तिलाचन पाण्डे
तम्घास, जेठ ५ गते । गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेणीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण बनेको छ । जीर्ण रहेको झन्डै पाँच वर्ष बित्न लाग्दासमेत यसको संरक्षणमा कसैले चासो दिएको छैन । स्थानीय व्यापारी प्रेम अर्यालले लुम्बिनी र गण्डकी प्रदेशको सङ्गमस्थलमा रहेको एसियाकै ठुलो शिला शालिग्राम यसरी जीर्ण अवस्थामा रहनु दुःखद भएको बताउनुभयो ।
कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको छ भने शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएको छ । स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको बिहादी र गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख तथा अध्यक्षले संरक्षण गर्ने भन्दै आए पनि परिणाम भने देखिन सकेको छैन । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले तीन वटै जिल्लाका तीन स्थानीय तहले साझा धारणा बनाएर संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । तीन वटै जिल्लाका स्थानीय तहको बैठक बसेर धर्म, संस्कृति र ऐतिहासिक क्षेत्रको संरक्षणका लागि लाग्नुपर्ने बताउँदै उहाँले शिला शालिग्रामको संरक्षणका लागि गाउँपालिका सदैव तयार रहेको बताउनुभयो ।
बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले पालिकाको बजेटले संरक्षण गर्न सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग संरक्षणका लागि पहल भइरहेको बताउनुभयो । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले सानो रकमले संरक्षणको ठुलो काम गर्न सम्भव नहुने भएकाले प्रदेश र केन्द्रसँग समन्वय भइरहेको बताउनुभयो । केन्द्र र प्रदेश सभा सदस्यलाई शिला शालिग्रामको दर्शन गराएर संरक्षण गर्न बजेटको व्यवस्था गरिदिन आग्रह गरेको उहाँको भनाइ छ ।
मन्त्रालय जानकार छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण लामिछानेले शिला शालिग्रामको संरक्षणका लागि मन्त्रालयमा स्थानीय तहबाट बजेटको माग भइरहेको बताउनुभयो । स्थानीय पालिकाबाट संरक्षणका निम्ति पहल गरिदिन र बजेटको व्यवस्थापन गर्नका लागि भन्दै माग भएकाले मन्त्रालय प्रयासरत रहेको उहाँको भनाइ छ । उहाँले बजेट निर्माणको व्रmममा सम्बोधन हुन सक्ने र अहिले नै सम्बोधन हुन्छ वा हुँदैन भन्नेबारेमा बोल्न नमिल्ने बताउनुभयो ।
एसियाकै ठुलो शिला शालिग्राम सेतीवेणीमा रहेको छ । शालिग्रामलाई विशेष गरी भगवान् विष्णुको प्रतीकका रूपमा पुज्ने गरिन्छ । शालिग्रामको स्पर्श मात्रैले पनि लामो समयदेखि गरेका पाप नष्ट हुने र यसको पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक किंवदन्ती रहँदै आएको छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार शालिग्रामबाट सर्पभय, अग्रिभय, दुःख, दरिद्र नास हुनेसमेत उल्लेख छ ।
धार्मिक रूपमा मात्र नभई शालिग्रामको आर्थिक रूपमा समेत महìव रहँदै आएको छ । शिला शालिग्रामको भित्र राति अचम्मको घन्ट बजेको आवाज निस्किने पुजारीले बताउँदै आएका छन् । शिला शालिग्रामभित्र महेन्द्र राजाका पालामा सुनको खानी छ भन्ने भएपछि त्यसलाई फुटाउने प्रयास गरिएकोमा महेन्द्रले त्यसलाई रोकेको इतिहास छ । यस क्षेत्रमा असारे ठुला एकादशी, माघेसङ्व्रmान्ति, नयाँ वर्ष, वैशाखेसङ्व्रmान्तिलगायतका पर्वमा मेला लाग्ने गर्दछ ।