• १२ असोज २०८१, शनिबार

चेलीबेटी बेचबिखनमा कमी

blog

माइती नेपालकाे पत्रकार सम्मेलन । तस्बिर – लीला झापाली

लीला झापाली

बिर्तामोड, पुस १२ गते । नेपालको पूर्वी नाका हुँदै नेपाली चेलीबेटीहरु भारतमा विक्री वितरणको घटनामा कमी आएको माइती नेपालले जनाएको छ । पत्रकार सम्मेलन गरी माइती नेपालका काँकडभिट्टा कार्यालय प्रमुख गोविन्द घिमिरेले अघिल्लो वर्षको तुलनामा यस वर्ष घटनामा कमी आएको विवरण पेस गर्नुभयो । 

नेपाल प्रहरी सशस्त्र प्रहरीसँगै माइती नेपालका कर्मचारीले समेत सीमा नाकामा बढी निगरानी गरेपछि अन्यत्र नाकाबाट चेलीबेटीलाई लैजाने दलालले अन्य झापाकै नाकाहरुको प्रयोग गरेको हुनसक्ने आशङ्का गर्नुभयो । हामीले यस वर्ष थप सचेतनाका कार्यक्रम गरेका थियौँ जसका कारण दलालहरुले अन्य मार्ग प्रयोगमा ल्याएको हुनसक्छन्, घिमिरेले भन्नुभयो । 

घिमिरेका अनुसार अघिल्लो वर्षमा २२ जना चेलीको उद्धार गरिएकोमा यस वर्ष १ जनाको मात्रै उद्धार गरिएको छ  । 

अघिल्लो वर्ष सन् २०२१ मा ६६ जना चेलीहरुको रोकथाम गरिएकोमा यस वर्ष सन् २०२२ मा यो सङ्ख्या १३४ जना छ । यसैगरी, अघिल्लो वर्ष ५८ जना चेली हराएको भनी निवेदन परेकोमा यस वर्षमा ७६ जना चेली हराएको निवेदन परेको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षमा मानव बेचबिखनमा १ वटा मुद्दा चलाइएकोमा यस वर्षमा २ वटा मानव बेचबिखनको मुद्दा चलाइको छ । अधिकांश मानव बेचबिखनका मुद्दाहरु गाउँघरमै मिलाइने गरेको पाइएको समेत घिमिरेले बताउनुभयो । बलत्कारसम्बन्धी विगतमा ३ वटा दर्ता गरिएकोमा यसवर्ष २ वटा मुद्दा दर्ता भएको छ । 

माइती नेपालले भारतका अन्य सामाजिक सङ्घ संस्थासँगको समन्वयमा नेपालबाट विक्री भएका चेलीहरुलाई उद्धार र पुनर्स्थापना गर्दै आइरहेको छ । वि.सं. २०५४ सालदेखि माइती नेपालले नेपालको पूर्वी नाका काँकडभिट्टामा आफ्नो शाखा कार्यालय राखेर सेवा प्रदान गरिरहेको छ ।