रमेश विश्वकर्मा
गुल्मी, पुस ६ गते । पत्रकारसँगको मैत्रीपूर्ण क्रिकेट खेलमा कलाकार टोली विजयी भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा प्रतिष्ठान र
पाहुना टोली नेपाल पत्रकार महासङ्घ गुल्मीबिच मैत्रीपूर्ण क्रिकेट खेल
सञ्चालन भएको थियो । कलाकार टोलीले पत्रकार टोलीसँग ६९ रनको विजयी हासिल गरेको छ ।
कलाकार टोलीले दिएको १९६ रनको बिशाल लक्ष्य पछ्याएको पत्रकार टोलीले तीन विकेट गुमाउँदै मात्रै १२६ रन बनाउन सक्यो । पत्रकार टोलीबाट सुमन महताराले ३२, सन्तोष महताराले २३ र टोपलाल अर्यालले २० रन बनाउनुभयो । कलाकार टोलीका बाबुराम पाण्डेले २ र बसन्त खत्रीले १ विकेट ल्याउनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको कलाकार टोलीले निर्धारित १६ ओभरमा मात्रै ३ विकेट गुमाएर १९५ रन बनायो ।
हिमाल कुँवरले ५५, बाबुराम पाण्डेले ५३ र मोहन बस्नेतले १७ रन बनाउनुभयो । पत्रकार टोलीका सुमन महताराले दुई विकेट ल्याउनुभयो । अन्तिम बलमा ३ रन लिने क्रममा लोकन्द्र कुँवर बलर डिबी खड्काबाट रनआउट हुनुभएको थियो । इस्मा गाउँपालिका–१ बीपी पार्कस्थित अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानमा सम्पन्न खेलमा इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले खेलको उद्घाटन गर्नुभयो ।
उहाँले मैत्रीपूर्ण खेलले मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्ने र पत्रकार तथा कलाकार टोली यसरी आफूहरूले तयार गरेको मैदानमा आएर खेल्नुले आफूहरूलाई थप हौसला प्रदान गर्ने बताउनुभयो। सधैं कला र कलम सँगसँगै रहेकोले थप मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।