• ११ असार २०८१, मङ्गलबार

अधिकांश ग्रह पुस महिनाभर हेर्न पाइने

blog

काठमाडौंं, पुस १२ गते । सौर्यमण्डलका सम्पूर्ण ग्रहमध्ये अधिकांशलाई पुस महिनाभर नाङ्गाे आँखाले र केही ग्रहलाई दूरबिन र टेलिस्कोपको सहायताले देख्न सकिने छ । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार आकाश सफा रहेको समयमा साँझपख सूर्यास्तसँगै बुध र शुक्र ग्रहहरु दक्षिण पश्चिम दिशामा केही समय अवलोकन गर्न सकिनेछ । 

यी दुई ग्रहहरु साँझ ६:३० बजेसम्ममा क्षितिजमुनि पुगिसक्ने भएकाले सिमित समयको लागि देख्न सकिने उहाँको भनाइ छ । बृहस्पति ग्रहलाई भने स्पष्ट र चम्किलो रुपमा पूर्व दक्षिणबाट मध्य रातिसम्म देख्न सकिनेछ । मङ्गल ग्रहलाई पूर्वउत्तरदेखि पश्चिममा साँझदेखि बिहानसम्म अवलोकन गर्न सकिने छ । 

औँसीपश्चात् चन्द्रमा पनि अर्ध चन्द्रकार स्वरुपबाट पूर्ण चन्द्रमासम्मको दृश्यमा ग्रहको अघिपछि पछ्याइरहेको मनोरम दृश्य पनि देख्न सकिनेछ । बुध, शु्क्र, शनि, बृहस्पति र मङ्गल ग्रहलाई नाङ्गाे आँखाले सजिलैसँग अवलोकन गर्न सकिनेछ भने दूरबिन र टेलिस्कोपको सहायताले शनि र बृहस्पतिको बीचमा वरुण ग्रह तथा बृहस्पति र मङ्गल ग्रहको बीचमा अरुण ग्रहलाई पनि अवलोकन गर्न सकिनेछ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।