सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, जेठ ५ गते । चौतारा साँगचोकगढी नगरपालिका–७, दरबारडाँडामा गत वर्षदेखि सहिद स्मृति आवासीय बालग्राम सञ्चालनमा ल्याएको छ । बालग्राम टुहुरा, असहाय र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सफल भएको छ । साहराविहीन १९ बालबालिकाको अभिभावकत्व लिएर निःशुल्क आवासीय शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको हो ।
अभिभावक जेलमा परेका, बुबाआमाविहीन भएका, अभिभावकले दोस्रो विवाह गरेर बालबालिकालाई अलपत्र पारेका, कुमारी आमाबाट जन्मिएका, आर्थिक रूपले विपन्न भएका तथा विद्यालय गाभिएर टाढाको विद्यालयसम्म जान नसकेका बालबालिकालाई गत वर्षदेखि उक्त बालग्रामले आवासीय शिक्षा दिँदै आएको छ । बालग्राममा आश्रित सबै बालबालिकाको गाँस, बास, कपाससहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । जिल्लामा यस्तो किसिमको अर्को बालग्राम कुनै स्थानीय तहमा नभएको बताएको छ ।
बालग्राममा रहेका सबै बालबालिकालाई नजिकै रहेको ज्ञानमन्दिर नमुना माध्यमिक विद्यालयमा विभिन्न कक्षामा पढाउन थालिएको छ । उनीहरूलाई बिहानदेखि रातिसम्म शैक्षिक कार्यतालिका बनाएर शैक्षिक व्रिmयाकलाप गराइन्छ । बिहान व्यायाम र खेल, दिउँसो विद्यालय र साँझ गृहकार्य र अध्ययन गराइन्छ । बालबालिकाको हेरचाह, वार्डेनका लागि दुई जना सहयोगी राखेर विशेष हेरचाहको व्यवस्था गरिएको छ ।
बालग्राम साहराविहीन बालबालिकाको साहरा बनेको छ । सो बालग्राममा आवासीय रूपमा आश्रित बालबालिकाको नगरपालिका स्वयम् अभिभावक बनेको हो । केही वर्षअघि चौतारा साँगचोकगढी नगरपालिका–११, फँलाटेका १४ वर्षीय समीर नेपालीकी आमाको रक्त क्यान्सरबाट निधन भयो । समीर सानै हँुदा उनको बुवाको पनि मृत्यु भएको थियो । समीरको शिक्षा, स्वास्थ्य, गाँस, बास, हेरचाहका लागि कोही नभएपछि बालग्रामले अभिभावकत्व लिएको थियो । आफ्नो लागि अभिभावक नै बालग्राम र नगरपालिका भएको समीरले बताउनुभयो । त्यसो त समीर जस्ता विभिन्न कारणले अभिभावक गुमाएका, विपन्न, असहाय बालबालिकाका लागि सहिद स्मृति आवासीय बालग्राम भगवान् साबित भएको छ । बालग्राममा सबै बालबालिकाको सबै खर्च नगरपालिकाले नै बेहोर्ने गरेको छ ।
विभिन्न कारणले अभिभावक गुमाएका र बिचल्लीमा परेका बालबालिकालाई नगरपालिका नै अभिभावक भएको प्रत्याभूति दिलाउन नगरपालिका लागेको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । बालबालिकाको आधारभूत अधिकार प्रदान गर्न र संरक्षण गर्न बालग्राम स्थापना गरिएको उहाँले बताउनुभयो । लक्षित बालबालिकालाई बालग्राममा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षा प्रदान गर्ने नगरप्रमुख सापकोटाले बताउनुभयो ।
२०७२ सालको भूकम्पमा आश्रयका लागि निर्माण गरिएको भवनलाई कोरोना महामारीका समयमा क्वारेन्टाइनमा रूपान्तरण गरिएको थियो । सोही भवनमा नगरपालिकाले गत वर्ष २३ लाख रुपियाँ खर्च गरेर बालग्राम बनाएको हो । बागमती प्रदेश सरकारले बालग्रामको नयाँ भवनका लागि ७० लाख रुपियाँ अनुदान दिएको छ । आगामी वर्ष पनि फेला परेकालक्षित बालबालिकालाई पनि बालग्रामले निःशुल्क आवासीय शिक्षा, स्वास्थ्य उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।