• २० असोज २०८१, आइतबार

‘राहदानी सेवा प्रवाह सहज बनाऔँ’

blog

काठमाडौँ, पुस १४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको सेवा प्रवाह सहज बनाउन निर्देशन दिनुभएको छ । अनुगमनका लागि उहाँ बुधबार दिउँसो गृह मन्त्रालयका उच्च अधिकारीसहित त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको थियो ।

सेवा प्रवाह सेवाग्राहीमैत्री बनाउन राहदानी विभागका उच्च अधिकारीलाई उपप्रधानमन्त्री लामिछानेले निर्देशन दिनुभएको जानकारी गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दिनुभयो । राहदानी विभागले गत साउन १७ गतेदेखि अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको थियो । 

अनलाइन सेवा सुरु भए पनि कोटा प्रणाली लागू भएका कारण राहदानी लिने सेवाग्राहीले फाराम भर्ने नाममा अनेक झन्झट र अनावश्यक पैसा तिर्नु परेको गुनासो आउने गरेको छ  । अनलाइन फाराम भरे पनि राहदानी लिने पालो महिनौँपछि मात्र आउने तर बिचौलियामार्फत एकै दिनमा राहदानी पाउने गरेका गुनासो सेवाग्राहीले गर्दै आएका छन्  । यस्तै चलखेलका कारण विभागमा राहदानी लिनेको भीड रातिदेखि नै सुरु हुने गरेको छ । पछिल्लो समय सर्वसाधारणले सेवा लिन घण्टौँ लाइन लाग्नुपर्ने अवस्था छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । गृहमन्त्री लामिछानेले गृह प्रशासन सुधारका लागि आवश्यक कदम चाल्ने बताउँदै आउनुभएको छ ।