• १९ असोज २०८१, शनिबार

तीन स्थानीय तहमा दश झोलुङ्गे पुल थपिए

blog

गलकोट नगरपालिका–७ मा निर्माण गरिएको बामिया आँगाखेत झोलुङ्गे पुल । तस्बिर – नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, पुस १२ गते । बागलुङका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे पुल थपिएका छन् ।  गत आर्थिक वर्ष २०७८/०७९ मा ढोरपाटन नगरपालिकाकामा तीन, बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो । 

गत वर्ष निर्माण सम्पन्न गर्ने गरी कुल ३३ वटा पुलको सर्भे गरिएको थियो । सर्भे गरिएको ३३ वटामध्ये १० वटा सम्पन्न भएको र अन्य निर्माणाधीन  स्थानीय व्यवस्थापन संस्था बीवाईसी बागलुङका झोलुङ्गे पुल कार्यक्रम संयोजक प्रेम केसीले जानकारी दिनुभयो । 

ढोरपाटन नगरपालिका–२ सिमलचौर घाट, ढोरपाटन नगरपालिका–७ का पँधेरीघाट र ढोरपाटन नगरपालिका–९ को रासीबाङ्ग घाट,  बरेङ गाउँपालिका–२ को काउलाघाट, बरेङ गाउँपालिका–१ को दोभानखोला घाट , ताराखोला गाँउपालिका – २ को दोभानघाट , ताराखोला–३ को निस्दीखोला घाट, ताराखोला–३ को सादीघाट, ताराखोला–४ को दोगाडी घाट र ताराखोला–५ को मैन पकाउने घाट खोलामा पुल निर्माण गरिएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत स्थानीय तहले पुलको योजना छनोट र कार्यान्वयन गर्छ । नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौता अनुसार पुल निर्माण गर्न बागलुङमा झोलुङ्गे पुल सहयोग एकाइ (टीबीएसयु) र पीटीएपी पोखराले प्राविधिक सहयोग गर्दै आएको छ । 

टीबीएसयुले पुलको लठ्ठा, फलामै सामग्रीको व्यवस्थापन र वितरणमा स्थानीय तहसँग समन्वय गरेर काम गर्छ । कार्यक्रम संयोजक केसीका अनुसार १२० मिटरसम्मका पुल उपभोक्ता समिति र त्यसभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गर्छ । 

सङ्घीय सरकारले पुल निर्माणको लागि सशर्त बजेट उपलब्ध गराउँछ । कुल बजेटमध्ये पुल क्षेत्रगत कार्यक्रमको ८५ प्रतिशत, स्थानीय तहको १३ प्रतिशत लगानी र २ प्रतिशत जनश्रमदानको प्रावधान रहेको केसीले जानकारी दिनुभयो । 

जिल्लामा पुल रणनीति २०६२ अनुसार पुल निर्माणको काम भइरहेको छ । विस २०७६ भदौसम्म जिल्लाभर ४५३ वटा पुल छन । चालु आर्थिक वर्षमा २५ वटा पुल निर्माण गरिने कार्यक्रम संयोजक केसीको भनाइ छ । सबै पुलको गत सर्भे गरिएको थियो । 

बागलुङ नगरपालिकामा दुई, काठेखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा सात र जैमिनी नगरपालिकामा पाँच वटा पुल निर्माण हुनेछन् ।