• ९ मंसिर २०८१, आइतबार

हस्तान्तरण नहुँदै जीर्ण बन्यो स्वास्थ्य चौकी भवन

blog

अस्तव्यस्त रुपमा रहेको वालिङ –१० को शहरी स्वास्थ्य केन्द्रको भवन । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, पुस ८ गते । गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलव्ध हुने विश्वास लिएका वालिङ –१० का नागरिक फेरि चिन्तित  बनेका छन् । शहरी स्वास्थ्य केन्द्रले भवन निर्माण गरेको दुई वर्षमै जीर्ण बनेपछि यहाँका नागरिक चिन्तित बनेका हुन् । 

भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छैन, तर निकै जीर्ण हुँदैगएको छ, स्थानीय युवा नारायणप्रसाद पंगेनीले भन्नुभयो, “राज्यको सम्पत्ति बालुवामा पानी भएको छ, तर कसैलाई चासो छैन ।” दुई वर्ष अगाडि नै निर्माण भएको भवन हो, तर यस्तो अवस्थामा रहनु साह्रै दुःखद हो उहाँले भन्नुभयो ।

“भवन निर्माण गुणस्तरहीन हुँदा नराम्रोसँग चर्केको छ, शौचालय प्रयोग गर्नै नमिल्ने छ, धाराको पाइप फुटेर रसाउने समस्या भएको छ, नयाँ भवन भन्न पनि लाजै लाग्ने अवस्थामा छ” अर्का युवा सूर्यप्रसाद पौडेलले भन्नुभयो । 

शहरी स्वास्थ्य केन्द्र चार वर्षदेखि स्थानीय क्लबको भवनमा सञ्चालन हुँदैआएको छ, साघुरो भवनमा दुःखका साथ सेवा दिइरहेका छौं, तर नयाँ भवनबाट कहिले सेवा दिन पाइने हो टुङ्गो नै छैन, स्वास्थ्य केन्द्रकी प्रमुख सम्झना श्रेष्ठले गुनासो गर्नुभयो । 

स्वास्थ्य केन्द्रले दैनिक २० जनाभन्दा धेरैलाई सेवा दिंदै आएको उहाँको भनाइ छ । हामीले एउटै कोठाबाट सबै काम गरिरहेका छौं ड्रेसिङलगायतका कार्य भने खुला ठाउँमा नै बसेर गर्ने गरेका छौं श्रेष्ठले थप्नुभयो । 

स्वास्थ्य केन्द्रको शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा छ, प्रशासनिक कोठामा ठेकेदारले अन्य काम गर्न मिस्त्रीलाई राख्ने गरेका छन् । भवन हेर्दै धेरै वर्ष पुरानोजस्तो देखिन्छ स्थानीयको भनाइ छ ।

भवनको निर्माण काम गरेको सिद्धबाबा निर्माण सेवाका सञ्चालक चोपनारायण श्रेष्ठले भवन निर्माण सम्पन्न भइसकेको दाबी गर्नुभयो । भवनको अवस्थाबारे जानकारी गराएपछि श्रेष्ठले भन्नुभयो, “हामीले भवन बनाएर सकेका हौं निर्माणपछि सबै रकम लिइसकेका छौं ।”

यता, भवन निर्माण सम्पन्न भई पुनः रङरोगनको काम भइरहेको वालिङ नगरपालिकाका इन्जिनियर मणिप्रसाद तिवारीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले भवनको पुनः सबै काम सकाउन ठेकेदारलाई भनेका छौं ।” अब तत्काल सोही भवनबाट सेवा सुचारु गराउने व्यवस्था मिलाउँछौँ ।