• १६ भदौ २०८१, आइतबार

दस हजार फिटबाट खस्दा पनि बाँचेकी जुलियान

blog

पृथ्वीमा खसेपछिको बिहान जुलियान डिलरको आँखा खुल्यो पेरुको सघन वर्षा वनमा, उनीलाई त्यस अवस्थामा आफूमाथि नै विश्वास थिएन । अघिल्लो दिन अपराह्न अर्थात् सन् १९७१ मा क्रिसमसको पूर्वसन्ध्यामा १७ वर्षीया जुलियान र उनकी आमा युकाली नदीसँगै बसेको बन्दरगाह सहर पाकल्पा जान लिमाबाट उडान भर्ने विमानमा सवार भए ।

उनीहरूको गन्तव्य थियो अमेजनको मध्यमा रहेको जैविक अनुसन्धान केन्द्र प्याङ्गआना । जहाँ उनी कहिले आफ्नो आमा मारिया त कहिले बुवा हान्स विल्हम काओक्पीका साथमा तीन वर्ष बसेकी थिइन् । उनका बावुआमा दुवै प्राणीविज्ञान विज्ञ थिए । 

उनीहरू सवार विमानको उडान समय लगभग एक घण्टा थियो । लकहिड एल–१८८ ए इलेक्ट्रा विमान उडान भरेको करिब २५ मिनेटपछि घनघोर बादलले घेरियो र नराम्रोसँग हल्लिन थाल्यो । माथि राखिएका सामान तल खस्न थाले । यात्रु र चालक दलका सदस्यहरूको सामान यत्रतत्र छरियो । 

त्यस दिनको सम्झना गर्दै जुलियन भन्छिन्, “मसँगै बसेकी मेरी आमाले भनिन् ‘आशा गरौँ, सब ठिकठाक हुनेछ ।’ तर म उनी आत्तिएको महसुस गर्न सक्थेँ । मैले धैर्य बनाइराख्ने कोसिस गरेँ ।” जुलियन हाल जर्मनीको म्युनिखमा बस्छिन् र बाभारियन स्टेट कलेक्सन अफ जुलोजीको सहनिर्देशक पदबाट उनी हालै अवकाश भएकी हुन् । 

पछाडिको पङ्क्तिको झ्यालसँगै बसेका एक किशोरले विमानको दायाँ पखेटामा चट्याङ परेको देखे । जुलियन सवार विमान एकाएक घनघोर बादलले घेरिएको थियो, चारैतिर अँध्यारो नै अँध्यारो । त्यसको १० मिनेटपछि विमान ठूलो सङ्कटमा प¥यो । जुलियनले आफ्नो पुस्तकमा लेखेकी छन्, “जब मैले विमानको चारैतिर चट्याङ देखे, धेरै डर लाग्यो ।

आमा र मैले एकअर्काको हात समात्यौँ, हामी बोल्न सक्ने अवस्थामा थिएनौँ । विमानमा कोलाहल मच्चिएको थियो । करिब १० मिनेटपछि मैले बायाँतिर इन्जिनको बाहिर निकै चम्किलो प्रकाश देखेँ । मेरी आमाले सुस्तरी भनिन्, ‘सक्कियो अब ।’ आमाका ती अन्तिम शब्द अभैm पनि मेरो मानसपटलमा ताजै छन् ।”

चुच्चो सोझ्याएर विमान तलतिर सुइँकिदा चारैतिर अन्धकार थियो र यात्रुहरू रुँदै, कराउँदै थिए । त्यसपछि इन्जिनको भयङ्कर आवाज आयो र एकछिनमै आवाज आउन बन्द भयो । जुलियन अब आकाशमा  फन्को मार्दै थिइन् । 

जुलियन हावामै बेहोस् भइन्, उनलाई तल पछारिएको कुनै सम्झना छैन । विमान आकाशमै टुक्राटुक्रा भएको कुरा उनले उद्दार भएपछि मात्र थाहा पाइन् ।  

भोलिपल्ट होस् आएपछि मात्र उनले आफू दुर्घटनाबाट बचेको थाहा पाइन् । “मैले आमालाई बोलाएँ तर मैले त जङ्गलको आवाज मात्र सुनँे । म त्यहाँ एक्लै थिएँ ।”

जुलियन दुर्घटना हुँदाको बखत सम्झँदै भन्छिन्, “अर्को कुरा मलाई के थाहा भयो भने म विमानभित्र छैन, खुला आकाशमा हावामा छु । मैले विमान छाडेकी थिइनँ, विमानले मलाई छाडेको थियो ।”

तीन जनाको सिटबेन्चमा बेल्टले बाँधिएकी जुलियन आकाशबाट खस्न थालिन्, उनी बसेको सिटबेन्च लट्टुजस्तै घुमिरहेको थियो तथा तल जङ्गल कुनै ठूलो छातासरह देखिन्थ्यो ।

“माथिबाट हेर्दा रुखहरू ब्रोकाउली जस्तो देखिँदै थिए,” डा. जुलियनले सुनाइन् । त्यसपछि उनलाई सम्झना भएन, बेहोस् भइन् । क्रिसमसको बिहान जुलियनलाई होस् आयो, उनी बेन्चमुनि थिइन् र उनको लुगा च्यातिएको थियो ।  

जुलियन लगभग १० हजार फिट माथिबाट तल खसेकी थिइन् । यस्तो विश्वास गरिन्छ, उनी बसेको सिटबेन्च अत्यधिक झारपात भएको स्थानमा खसेका कारण धक्का कम लागेको हुनुपर्छ । त्यस दुर्घटनामा जुलियन मात्र बाँचिन् । 

अचम्मको कुरा त के भने जुलियनलाई खासै गम्भीर चोट लागेको पनि थिएन । काँधको हड्डी भाँचिएको, घुँडा मर्किएको तथा दायाँ काँध र बायाँ पिँडौलामा घाउ भएको अवस्थामा उनी फेला परेकी थिइन् । उनको एउटा आँखा सुन्निएको र आँखाको दृष्टिमा अलि असर परेको थियो । पहिलेदेखि नै उनीमा नजिकको दृष्टि कमजोर थियो र दुर्घटनामा उनको चस्मा हरायो । यसबाट उनलाई थप समस्या आइपरेको थियो । 

जुलियनले जमिनमा पछारिएपछि होस् आउँदाको क्षण सम्झना गर्दै भनिन्, “म त्यहीँ पल्टिरहँे, जसरी दिन–रात भ्रूणावस्थामा हुन्छ ।”

उनले सन् २०११ मा जर्मनीमा प्रकाशित गरेको आफ्नो पुस्तक ‘ह्वेन आई फल फ्रम दि स्काई’मा लेखेकी छन्, भोलिपल्ट बिहानसम्म म त्यसै लडिरहेँ, म निथ्रुक्क भिजेकी, हिलो र माटोले ढाकिएकी थिएँ । रातदिन वर्षा भइरहेको थियो । 

जुलियन चराहरूको चिरबिर, भ्यागुताहरूको टरटर तथा कीराहरूको हुनहुन सुन्न सक्थिन् । “मैले प्याङ्गुआनाका जङ्गली जनावरको आवाज चिनँे तथा म त्यही जङ्गलमा छु र दुर्घटनामा आफू बाँचेको महसुस गरेँ । मैले जे जस्तो अनुभूति गरेँ त्यो डरलाग्दो थिएन तर एकाकीपनाको असीमित अनुभव थियो ।”

मानसिक आघात परेकी, दृष्टिविहीन रहेको अवस्था तथा जीवन निर्वाहका लागि चकलेटको एउटा सानो झोला साथमा लिएर जुलियन हिम्मत गरेर डरलाग्दो अमेजनमा अगाडि बढ्न थालिन् । उनलाई थाहा थियो त्यहाँ आठ फिट लामा गोही छन्, विषालु सर्प र माकुरा जहाँतहीँ छन्, डङ्क हान्ने मौरी, लामखुट्टे, विषालु डङ्क हान्ने नदीका घातक स्टिङ्ग्रे माछाले कदम कदम जोखिमले भरिएको छ । 

यो वर्षायामको मध्य समय चलिरहेको थियो, त्यसैले टिप्न सक्ने उचाइमा कुनै फलफूल पनि थिएन । आगो बाल्नका लागि सुक्खा झारपात पनि त्यहाँ उपलब्ध हुने भएन । नदीको पानीबाट जुलियनले अलिकति पोषण पाइन् । एघार दिनसम्म अत्यधिक गर्मीबीच पनि उनी हिँडिरहिन् र परेको स्थानमा पौडिन पनि पछि परिनन् । 

सो विमान दुर्घटना भएको ५० वर्ष पूरा भइसकेको छ । यी वर्षमा जुलियनले जर्मनी बसाइँ सारिन् र प्राणीशास्त्रमा विद्यावारिधि गरिन् । सन् १९८१ मा जुलियन स्नातक अध्ययन पूरा गर्ने क्रममा जैविक अनुसन्धान केन्द्रमा गइन् र त्यहाँ उनले १८ महिना बिताइन् । उनले चमेरोका विषयमा विद्यावारिधि गरिन् । १९ वर्षपछि उनी प्याङ्गुआना केन्द्रको निर्देशक भएकी थिइन् । 

जुलियन भन्छिन्, “मानव बसोबास क्षेत्रमा पुग्न मैले ११ दिन एक्लै पदयात्रा गरेका बेला मैले आफैँसँग वाचा गरेकी थिएँ यदि म बाँचेँ भने मैले मानवता र प्रकृतिको सार्थक सेवामा आफ्नो जीवन समर्पित गर्ने छु ।”

त्यही कारणले हुनुपर्छ सन् १९७० को दशकमा स्थापित पेरुको सर्वाधिक पुरानो अनुसन्धान केन्द्रमा जुलियन र उनका बुवाले काम गर्दै प्याङ्गुआनाको सरसफाइ गर्ने तथा सिकार र मानव अतिक्रमणमुक्त बनाउन सरकारसँग पहल गर्न थाले । अन्ततः सन् २०११ मा प्याङ्गुआनालाई निजी संरक्षण क्षेत्र घोषणा गरियो । 

सन् १९७१ मा दुर्घटनास्थलबाट जुलियन लामो पदयात्रा गर्दै एक खहरे खोला हुँदै अगाडि बढिन्, त्यसैको पानीमा हिँड्न थालिन् । त्यो पछि एक डरलाग्दो नदीमा गएर मिसियो । आफ्नो अग्निपरीक्षाको एघारौँ दिनमा उनी वनकर्मीहरूको एक शिविरमा पुगेकी थिइन् । उनीहरूले जुलियनलाई कसाभा (एक प्रकारको वन तरुल) खुवाए । जुलियनका खुला घाउको उपचार गरिदिए । भोलिपल्ट वनकर्मीहरूले उनलाई एक गाउँमा लिएर गए र त्यहाँबाट उनको उद्धार गरियो ।  

घुँडामा चोट लागेको भए पनि उनी हिँड्न सक्ने अवस्थामा थिइन् । उनी उद्धारको पर्खाइमा बसिनन् । उनी भन्छिन्, “विमानका अवशेष र उद्धारका लागि आकाशमा उडिरहेका विमानको आवाज म सुन्न सक्थेँ तर जङ्गल धेरै नै घना थियो र मैले ती विमान देख्न सकिनँ । मैले लगाएको एउटा स्यान्डल हराएको थियो तर पनि मैले अर्को आफैँसँग राखेँ किनभने मेरो चस्मा मसँग थिएन र म नजिक देख्न सक्दैनथेँ । त्यसैले मैले आफ्नो अगाडिको जमिनको अवस्था थाहा पाउन बाँकी रहेको स्यान्डल प्रयोग गरेँ ।”

जुलियनले हिँड्दै जाँदा एउटा खहरे खोला देखेपछि त्यसैको पानीमा उत्रेर अगाडि बढ्न थालिन् । उनी भन्छिन्, “किनभने जमिनमा भन्दा त्यस खोलाको पानीमा हिँड्नु सुरक्षित थियो । दुर्घटनास्थलमा फेला पारेको एक झोला चकलेट खाएर सकेपछि मलाई भोकै मरिने डर भयो ।”

चौथो दिन उनले ठूला गिद्धको आवाज सुनिन् । आमाबाबासँग अनुसन्धान केन्द्रमा रहँदा उनी ती गिद्धको आवाजसँग परिचित भएकी थिइन्  । गिद्धको आवाज सुनेर उनलाई डर लाग्यो किनभने उनले ठानिन्, गिद्ध आउनु भनेको त पक्कै पनि त्यहाँ दुर्घटनामा परेका यात्रुको शव हुनुपर्छ । 

“जब खोलाको किनारतिर मैले हेरेँ जमिनमा टाउको बजारिएका तीन यात्रु देखेँ । उनीहरू तीनसिटे बेन्चमा सिटबेल्टले बाँधिएको अवस्थामा थिए । मेरो सातो गयो, मैले जीवनमा पहिलो पटक शव देखेको थिएँ । मैले सोचेँ मेरी आमा तीमध्ये एक होलिन् तर जब मैले सानो लट्ठीले शवहरू चलाएँ, महिलाको बूढीऔँलामा नेल पोलिस लगाएको देखेँ, मेरी आमाले कहिल्यै नेलपोलिस लगाउँदैनथिन् । मलाई तत्काल राहत महसुस भयो तर त्यस सोचाइले पिरोल्यो पनि ।”

दसौँ दिनसम्म आइपुग्दा उनी धेरै थकित भइसकेकी थिइन्, मुर्छा हुने अवस्थामा पुग्न लागिन् । उनले आफू हिँड्दै गरेको खोला ठूलो नदीमा मिसिन लागेको देखिन् । त्यत्तिकैमा उनले एक ठूलो डुङ्गा देखिन् तर उनलाई त्यसमा विश्वास भएन, भ्रम हो जस्तो लाग्यो । “जब मैले त्यसलाई छोएँ, त्यो त साँच्चै रहेछ, अनि शरीरमा गजबको सञ्चार भयो । त्यसपछि मैले जङ्गलमा एउटा सानो बाटो देखेँ, त्यहाँबाट अगाडि बढ्दा पामका पातले छाएको एक सानो झुप्रो पनि भेटियो । त्यसको बाहिर एउटा गाडी र पेट्रोल थियो ।” जुलियनले त्यस दिनको घटना यसरी सुनाइन् । 

घरमा आफ्नो कुकुरलाई लागेको घाउमा कीरा पर्दा बुवाले त्यसमा पेट्रोल हालेको उनले देखेकी थिइन् । उनले अगाडि भनिन् “यसै कारण मैले घाउमा पेट्रोल हालेँ, घाउमा एक सेन्टिमिटर जति लामा कीरा परेका थिए । पेट्रोल हाल्दा असाध्यै दुख्यो किनभने बाँच्नका लागि कीराले घाउभित्र जान खोजे । मैले लगभग ३० कीरा घाउबाट निकालँे, बहादुरी गरेको जस्तो पनि लाग्यो । त्यस दिन मैले त्यहीँ रात बिताउने निधो गरेँ र त्यहीँ बसेँ । भोलिपल्ट छाप्रो बाहिर धेरै मानिसको आवाज सुनेँ । मलाई त देवदूतको बोली जस्तै लाग्यो ।” 

बाहिरका मानिसले जब जुलियनलाई देखे, उनीहरू सचेत भए र टक्क रोकिए । जुलियनले सुनाइन्, “उनीहरूले मलाई एक खालको जलदेवी ठाने तर मैले स्पेनी भाषामा आफ्नो परिचय दिएँ र घटना सविस्तार लगाएँ । उनीहरूले मेरो घाउको उपचार गरे र मलाई खाना दिए, अर्को दिन मलाई लिएर गाउँ गए । मेरो उद्धार भएको दिन मैले आफ्नो बुवालाई देखेँ, उहाँ कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्थेन । सुरुमा त हामी अङ्गालोमा बाँधियौँ मात्र ।”

त्यसपछिका केही दिन जुलियनका बुवा आफ्नो श्रीमतीको खोजीमा लागे । कहीँ कतैबाट केही समाचार प्राप्त हुन्छ कि भनेर उनी दिनरात चनाखो भएर बसे । अन्ततः जनवरी १२ मा जुलियनको आमाको शव प्राप्त भयो । 

जुलियनले आमाको सम्झना गर्दै आफ्नो पुस्तकमा लेखेकी छन्, “मैले थाहा पाएँ, उहाँ पनि दुर्घटनामा बाँच्नु भएको रहेछ तर नराम्रोसँग चोट लागेका कारण उहाँले हिँडडुल गर्न सक्नुभएन । केही दिनपछि उहाँको निधन भयो । आफ्ना अन्तिम दिन उहाँले कसरी बिताउनु भएको होला सम्झेर म आजसम्म झस्किन्छु ।”