• १९ असोज २०८१, शनिबार

रत्नराज्यमा झडपः ४ जना विद्यार्थी नेता घाइते, एकजनाकाे अवस्था गम्भीर

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, पुस १३ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा चार जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयमा विद्यार्थी सङ्गठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।

रत्नराज्य क्याम्पसको अनेरास्ववियुका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताउनुभयो ।

उहाँले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताउनुभयो । घाइतेहरुको अहिले काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीको खुकुरी हानेर गभीर अवस्था छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगर लगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नुहुँदैन । उनीहरुलाई पढिरहेका छन् भने निलम्बन गर्ने, छैनन् भने पनि कारबाही गर्ने कुरा अघि बढाउनेछौँ । ४ जना समातिएका छन्, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्पसमा छैनन्, कुनै कमिटीमा छैनन् ।’

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी सङ्गठनमा नरहेको पनि बताउनुभयो । उहाँले आरआरमा खुकुरी प्रहार गर्नेहरु  निलम्बनमा पर्ने पनि बताउनुभयो ।