बबई समाचारदाता
बबई (बर्दिया) जेठ ५ गते । बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको भैसाही गाउँ थारू समुदायको बाक्लो बस्ती भएको ठाउँ हो । भैसाही गाउँका अधिकांश मानिस खेतीकिसानीमै भर पर्नुपर्ने अवस्था छ ।
भैसाही गाउँमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिकाको घरमा आफ्नै कक्षाकोठा बनाइएको छ । विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर बालबालिकालाई अध्ययन गर्न रुचि जगाउनका लागि कक्षाकोठा निर्माण गरिएको हो । सानै उमेरमा हुने विवाहलाई रोक्न बालबालिकाको अध्ययनमा रुचि जगाउनका लागि घरको एक कुना, एक कक्षाकोठा अवधारणा ल्याइएपछि बालबालिकाको अध्ययनमा रुचि देखिन थालेको छ ।
भैसाही गाउँको प्रायः जसो घरको एउटा कुनामा रङ्गीचङ्गी चित्रले भरिएको कक्षाकोठा बनाइएको छ । टेबुलमा बसेर अध्ययन गर्नका लागि कुनै घरमा कुर्सी राखिएका छन् भने कुनै घरमा गुन्द्री हुन्छ । घरको भित्तामा विभिन्न अध्ययन समाग्री सजाइएको छ । टेबुलमा बालबालिकाले आफ्नो अध्ययन गर्ने पुस्तक सजाएर राखेका छन् ।
त्यसै घरको एक कुनामा बसेर गुलरिया–१२ का ११ वर्षीय आदित्य थारूले आफ्नो भविष्य खोजिरहनुभएको छ । भैसाही गाउँका आदित्य थारूले आफ्नो घरको कक्षाकोठामा उभिएर अनुभव सुनाउँदै भन्नुभयो, “पहिले यसरी पढ्ने वातावरण थिएन, एक वर्ष भयो हामीले घरमै कक्षाकोठा बनाएका छौँ ।” विद्यालयमा अध्ययन गरेका विषय घरमा पुगेर अध्ययन गर्ने वातावरण सिर्जना गर्न आजभोलि बढैयाताल, मधुवन र गुलरिया नगरपालिकाका धेरै घरमा यस्ता कक्षाकोठा बनाइएको छ । आदित्य थारूकी आमा लालप्यारी थारूले बालबालिकालाई पढ्न सहज होस् भन्ने उद्देश्यले यसो गरिएको बताउनुभयो ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतीश यादवले बालबालिका विद्यालयबाट फर्केपछि घरको कक्षाकोठामा बसेर अध्ययन गर्ने गरेको र अध्ययनमा रुचि भए बालविवाह पनि न्यूनीकरण हुने ठानेर यो कार्यव्रmम ल्याइएको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले विद्यालयमा अध्ययन गरेर घरमा आएपछि घरमा समेत अध्ययन गर्ने वातावरण सिर्जना हुने उद्देश्यले घरको एक कुनामा कक्षाकोठा बनाइएको बताउनुभयो । बालविवाह न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आइरहेको बाँके युनेस्को क्लबले गुलरिया, बढैयाताल र मधुवन नगरपालिकाका एक हजार पाँच सय अभिभावकलाई तालिम दिएर यो अभियान सञ्चालन गरिरहेको छ ।
युनेस्को क्लब बर्दियाका सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले बालबालिकाको पढाइमा रुचि जगाउन सकेमा बालविवाह न्यूनीकरण हुने भएकाले ‘एक घर, एक कक्षाकोठा’ को अवधारण ल्याइएको बताउनुभयो ।