• २० असोज २०८१, आइतबार

सडकमै फोहोर, वातावरण दुर्गन्धित

blog

नवीन शिशिर विक

बागलुङ, पुस १३ गते । बागलुङको जैमिनी नगरपालिका –१ कुश्मीसेरा बजारको फोहोर व्यवस्थापन नहुँदा सडकमै फोहोरको रास थुप्रिएको छ । नगरपालिका बजार क्षेत्रको फोहोर व्यवस्थापन नगर्दा सडक दुर्गन्धित बनेको हो । फोहोर व्यवस्थापनको लागि उचित स्थानको अभाव हुँदा स्थानीयले जैमिनीधाम–कुश्मीशेरा सडकमै फाल्ने थालेका हुन् ।

सडक छेउमा फालिएको फोहोरले यात्रा गर्ने सर्वसाधारण मर्कामा परेका छन् । सवारी तथा पैदल यात्रा गर्ने यात्रीले नाक छोपेर ओहोरदोहोर गर्न बाध्य भएका छन् । दक्षिण क्षेत्रको समाधिस्थल रहेको जैमिनीघाट जोड्ने सडकमै फोहोर थुप्रिएको छ । कुश्मीशेराको सोत भन्ने ठाउँमा नगरपालिकाले फोहोर फाल्दैआएको छ । 

कुश्मीसेरा बजारबाट निस्केको फोहोर सडक छेउमै फाल्ने, प्लास्टिक र बोतलहरू अव्यवस्थित तरिकाले जलाउने गरिएको स्थानीय शोभाप्रसाद शर्माले बताउनुभयो । फोहोरका कारण टार, किसेक लगायतको बस्ती दुर्गन्धित बन्दैगएको छ । प्लास्टिक र बोतलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ तर नगरपालिकाले कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरी फाल्नेगरेको स्थानीयको गुनासो छ ।

‘‘हामीले फोहोर व्यवस्थापनको माग गरेर २३ बुँदे मागपत्र समेत नगरलाई बुझाएका थियौँ तर बेवास्ता गरियो’’ शर्माले भन्नुभयो, ‘‘ठेउले खोलामा फोहोर फालिएको छ ।’  पालिकाले फोहोर फालिरहेको ठाउँ सामुदायिक वन क्षेत्रमा पर्छ ।  

फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले बताउनुभयो । ‘‘फोहोर व्यवस्थापन गर्न लाग्नु पर्ने हो’’ श्रीषले भन्नुभयो, ‘‘कुहिने र नकुहिने छुट्टाएर व्यवस्थापन गरेमा कुनै पनि बस्ती दुर्गन्धित हुँदैन ।’’

जैमिनी –१ कुश्मीशेराका वडाअध्यक्ष विष्णु आचार्यले फोहोर व्यवस्थापनका लागि सोतमा नै केही संरचना बनेको दाबी गर्नुभयो । उपयुक्त ठाउँको खोजी गरेर कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्ने भन्दै आचार्यले उपयुक्त विकल्पको विषयमा खोजी भइरहेको बताउनुभयो ।