• १९ असोज २०८१, शनिबार

कांग्रेस संसदीय दलको निर्वाचन

संसदीय दलको नेतामा तामाङ र बानियाँको उम्मेदवारी

blog

तस्विरः इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा ।

राममणि दाहाल

हेटौँडा, पुस १३ गते । बागमती प्रदेशको प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदैछ । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङ र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको उम्मेदवारी परेको छ । तामाङ र बानियाँ दुवै संस्थापन पक्षका हुनुहुन्छ ।

संसदीय दलको नेताका लागि दरखास्तपछि उम्मेदवारको प्रथम नामावली प्रकाशन, उम्मेदवारको दरखास्तमाथि दाबी विरोध, दाबी विरोधमाथि जाँचबुझ र उम्मेदवारको दोस्राे नामावली मध्यान्ह १२ बजे प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ ।

यस्तै, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः४५ बजे गर्ने निर्वाचन कार्यक्रम छ । संसदीय दलको नेताको निर्वाचनका लागि मतदान बुधबार दिउँसो २ बजेबाट ३ बजेसम्म रहेको र मतदानपछि मतगणना गरी मत परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । 

२५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसको यस प्रदेशमा संस्थापन पक्ष हावी छ । कांग्रेस केन्द्रीय सदस्य तामाङ नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) बाट र कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित हुनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य लामाले पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुहुन्छ । प्रदेश सभा सदस्य भएपछि मुख्यमन्त्रीमा दाबी गर्ने अरुको पनि इच्छा हुन्छ नै उहाँले भन्नुभयो, पार्टीका नेताहरुले मुख्यमन्त्रीका लागि भनेकैले प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा नगरे प्रदेशमा आएको हुँ ।

उता, प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबी गर्नुभएका प्रदेश सभापति बानियाँले प्रदेश सभापति भएका कारण यो पटक संसदीय दलमा आफ्नो दाबीलाई स्वाभाविक हो, भन्नुहुन्छ । प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहनुभएका बानियाँ यसअघि संविधानसभा सदस्य हुँदै सङ्घीय सरकारको गृह र पर्यटन राज्यमन्त्री भइसक्नुभएको छ ।