण हिउँ पग्लिरहेको छ। यति मात्र होइन, विभिन्न देशमा हिमनदीमा हिउँको मात्रामा एक तिहाइभन्दा बढीले कमी आएको पाइएको छ। बेलायतजस्तो चिसो मुलुकले पनि इतिहासमै पहिलो पटक यसै वर्ष गर्मी याममा ४० डिग्री सेल्सियस तापक्रमको मार खेप्नु प¥यो। नेपालकै सन्दर्भको कुरा गर्ने हो भने बेमौसमी वर्षा, बाढीपहिरो तथा खडेरी पनि यसैको परिणाम हो। जलवायु परिवर्तनले उत्पन्न अनेक सङ्कटको प्रत्यक्ष प्रभाव किसान र ग्रामीण बासिन्दामा हुन थालेका छन्। पानीका मुहान सुक्न थालेका छन् भने खेतीयोग्य जमिन बन्जर बन्दै छन्।
तापक्रम वृद्धिका परिणामस्वरूप खडेरी तथा अतिवृष्टिले गर्दा केन्या, सोमालिया इथियोपियाजस्ता मुलुक खाद्य असुरक्षा तथा बाली विनाशको चपेटाबाट गुज्रिनु परेको विश्व स्थिति छ। छिमेकी पाकिस्तानले यसै वर्षको जुलाई र अगस्ट महिनामा आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति बेहोर्नु परेको थियो। यस्तै विश्वका अन्य भागमा पनि बेमौसमी वर्षा, चक्रवात, खडेरी तथा गर्मीले जनजीवन अस्तव्यस्त हुने क्रम जारी रहेको छ। खनिज इन्धनको ठाउँमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउन सकिएन भने जलवायु परिवर्तनका सङ्कट अझ गहिरिँदै जाने अवस्था छ। तापक्रम वृद्धिको यस दुष्प्रभावले दीर्घकालीन रूपमा मानवलगायत पृथ्वीका सबै जीवको अस्तित्वमा खतरा पुग्ने सम्भावना अधिक छ। यो जोखिम न्यूनीकरण तथा नियन्त्रण गर्नाका खातिर मूल रूपमा मानव जातिको महत्त्वपूर्ण भूमिका देखिन्छ।
विशेषतः विकसित मुलुकले अत्यधिक कार्बनडाइअक्साइड उत्सर्जन गर्ने औद्योगिक कलकारखाना एवं वस्तुका उत्पादनमा हरित ऊर्जाको प्रयोग गर्नुपर्छ। जैविक इन्धनको प्रयोगमा कमी ल्याउनु जरुरी छ। हरित अर्थतन्त्र निर्माणको महत्त्वपूर्ण पक्षमा ध्यान दिन सकेमा तापमान वृद्धिको समस्या नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्नेमा दुईमत छैन। पृथ्वीको वातावरणमा हरितगृह ग्यासको मात्रा घटाउनेतर्फ विश्वव्यापी रूपमा सङ्गठित प्रयास गरिनुपर्ने अनिवार्य छ। यो समस्या कुनै एक देश वा क्षेत्रको नभएर समग्रमा विश्व तथा मानव जातिको हो। सम्पूर्ण चराचरको भविष्यसमेतमा यो निर्भर रहेको छ। पुर्खाले हामीलाई यो सुन्दर पृथ्वी हस्तान्तरण गरेजस्तै आफ्ना भावी सन्ततिका निम्ति वातावरणीय तवरले सुन्दर तथा सुरक्षित मानव ग्रह पृथ्वीको संरक्षण मानव जातिको मूल कर्तव्य हो भन्ने कुरा बिर्सन हुँदैन।