नवीनराज कुइँकेल
लमजुङ, जेठ ४ गते । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।
आइतबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समितिले सिफारिस गरेकै दिन सरकारले निर्णय गर्ने बताउनुभयो ।
“समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्यमा नियुक्त गरिएको छ” सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सिफारिस समितिले प्रस्ताव गर्नासाथ सरकारले निर्णय गरिहाल्छ ।”
मन्त्री गुरुङले वर्तमान सरकार लामो समय जाने निश्चित भएपछि विपक्षीहरू अत्तालिएको बताउनुभयो । उहाँले सत्ता गठबन्धनमा कुनै प्रकारको असमझदारी नरहेको समेत प्रष्ट पार्नुभयो । “सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिएका छन् । हुने नहुने बोलेका छन्” उहाँले भन्नुभयो, “अहिले हामी बोल्न पनि हुन्न । एकदम ग्रान्डडिजाइन छ । यहाँ हतास मानसिकताले काम गरिरहेको छ ।”
यसअघि नेकपा (एमाले) लमजुङको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकलाई सम्बाेधन गर्नुहुँदै मन्त्री गुरुङले सरकारलाई स्थायित्व र सवल बनाउन पार्टी बलियो बन्नुपर्ने धारणा राख्नुभयो । “सरकारलाई बलियो बनाउने कुरा, सवल बनाउने कुरा पार्टीको महत्त्वपूर्ण भूमिका हुन्छ” मन्त्री गुरुङले भन्नुभयो, “सरकारले राम्रो गर्न सक्यो भने पार्टी विस्तारलाई फाइदा हुन्छ, पार्टी बलियो भयो भने सरकारको स्थायित्व हुन्छ ।”
नेकपा (एमाले) का उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले समाजवादको आधार तयार पार्न नेकपा (एमाले) ले स्थानीय तह, प्रदेश र सङ्घमा बहुमत सहितको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले सोभियत सङ्घमा कम्युनिष्ट पार्टीको सरकार ढलिरहेका बेला नेपालमा जननेता मदन भण्डारीको विचार र सिद्धान्तले कम्युनिष्ट पार्टीलाई माथि उठाएको बताउनुभयो ।
पञ्चायत शासन ढाल्न जेलमा हुँदा पनि २०४३ सालमा जनपक्षीय उम्मेद्वारका रूपमा निर्वाचन लडेको उहाँले बताउनुभयो । पञ्चायतको भण्डाफोर गर्दै बहुदलको मुद्दा उठाउन जनपक्षीय उम्मेदवार उठाएर नै देशमा राजनीतिक परिवर्तन सम्भव भएको उहाँले बताउनुभयो । हिजोको यो नीतिले नै पार्टी विस्तारमा सहयोग पुगेको र हिजो जनपक्षीय उम्मेदवार बनेर निर्वाचित भएकाहरू आज पनि जनतामाझ लोकप्रिय भएर चुनाव जितिरहेको उहाँले बताउनुभयो ।
२०४३ सालमा जनपक्षीय उम्मेदवार हुनुभएका मन्त्री गुरुङलाई आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतले खादा र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । २०४३ यता उहाँ लगातार लमजुङबाट निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।
आठ पटक निर्वाचन लड्नुभएका गुरुङले २०६४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभयो भने २०७४ मा प्रदेश (ख) बाट निर्वाचित हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । २०७९ मा सङ्घीय सांसदमा निर्वाचित उहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री हुनुहुन्छ ।