इमान सिं राना
रामपुर (पाल्पा), पुस ६ गते । इलाका प्रशासन कार्यालय रामपुरमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत उप–केन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीमा जान चाहाने तथा रोजगारीको शिलशिलामा प्रवासमा रहेका नागरिकहरुको समस्या समाधानका लागि सहजिकरणसँगै आवश्यक कानुनी परामर्श प्रदानका लागि उप–केन्द्र स्थापना गरिएको हो ।
इलाका प्रशासनको भवनमा स्थापना गरिएको उप–केन्द्रको रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा र पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले संयुक्त रुपमा उट्घाटन गर्नुभएको हो । रामपुर नगरप्रमुख रमणबहादुर थापाले उप–केन्द्रले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन र रोजगारी रहेका नागरिकको समस्या न्यूनीकरणका लागि महत्त्वपूर्ण टेवा दिने बताउनुभयो । स्थानीय सरकारले स्वदेश मै युवाहरुलाई स्वरोजगार सृजनाका लागि कार्यक्रम सञ्चालन गरे पनि युवाहरुलाई आकर्षण कम रहेको बताउनुभयो ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले वैदेशिक रोजगारीका सुरक्षित बनाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले वैदेशिक रोजगार बाट प्राप्त पुँजीको सही व्यवस्थापन र पूँजी निर्माणमा थप टेवा दिन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले वैदेशिक रोजगारीको क्रममा देखिएका समस्या समाधानका लागि सबै सरोकारवालाहरु एकजुट भएर लाग्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै गर्दा राहत र उद्धारका लागि थप चुनौती देखिएको बताउनुभयो ।
एनआरएनए युएईका अध्यक्ष भीम मल्ल ठकुरीले वैदेशिक रोजगारीको क्रममा देखिएको समस्याको बारेमा जानकारी दिनुहुँदै बिचमै कम्पनी छाडेर भाग्ने, कम्पनी भनेर जाने तर घरेलु कामदारको रुपमा बस्नुपर्ने समस्या बढ्दै गएको बताउनुभयो । एनआरएनएले पनि नेपालीहरुको समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा सामीका लुम्बिनी प्रदेश कार्यक्रम व्यवस्थापक विजय ठाकुरले वैदेशिक रोजगारले दिएको योगदान, चुनौती, समस्याको विषयमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो । उहाँले सन २०११ म दुई जिल्ला बाट सुरु भएको कार्यक्रम चौथो चरणमा ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालनको क्रममा रहेको बताउनुभयो । सामी कार्यक्रमका पाल्पा जिल्ला संयोजक दिनेश घिमिरेले उप–केन्द्रले वैदेशिक रोजगारमा जानु पूर्व इलाका प्रशासनमा राहदानीको लागि आवेदन दिन आउने सेवाग्राहीहरुलाई सूचना तथा परामर्श सेवा, कानुनी परामर्श तथा कानुनी सहजिकरण, सीप विकास तालिमको लागि सहजिकरण लगायतका सेवा प्रदान गर्ने बताउनुभयो । वैदेशिक रोजगारको क्रममा समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि पहल उप–केन्द्रबाटै गरिने उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालय र स्थानीय तहहरुको सहकार्यमा पाल्पाका १० वटै स्थानीय तहमा सामी कार्यक्रम सञ्चालनमा छ ।