• १६ भदौ २०८१, आइतबार

प्राचीन निर्वाचन प्रणाली

blog

एथेन्स र रोममा ध्वनि मत, गोप्य रूपमा ढुङ्गाको मत खसाल्ने तथा समृद्ध वा धनीमानीहरूको पक्षधर निर्वाचन प्रणाली बनाइएको हुन्थ्यो ।

आधुनिक लोकतान्त्रिक नागरिकले निर्वाचनका दिन आफ्नो मताधिकार प्रयोग गर्न अनेक खालका विधि र प्रविधि प्रयोग गरेका छन् तर यसै सेरोफेरोमा प्रश्न उठ्छ, प्राचीनकालमा मानिसले निर्वाचनमा कसरी सहभागिता जनाउँदथे ? इतिहासवेत्ताहरूले श्रमिक वर्गको दाँजोमा धनाढ्य वर्गको बढी प्रभाव रहने विश्वको पहिलो लोकतान्त्रिक अभ्यास भएको स्थल एथेन्स तथा अर्ध–लोकतान्त्रिक रोम गणराज्यकालीन निर्वाचन प्रणालीका केही चाखलाग्दा विवरण प्राप्त गरेका छन् । 

तत्कालीन एथेन्स र रोमको लोकतान्त्रिक प्रक्रिया (ग्रिसमा डेमोक्र्याटिआ भनिने, जसको अर्थ जनशक्ति हुन्छ) डेमोसहरूमा सीमित थियो । डेमोसको अर्थ थियो स्वतन्त्र र पुरुष नागरिक । महिला र दासहरूलाई मतदानको अधिकार प्राप्त थिएन । 

एथेन्समा निकै कम निर्वाचन भए किनभने प्राचीन एथेन्सवासीले अधिकारीहरू चयन गर्नका लागि निर्वाचनलाई सर्वाधिक लोकतान्त्रिक प्रक्रिया ठानेका थिएनन् । अमेरिकाको इन्डियाना विश्वविद्यालयका इतिहासवेत्ता इरिक रोबिन्सनको भनाइ छ “लोकतन्त्रका लागि त मानिसलाई दैनिकी चलाउन पूर्ण अधिकार दिइनु पर्छ । धनीलाई मात्र होइन तपाईंले क्रमरहित रूपमा मानिस चयन गर्नुपर्दछ ।”

एथेन्सको मुख्य कार्यकारी निकाय काउन्सिलमा रहने पाँच सय सदस्यको निर्णय गर्नका लागि एथेन्सवासीले सोर्टिसन भनिने प्रणाली प्रयोग गर्दथे । एथेन्समा १० जातीय कबिला थिए र पाँच सय सदस्यको काउन्सिलमा एक वर्ष सेवा पु-याउन प्रत्येक कबिलाले ५० नागरिक पठाउनु पर्दथ्यो । 

प्रत्येक योग्य नागरिकलाई एक व्यक्तिगत टोकन दिइन्थ्यो तथा ती टोकनलाई एक नली र बल भएको क्लेरोटेरियन भनिने एक विशेष उपकरणमा हालेर क्रमरहित रूपमा प्रत्येक जनजाति समुदायका प्रतिनिधि चयन गर्ने प्रावधान थियो । 

विधान सभामा एक व्यक्ति एक मतको प्रावधान एथेन्समा सबै कानुन र न्यायका मुद्दामा असेम्बली (एकलिसा)मा निर्णय लिइन्थ्यो । एकलिसा एक ठूलो लोकतान्त्रिक निकाय थियो, जसमा प्रत्येक पुरुष नागरिकले आ–आफ्नो अभिव्यक्ति राख्न पाउँथे । एथेन्सका करिब ६० हजार नागरिकमध्ये छ हजार जतिले मात्र नियमित रूपमा असेम्बली बैठकमा सहभागिता जनाउने गर्दथे । 

एक प्राकृतिक पहाडी थुम्कोमा रहेको फियनेक्स भनिने अखडामा असेम्बली बस्दथ्यो । ग्रिस भाषामा खाँदिएर बस्नुलाई फिनेक्स भन्ने गरिन्छ । त्यस सभामा कहिले काहीँ १३ हजारसम्म नागरिक उपस्थित रहन्थे । 

सान डियगो विश्वविद्यालयमा राजनीति विज्ञानका प्राध्यापक डेल डिकेन्सन भन्छन् “ग्रिसवासीको निर्वाचन हामीले सोचेको जस्तो थिएन, तपाईंले मेलबाट मत पठाउने, स्कुलमा गएर मत हाल्ने वा चर्चमा गएर मत खसाल्ने जस्तो ग्रिसमा निर्वाचन हुँदैनथ्यो । तपाईंले भौतिक रूपमा उपस्थित हुनुपर्दथ्यो । त्यहीँबाट हामीले गणतन्त्र शब्द पायौँ । तपाईंले अन्य नागरिकसँगै भेला हुनुपर्दथ्यो र त्यस दिन सभा बस्नु पहिले नै उठाउनुपर्ने मुद्दाहरू तय गर्नुपर्ने नियम थियो ।”

असेम्बलीको दैनिक एजेन्डा पाँच सय जनाको काउन्सिलबाट तय हुन्थ्यो तर त्यतिबेला सबै वैधानिक र सरकारी नीतिहरू निर्णयार्थ मतदान प्रक्रियामा लैजाने गरिन्थ्यो । हात उठाएर मत अभिव्यक्त गर्ने तथा विजेताको निर्णय नौ ‘प्रेसिडेन्ट्स’ (प्रोड्रोई) अर्थात् मतगणकले गर्दथे । निर्वाचन प्रणालीमा कुनै पनि खालको सम्भावित जालझेल टार्न एथेन्सवासी अत्यन्त सचेत थिए । 

रोबिन्सन भन्छन्, “उदाहरणका लागि असेम्बली बस्नु पहिले बिहानै क्रमरहित विधिबाट नौ जना मतगणक चयन गरिन्थ्यो, यसैले उनीहरूसँग छलकपट गर्नु निकै कठिन थियो ।”

एथेन्समा केही यस्ता पद पनि थिए जसको चयन असेम्बलीबाट गरिन्थ्यो । सैनिक जनरलहरू यसरी नै असेम्बलीले चयन गर्दथ्यो र प्रत्येक वर्ष हातको बूढीऔँला माथि उठाउने वा तल झार्ने विधिद्वारा १० जना जनरल असेम्बलीबाट चयन गरिन्थे । 

गोप्य मतदानका लागि ढुङ्गा प्रयोग

कानुन पारित गर्नुका अतिरिक्त असेम्बलीले एथेन्समा सबै खालका आपराधिक र सार्वजनिक मुद्दामा निर्णय लिने गर्दथ्यो । डिक्सन भन्छन्, “१२ सदस्यीय न्यायपीठभन्दा विपरीत एथेन्सको न्यायपीठमा दुई सयदेखि पाँच हजार मानिस थिए । साथै न्यायपीठका एक सदस्यलाई न्यायाधीशको जिम्मेवारी निर्वाह गर्न क्रमरहित विधिबाट चयन गरिन्थ्यो । उनको चयन अन्तिम निर्णय लिनका लागि नभई विधि र प्रक्रियाको अनुसरण भए नभएको सुनिश्चित गर्नका लागि थियो ।” 

सार्वजनिक रूपमा अर्कै खालको निर्वाचन हुने गरेको भए पनि एथेन्सको न्यायपीठले विशेषखालको गोप्य मतदान, जसमा ढुङ्गा प्रयोग गरिन्थ्यो, बाट आफ्नो मताधिकार प्रयोग गर्न पाउँथे ।

यस प्रक्रियालाई रोबिन्सन यसरी बयान गर्छन्, “न्यायपीठका प्रत्येक सदस्यलाई दुईवटा साना ढुङ्गा दिइन्थ्यो, एउटा ठोस र अर्कोको बीच भागमा प्वाल बनाइएको हुन्थ्यो । 

मतदान गर्ने बेलामा न्यायपीठका सदस्यले दुईवटा सुराही अगाडि गएर पहिलो सुराहीमा आफ्नो मताधिकार प्रयोग गरेपछि बाँकी रहेको ढुङ्गा अर्को सुराहीमा हाल्दथे । प्रत्यक्ष हेरिरहेका मानिसले समेत कुन ढुङ्गा कुन सुराहीमा खसालियो भन्ने थाहा पाउँदैनथे । 

प्राचीन ग्रिसमा सानो ढुङ्गालाई सेफोज भन्ने गरिन्थ्यो । आधुनिक युगमा निर्वाचन र मतदानस्वरूपको तथ्याङ्कीय अध्ययन गर्न अङ्ग्रेजी भाषामा प्रयोग गरिने सेफोलोजी शब्दका रूपमा प्राचीन सेफोज अस्तित्वमा रहेको देखिन्छ ।

बहिष्कार र निर्वासनका लागि विशेष निर्वाचन

एथेन्समा यदि कोही कलङ्कित हुन्छ वा असल लोकतन्त्रका लागि धेरै नै लोकप्रिय हुन्छ भने उनलाई विशेष ‘बहिष्कार’ निर्वाचनका माध्यमबाट १० वर्ष निर्वासन गर्ने प्रचलन थियो । ‘बहिष्कार’ निर्वाचनमा असेम्बलीका प्रत्येक सदस्यलाई माटोको भाँडाको एउटा सानो टुक्रा दिइन्थ्यो र उनीहरूलाई निर्वासित गर्नुपर्ने व्यक्तिको नाम कोरेर लेख्न लगाइन्थ्यो ।

डिक्सन भन्छन्, “यदि कम्तीमा छ हजार मानिसले समान नाम लेखे भने सबैभन्दा धेरै मत पाउने व्यक्तिलाई एथेन्सबाट १० वर्षका लागि निर्वासित गरिन्थ्यो ।”

एउटा उदाहरणका रूपमा थेमिस्टाकोल्सलाई लिन सकिन्छ । पर्सियाविरुद्ध सलामिसको लडाइँका प्रमुख योद्धा थेमिस्टाकोल्सलाई इसापूर्व ४७२ मा निर्वासित गरियो र निर्वासनमै उनको निधन भयो । थेमिस्टाकोल्सका राजनीतिक शत्रुहरूले माटोको भाँडाका हजारौँ टुक्रामा पहिले नै उनको नाम लेखेर असेम्बलीका निरक्षर सदस्यलाई वितरण गरेको प्रमाण इतिहासवेत्ताहरूले प्राप्त गरेका छन् । यसले के दर्शाउँछ भने एथेन्समा कोही लोकप्रिय हुँदा पनि उसले षडयन्त्रको सिकार हुनुपथ्र्यो र उनलाई दण्ड दिन निर्वाचनलाई माध्यम बनाइन्थ्यो ।

प्राचीन ग्रिसका सहरहरूमा एथेन्स सबैभन्दा शक्तिशाली र ठूलो थियो तर हरेक नगरपालिकाले आफ्नै खालको निर्वाचन र मतदान प्रणालीको अभ्यास गरेका थिए । रोबिन्सनले आफ्नो पुस्तक डेमोक्रेसी बियोन्ड एथेन्स, मा यो कुरा उल्लेख गरेका छन् ।


यसको एक उदाहरण हो स्पार्टा । त्यहाँ लोकतन्त्र थिएन तर लोकतन्त्रका केही अवयव त्यहाँ थिए । स्पार्टाको एक उच्च शासकीय निकाय थियो काउन्सिल अफ एल्डर्स (गेरुसिया) । त्यसमा स्पार्टाका दुई राजा र निर्वाचित २८ अधिकारी हुन्थे । ती सबैको उमेर ६० वर्ष पुगेको हुन्थ्यो र उनीहरू आजीवन त्यसको नेतृत्वमा रहन्थे ।

रोबिन्सन भन्छन् “रिक्त भएका स्थान परिपूर्ति गर्न स्पार्टावासीले ध्वनि मत जनाउने विशेष शैलीको निर्वाचन प्रणाली अपनाएका थिए, जो हर्षध्वनिका रूपमा समेत परिचित थियो । प्रत्येक उम्मेदवार पालैपालो विशाल असेम्बली कोठामा जान्थे र मानिसहरू ध्वनि मतका आधारमा उनीहरूको दाबेदारी अनुमोदन गर्दथे । अर्को गोप्य कोठामा रहेका न्यायपीठका सदस्यले ध्वनिको आयतन हेरेर विजेता चयन गर्ने परम्परा रहेको थियो ।”

रोमन निर्वाचनले धनीमानीलाई विशेषाधिकार दियो

डिक्सनको भनाइमा रोमन गणराज्यले एथेन्सको लोकतान्त्रिक प्रणालीका केही सिद्धान्त आत्मसात् गरेको थियो तर उनीहरूले मतदातालाई वर्गका आधारमा वर्गीकरण गरे, जसले गर्दा धनधान्य भएकाहरू लाभान्वित हुने प्रणाली विकास हुन गयो ।

एथेन्सको सरह एक विशाल असेम्बलीमा मतदान नगराएर रोममा तीनवटा असेम्बली तयार पारिएको हुन्थ्यो । पहिलो असेम्बलीलाई सेन्चुरिएट असेम्बली भनिन्थ्यो र यस असेम्बलीले रोममा उच्च पदस्थ अधिकारीहरू चयन गर्दथ्यो, उदाहरणका लागि कन्सल्स, प्रेटर्स र सेन्सर्स । यसै असेम्बलीले मात्र युद्ध घोषणा गर्ने अधिकार राख्दथ्यो ।

सेन्चुरिएट असेम्बलीमा समृद्ध वर्गबाट मतदान सुरु गरिन्थ्यो र १९३ सदस्यीय असेम्बलीमा बहुमत पुग्नासाथ मतगणना बन्द गर्ने प्रचलन थियो । यदि सबै धनी मानिसले कुनै विधेयक पारित गर्ने वा खास कन्सल चयन गर्ने चाहना राखेको खण्डमा उनीहरू एक ढिक्का भएर मतदान गर्न सक्थे र निम्न वर्गलाई पन्छाइन्थ्यो । ल्याटिनमा पहिले मतदान गर्ने विशेषाधिकारलाई प्रेरोगेटिभा भनिन्थ्यो र अङ्ग्रेजी भाषाको प्रिरोगेटिभा शब्द यसैबाट विकसित भएको हो ।

अन्य दुई रोमन असेम्बली ट्राइबल असेम्बली र प्लेबियन कान्सिलमा मतदानको क्रम चिट्ठाद्वारा निर्धारण गरिन्थ्यो ।  एथेन्स र रोम दुवैमा कबिलाहरूको वर्ग निर्धारण रगत वा जातीयतामा आधारित थिएन, बरु उनीहरूको बसोबासको भौगोलिक क्षेत्रका आधारमा वर्ग निर्धारण गरिएको हुन्थ्यो । यस प्रकार जनजातीय असेम्बलीले अमेरिकाको वर्तमान सिनेटसरह कार्य गर्दथ्यो, जहाँ प्रत्येक राज्यलाई समान प्रतिनिधित्वको अधिकार प्राप्त छ ।

गोप्य मतदान र रोमन गणराज्यमा चुनाव प्रचारप्रसार

रोमन गणराज्यको निर्वाचनका केही पक्ष आजको प्रणालीसँग मिल्दोजुल्दो थियो । असेम्बलीमा मतदान एथेन्सको स्वरूपमा सुरु गरिन्थ्यो । असेम्बलीका प्रत्येक सदस्यले आ–आफ्नो हात उठाएर सार्वजनिक रूपमा मत अभिव्यक्त गर्दथे तर समयकालमा के स्पष्ट हुन गयो भने समृद्ध वर्गले रोमन असेम्बलीका सदस्यलाई निश्चित उद्देश्यमा मतदान गर्न दबाब हाल्ने गर्छन्, तसर्थ गोप्य मतदान विधि अपनाउन थालियो । 

इसापूर्व १३९ मा रोमले गोप्य मतदानको नयाँ शैली सुरु ग-यो । यस बारेमा प्रकाश पार्दै रोबिन्सन भन्छन्, “त्यो काठको एक चक्की थियो, जसको बाह्य भागमा मैनको पत्र हुन्थ्यो । तपाईंले मैन पत्रमा आफ्नो मत जाहेर गरेर काठको चक्कीलाई मतदान बक्सामा खसाल्नु पथ्र्यो । अभिजात वर्ग यसमा असन्तुष्ट थियो किनभने उनीहरूले आफ्नो केही नियन्त्रण गुमाएका थिए ।” 

यदि तपाईंले वर्तमानमा अभियान चलाएर प्रचारबाजी गरिँदा दिक्दार महसुस गर्नुहुन्छ भने जानिहाल्नुस् पुरातत्वविद्हरूले प्राचीनकालका सयौँ प्रचारबाजी विज्ञापन र राजनीतिक सन्देशयुक्त भित्तेचित्र पोम्पेईका पर्खालमा फेला पारेका छन् । रोमनकालमा उच्च पदस्थ जिम्मेवारीमा पुग्न खोज्नेलाई एक हप्ता प्रचारप्रसार गर्न दिइन्थ्यो र ती कार्य सार्वजनिक स्थलमा गर्नु पर्दथ्यो । 

–उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित