• २० असोज २०८१, आइतबार

चिकित्सक सङ्घको अवधारणापत्र सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १३ गते । पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेल समूहले नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिले हुन गइरहेको निर्वाचनका लागि सात बुँदे अवधारणापत्र सार्वजनिक गरेको छ । सो समूहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी अवधारणापत्र सार्वजनिक गरेको हो ।

‘सुरक्षित पेसा खुसी चिकित्सक’ नारासहित प्रस्तुत गरेको अवधारणापत्रमा चिकित्सक एक र भूमिका अनेक हुने भन्दै विशिष्टीकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सक सेवा ऐन चाहिने उल्लेख गरेको छ । 

प्रगतिशील समूहले पढाइमा सधैँ अब्बल कमाइमा कहिले हुने सबल भन्ने अर्को एजेन्डा प्रस्तुत गरेको छ । प्रगतिशील समूहका अध्यक्ष प्रत्याशी डा. सन्तोष पौडेलले सबै डाक्टर एक पटक सरकारी डाक्टर भन्ने नारा  अघि सारेको छ । उहाँले सबै डाक्टरलाई रोजगारी र १० वर्षमा घरगाडीको अर्को एजेन्डा अघि सारेको बताउनुभयो । 

यसैगरी वैज्ञानिक डिउटी समय, अनिवार्य फोर्सलिभ, एक चिकित्सक एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा सुधार र रोजगारीको अवसर र सङ्घीयतामा कार्यान्वयनको आधार एनएमएमा सङ्गठनात्मक सुधार लगायतका एजेन्डा छन् ।

डा. पौडेलले नेपाल चिकित्सक सङ्घलाई स्वास्थ्य क्षेत्रको थिङ्क ट्याङ्कको रूपमा विकसित गर्ने योजना रहेको उहाँले बताउनुभयो । ७२ वर्षको इतिहास बोकेको संस्था चिकित्सक सङ्घले चिकित्सक र समग्र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न सक्ने दाबी गर्नुभयो । उहाँले हालको चिकित्सक सङ्घको नेतृत्व क्लबजस्तो भएको आरोप लगाउनुभयो । 

कार्यक्रममा डा. जागेश्वर गौतम, डा. कालुसिंह खत्री, डा. रक्षा श्रेष्ठले पनि प्रगतिशील समूहमा मतदान गर्न चिकित्सकसँग आग्रह गर्नुभयो । पेसागत समावेशी समूहबाट अध्यक्षमा डा. पौडेल रहनुभएको छ । यस्तै उपाध्यक्षहरूमा मधेश प्रदेशबाट डा. महेश महासेठ, बागमतीबाट डा. सञ्जय ठाकुर, गण्डकीबाट डा. विकास गौचन र सुदूरपश्चिमबाट डा. निरज अर्याल हुनुहुन्छ । प्रगतिशील समूहबाट महासचिव पदमा डा. रक्षा श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरूमा डा. अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ, डा. स्मृति महत र डा. सुरेन्द्र यादव रहनुभएको छ ।