• १२ असोज २०८१, शनिबार

चौध कट्ठा खाली गराउन चौध महिना

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस १४ गते । विराटनगर महानगरपालिकाले पुरानो गुद्री (बजार) बल्ततल्ल खाली गराएको छ। प्रदेश लगानी प्राधिकरणले व्यावसायिक भवन निर्माणका लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो। 

महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यावसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कात्तिकमा भएको थियो। भवन निर्माणका लागि विराटनगर–९ मा रहेको पुरानो गुद्री भएको स्थानलाई छनोट गरिएको थियो। 

महानगरको स्वामित्वमा रहेको १४ कट्ठा जग्गामा व्यावसायिक कम्प्लेक्स बन्नेछ। सम्झौता भएको तीन महिनापछि परियोजनाको काम सुरु गर्ने उल्लेख थियो तर त्यहाँ लामो समय व्यापार गरेर बस्दै आएका व्यापारीले स्थान्तरणका लागि समय माग गरेपछि स्थान उपलब्ध गराउन ढिला भएको छ। पाँच अर्ब रुपियाँभन्दा बढीको लगानीमा बन्ने भनिएको कम्प्लेक्स निर्माण स्थलमा अझै पनि फाट्टफुट्ट तरकारी व्यापारी बस्दै आएका छन्। 

पुरानो गुद्रीको स्थान्तरण विराटनगर–११ मा भएको छ। नयाँ गुद्री पूर्ण रूपमा सञ्चालनमा आए पनि पुरानो गुद्रीका केही व्यापारी अझै हट्न आनाकानी गरेपछि महानगरले बल प्रयोग गरेर हटाएको हो। 

मङ्गलबार दिउँसो उनीहरूलाई त्यहाँबाट हट्न आग्रह गरेको महानगरले बुधबार बिहान ५ बजेदेखि नै नेपाल प्रहरीको सहयोगमा त्यहाँ व्यापारीलाई बस्न रोकेको थियो। व्यापारीले भने भवन निर्माण हुन नथाल्दासम्म फुटपाथको व्यापार नहटाउन माग गर्दै आएका छन् तर भवन निर्माण स्थल पूर्ण रूपमा खाली नहुँदा त्यसको काम प्रभावित हुने भएकोले महानगरले बल प्रयोग गरेर भए पनि खाली गराएको हो। 

तत्कालीन प्रमुख भीम पराजुलीको पालामा नै भवन निर्माण सम्झौता भएको थियो। स्वदेशी लगानीमा बन्ने भवन निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सकिने दाबी छ। अत्याधुनिक भवन निर्माणसँगै महानगरको स्वामित्वमा रहेको जग्गाको प्रयोग व्यवस्थापनसँगै सहरको सुन्दरताले व्यापारमा आधुनिक शैली भित्रिने आशा गरिएको छ। 

विराटनगर महानगरपालिकालाई सार्वजनिक पार्किङको समेत आवश्यकता बढ्दै गएको छ। महानगरले पार्किङसहितको व्यापारिक भवन निर्माण गर्ने तयारी गरेको हो। विराटनगर 

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विकल्प दिएपछि महानगरको स्वामित्वमा रहेको जग्गा खाली हुनुपर्ने एकमात्रै सर्त रहेको बताउनुभएको छ। उहाँले व्यापारका लागि नयाँ गुद्री स्थापना भएपछि त्यहाँ खाली गराउन व्यापारी आफैँ लाग्नुपर्ने आग्रह गर्नुभयो। प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिका–१ मा एकीकृत फलफूल तथा तरकारी बजारको समेत स्थापना गरेको छ। अत्याधुनिक सब्जी मन्डी भए पनि त्यसको सञ्चालन अहिलेसम्म हुनसकेको छैन।