• २० असोज २०८१, आइतबार

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादव । फाइल तस्बिर

काठमाडौं, पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताउनुभएको छ ।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढङ्गले उठाउने बताउनुभएको हो ।

पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने उहाँको भनाइ छ । नेता यादवले जसपा वर्तमान परिवर्तन र सङ्घीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताउनुभयो । मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिलालगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसदीय दलले पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई सङ्गठित रुपले हामीले जुन–जुन ठाउँमा उठाउनुपर्ने हो, संसदमा होस् । भविष्यमा सरकारमा जाने अवस्था आयो भने त्यहाँ, सडकको अवस्था आयो भने त्यहाँ पनि । प्रतिपक्षमा आयो भने त्यहाँ हाम्रो भूमिका सशक्त रुपले निर्वाह गर्नेछौँ । जनताले जे आशा, भरोसाका साथ जनता समाजवादी पार्टीलाई यो युगान्तकारी परिवर्तनको बाहक र सङ्घीयताको वाहक भनेको जसपा नेपाल जुन मुद्दालाई उठाउँदै अहिलेसम्म यहाँ अगाडि बढेको छ ।’’

नेता यादवले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भूमिका खेल्ने बताउनुभयो । उहाँले आफूले इमानदारी र निष्ठाका साथ काम गर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसदीय दलको नेताको जिम्मेवारी थप भएको छ । पहिलेदेखि पार्टीको जिम्मेवारी जे थियो त्यसमा थपिएको छ । यो जिम्मेवारीलाई पार्टीको विधान, पार्टीको निर्देशन, नीति, सिद्धान्त र जे एजेण्डा छ त्यसलाई प्रभावकारी रुपले इमानदारीसाथ, निष्ठाका साथ सदनमा म भूमिका निर्वाह गर्ने प्रयास गर्नेछु ।’’

नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।