• १७ वैशाख २०८२, बुधबार

गौतमलाई राष्ट्रिय लेखक पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १७ गते । तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आख्यानकार ध्रुवचन्द्र गौतम ‘राष्ट्रिय लेखक पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली लेखक सङ्घद्वारा मङ्गलबार आयोजित कार्यक्रममा आख्यानकार गौतमलाई राष्ट्रिय लेखक पुरस्कारबाट सम्मान गर्नुभएको हो । नेपाली साहित्यमा विशेष योगदान दिनुभएका वरिष्ठ साहित्यकार गौतमको सम्मानका लागि सो पुरस्कार प्रदान गरिएको हो । 

मन्त्री पाण्डेले लोकतन्त्र र लेखक एकअर्काको पर्याय रहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको अवसरमा लेखकले आफ्ना कलमको माध्यमबाट आशावादी विचारधारा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तामा निराशाको बोझ थपेर विदेश पलायन हुन प्रेरित गर्नुभन्दा देशमै सम्भावना खोज्ने हो भन्ने बलियो प्रेरक विचार निर्माणमा लेखकले साहित्यका विभिन्न विधामार्फत सहयोग गर्न सक्ने बताउनुभयो । मन्त्री पाण्डेले नेपाली लेखकका स्तरीय गीतकै कारण नेपाली गीत/सङ्गीतको क्षेत्र र राम्रा कथाका कारण नेपाली चलचित्र क्षेत्रले राम्रो आम्दानी गर्न थालेको बताउनुभयो । 

आख्यानकार गौतमबारे सर्जक अनुपमा रेग्मीले प्रकाश पार्दै गौतमले नेपाली साहित्यमा २९ वटा आख्यान, कथा, कविता, गीत गरी ४५ वटा कृति लेखेको बताउनुभयो । डा. रत्नमणि नेपालले लेखक दिवस मनाउनुको औचित्यबारे चर्चा गर्दै लेखकहरूको पहिचान र लेखक सङ्गठित हुनका लागि दिवस मनाउन थालेको बताउनुभयो । सो अवसरमा वरिष्ठ साहित्यकार कवि वैरागी काइँला, डा. तुलसी भट्टराई, डा. बेन्जु शर्मा, प्राडा हेमाङ्गराज अधिकारी, डा. गोविन्दराज भट्टराई, डा. रत्नराज आचार्य, डा. कुलप्रसाद कोइराला, हरि अधिकारी, भक्तबहादुर बलायर, सनत रेग्मीलगायत ३२ जनालाई मानार्थ लेखक सम्मान प्रदान गरिएको थियो ।