• १९ असोज २०८१, शनिबार

हुस्सुका कारण उडान प्रभावित, अस्पतालमा बिरामी बढे

blog

शितलहर र हुस्सुले बाँकेमा दिउँसोको अवस्था । तस्बिर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, पुस १३ गते । बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 


शितलहरले गर्दा चिसो अत्यधिक बढेको कारण बिहान र बेलुका सडकमा सवारी साधन र मानिसको आवागमन निकै कम देखिएको छ । 


चिसो बढेका कारण नेपालगञ्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, बीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ । शितलहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । 


शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरू प्रभावित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकहरूलाई पनि यसले प्रभाव पारेको छ ।  

चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । 


शितलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगञ्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् । पहाडी जिल्लाहरू हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानहरू मध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । 


सोही प्रकारले सङ्घीय राजधानी काठमाडौँका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भइरहेको सो कार्यालयले जनाएको छ ।जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझाका अनुसार गत तीन दिनदेखि नेपालगञ्जको तापक्रम घट्दै गएको छ । मंगलबार र बुधबार तापक्रम झनै घटेर ७ देखि ८ डिग्रीसम्म पुगेको सो कार्यालयले जनाएको छ । 


यसैबीच, केही दिन यता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालहरूमा चिसोका बिरामीहरू पुग्ने क्रम फेरि बढेको अस्पतालहरूले जनाएका छन् । मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा एकसाता यता निमोनिया, ‘कोल्ड डायरिया’ र रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिकहरू आउने क्रम बढेको सो अस्पतालका निर्देशक डा। एम किदवाईले बताउनुभयो । 


उहाँले चिसो बढेसँगै बिरामीहरू पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभयो ।सोही प्रकारले भेरी अस्पतालमा पनि चिसोका बिरामीहरू आउने क्रम दिनानुदिन बढ्दै गएको सो अस्पतालका चिकित्सक डा। सङ्केतकुमार रिसालले बताउनुभयो । 


यस मौसममा खासगरी बालबालिकालाई बढी हेरचाह गर्नु पर्नेमा जोड दिँदै चिसोबाट जोगाउन न्यानो लुगा र आगोलगायत हिटरमा आफ्ना बालबालिकालाई राख्नुपर्ने शिक्षण अस्पताल नेपालगञ्जका बाल विशेषज्ञ डा। सकिल अहमदले बताउनुभयो ।