• २० असोज २०८१, आइतबार

बागमती प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा प्रदेश सभा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई शपथ गराउनुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, पुस १३ गते । बागमती प्रदेशको प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ लिनुभएको छ । बागमती प्रदेशको प्रदेश प्रमुखको सचिवालयमा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभा ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ गराउनुभएको हो ।

शपथ ग्रहणपछि प्रदेश प्रमुख शर्माले ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाको लोगोसहितको ब्याच लगाइदिनुभयो । शपथ ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्रीहरू, प्रदेश सभाका सदस्यहरू लगायतको उपस्थिति थियो ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम प्रदेश सभाका ज्येष्ठ सदस्य ढुङ्गानालाई शपथ ग्रहण गराउनुभयो । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक वा त्यसको कुनै समितिमा भाग लिनु प्रदेश कानुनअनुसार शपथ लिनुपर्ने संविधानमा व्यवस्था छ । 

प्रदेश सभाका सदस्यहरूमध्ये उमेरका हिसाबले सबैभन्दा बढी उमेर भएको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्य ढुङ्गानाले प्रदेश सभाका १०९ जना प्रदेश सभा सदस्यलाई शपथ गराउनुहुने छ । ज्येष्ठ सदस्य ढुङ्गानाले बाँकी प्रदेश सभाका सदस्यलाई भोलि बिहीबार दिउँसो २ बजे हेटौँडा १० स्थित बागमती प्रदेश सभा सचिवालयमा गराउने गरी कार्यक्रम तय गरिएको छ । 

प्रदेश सभाको ज्येष्ठ सदस्य ७२ वर्षीय ढुङ्गाना नुवाकोट निर्वाचन क्षेत्र नंं. २ को (क) बाट निर्वाचित हुनुभएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको सक्कल र प्रतिलिपि प्रमाणपत्र, नागरिकको सक्कल र प्रतिलिपि प्रमाणपत्र र हाल सालै खिचेको छ प्रति फोटोसहित अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ ।  

साथै प्रदेश सभा सचिवालयले प्रदेश सभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपि प्रदेश सभा सचिवालयमा उपलब्ध गराउन यसअघि प्रदेश सभाका सदस्यहरूलाई आग्रह गरिसकेको छ ।