• १९ असोज २०८१, शनिबार

महिला नेतृत्वले फेरिएको सामुदायिक वन

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, पुस १२ गते  । परम्परादेखि नै ग्रामीण महिलाको प्राकृतिक स्रोतसँग अन्योन्याश्रित सम्बन्ध रहिआएको छ। वनजङ्गल महिलाका जीवनको अभिन्न अङ्ग हुन्। कृषि पेसासँग आबद्ध महिला घाँसदाउरा, स्याउला, जडीबुटीजस्ता वन पैदावारमा निर्भर मात्र रहेका छैनन्; बरु उनीहरू वनजङ्गल र वातावरण संरक्षण एवं व्यवस्थापनजस्ता गहन जिम्मेवारी लिनसमेत विगतदेखि तयार भएर आएका छन्।

भीममाया तामाङ अध्यक्ष रहेको त्रिवेणी सामुदायिक वनको अवस्था आजभन्दा दुई दशकअगाडि उजाड थियो। पहाडबाट बसाइँ सरी आउने जङ्गलको छेउमा थोरै जग्गा लिने अनि जङ्गल अतिक्रमण गर्दै जग्गा बढाउने कार्य हुन्थ्यो। चारैतिर बस्ती रहेको सो सामुदायिक वन क्षेत्र साँघुरिँदै गएको  थियो भने अनियन्त्रित घाँसदाउरा निकासीले वन उजाड बन्दै थियो। 

सामुदायिक वन भएसँगै २०५५ सालमा उक्त वनको अध्यक्षमा तामाङ आएपछि वनको हैसियत मात्र फेरिएन; आम्दानीको स्रोतसमेत बनेको छ। कैलालीको घोडाघोडी नगरपालिका–१ मा रहेको सो वनका अहिले पनि अध्यक्ष रहनुभएका तामाङले पहिलाको अवस्थामा अहिले वनको अवस्था निकै राम्रो भएको  बताउनुभयो। उहाँले भन्नुभयो, “छोड्ने प्रयास धेरै पटक गरेँ तर मैले गरेको काम र मैलेजस्तो नेतृत्व लिने अर्को नभएपछि मलाई नै उपभोक्ताले अध्यक्षमै निरन्तरता दिएका छन्।”

सामुदायिक वनको २४ वर्षे कार्यकालमा अध्यक्षको भूमिकामा रही वन संरक्षण र व्यवस्थापनमा काम गर्दा आफूले धेरै खप्की र धम्की झेल्नु परेको अनुभव तामाङसँग छ। अध्यक्ष तामाङले भन्नुभयो, “पहाडबाट बसाइँ सरेर आउनेहरू जङ्गलको किनारमा थोरै जग्गा लिने अनि अतिक्रमण गरेर जग्गा बढाउँदै जाने समस्या अझै पनि छ। प्रहरी, वन कर्मचारीसँग हारगुहार गर्दै अतिक्रमण रोक्ने प्रयास ग-यौँ।”

६३ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिवेणी सामुदायिक वनमा अहिले २१३ जना उपभोक्ता छन्। उपभोक्तालाई घाँसदाउराका लागि वर्षमा एक पटक पुर्जी कटाई घाँसदाउराका लागि वन खोलिन्छ। अध्यक्ष तामाङले भन्नुभयो, “यो वर्ष भर्खरै खोलेका छौँ। झाडी सफाइ गर्ने, ढलेका, सुकेका दाउरा निकासी समूहगत रूपमा गर्छौं।”

घोडाघोडी नगरपालिकामा महिलाले नेतृत्व गरेका तीनवटा सामुदायिक वन छन्। टेग्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले आफ्नो वनमा ११० जना उपभोक्ता सबै महिला रहेको बताउनुभयो। ४२ हेक्टर क्षेत्रफलमा रहेको विश्व सिमसार क्षेत्र घोडाघोडीसँग जोडिएको टेग्नुवा सामुदायिक वनको वरपर मानव बस्ती छ। तीनै बस्तीका मान्छे नै उपभोक्ता छन्।

“सानो क्षेत्रफल भएको वन चारैतिर बस्ती संरक्षणमा निकै चुनौती छ तर पनि वन हेरालु राखेर, आफैँ घुमेर वनको संरक्षण गर्दै आएका छौँ,” अध्यक्ष ढकालले भन्नुभयो। २०६१ सालदेखि निरन्तर अध्यक्ष रहँदै आउनुभएका ढकालले आफूले नेतृत्व लिएपछि अतिक्रमण क्षेत्रमा तारबार गर्नुका साथै वृक्षरोपण गरेर वनको हैसियत राम्रो बनाएको बताउनुभयो। 

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले महिलाले नेतृत्व गरेको सामुदायिक वन व्यवस्थापन पुरुषको भन्दा राम्रो भएको बताउनुभयो। उहाँले संरक्षणको पाटोमा महिला इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुका साथै सुशासनमा समेत पारदर्शी भएको बताउनुभयो।