• १२ असोज २०८१, शनिबार

सुनसरी–मोरङ कोरिडोरमा थपियो ठूलो उद्योग

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस ९ गते । कोभिड–१९ सङ्क्रमणपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ठूलो लगानीमा नयाँ डन्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहबी नगरपालिका–१, परास्टोकीमा दुई अर्ब ५० करोड रुपियाँको लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो । 

रडको बिलेटको समेत व्यावसायिक कारोबार गर्ने गरी उद्योग सञ्चालनमा आएको रमेश राठीले जानकारी दिनुभयो । उद्योगको क्षमता दैनिक पाँच सय टन रहेको छ । उद्योगका उत्पादनबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योगी राठीले ‘बजरङ्ग’ ब्रान्डमा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिम उत्पादन गरेर बजारमा पठाइसकिएको जानकारी दिनुभयो । यसले परीक्षण उत्पादन काल पूरा गरेर नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको जानकारी दिइएको छ । 

यो उद्योगमा उद्योगी राठीसहित उद्योगपतिहरू राजकुमार गोल्छा, जीवन रिजाल, मदन रिजाल र फरहानको साझेदारी रहेको छ । यो उद्योगले टीएमटी छड उत्पादनमा बढी ध्यान दिने अर्का साझेदार राजकुमार गोल्छाले जानकारी दिनुभयो । यो उद्योगले सात एमएमदेखि ३२ एमएमसम्मका टीएमटी छड उत्पादन गर्नेछ । नेपालका लागि यो नयाँ र अत्याधुनिक प्रविधि भएको गोल्छाले जानकारी दिनुभयो । छडमा ग्रिप्रिड उच्चस्तरको रहेकाले मसलाले बलियोसँग समात्न सक्ने र लचकदार रहेको उहाँले बताउनुभयो । यो ५०० ग्रेडको रड भएको दाबी छ । 

युरोपियन टेक्नोलोजीको प्रयोग भएकाले उद्योगका मेसिन पूर्णतः स्वचालित प्रणालीमा आधारित रहेको अर्का सञ्चालक जीवन रिजालले जानकारी दिनुभयो । तौलको समानता र गुणस्तरमा एकरूपता रहेको र प्रयोगशालाको स्पेक्ट्रो मेसिनले कमिकल परीक्षण गरेपछि मात्रै डन्डी उत्पादन हुनेछ । यसले भारतको टाटा स्टिलबाट कच्चा पदार्थ आयात गर्ने भएको छ । स्पन्ज आयात गरेर नेपालमा रहेको स्क्राब्ब प्रयोग गरिने भएको छ । 

“यहाँ ठूलाठूला पूर्वाधार परियोजनाको सम्भावना धेरै छ, जसलाई ध्यान दिएर उत्पादन गर्ने लक्ष्य राखिएको छ,” उद्योगी राठीले भन्नुभयो । अहिले यो उद्योगले ६० प्रतिशत उत्पादन गरिरहेको छ । प्रारम्भमै उत्पादनको माग बढेकाले माघदेखि पूर्ण क्षमतामा उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।