• १३ साउन २०८१, आइतबार

ऐना पहरामा बन्ने भयो ऐना पार्क

blog

अमरराज नहर्की

तनहुँ, पुस ८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले वडा न २ र ४ को सिमाना पर्ने ऐना पहरामा ऐना पार्क बनाउने कार्य सुरु गरेको छ । पृथ्वी राजमार्गसँग जोडिएको ऐन पहरा झरना रहेको स्थानमा पार्क निर्माण सुरु गरेको हो ।

 पर्यटकलाई थप आकर्षित गर्न  पार्क निर्माण कार्य थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।   गाउँपालिका अध्यक्ष शुक्र चुमानले पार्कको हालै शिलन्यास गर्दै सो स्थानलाई सुन्दर पर्यटकीय केन्द्र बनाउने सोंच अनुसार काम अघि बढाइने  बताउनुभयो । अध्यक्ष चुमानले नेपालमा पहिलो पटक ऐना पहरामा स्टक्चर पार्क बनाइने बताउनुभयो । पहाड खोपेर आकर्षक गणेशको मूर्ति निमांर्ण गरिने उहाँले बताउनुभयो । ‘पहरालाई खोपेर विभिन्न आकृति बनाएर पर्यटकलाई भुलाउने योजना छ’ अध्यक्ष चुमानले बताउनुभयो । पृथ्वी राजमार्ग भएर दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षित गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना देखिएको पालिकाको गौरव आयोजनामा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष शुक्रबहादुर चुमानले बताउनुभयो ।

 पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष रु एक करोड ४० लाख विनियोजन गरी पार्क निर्माण कार्य सुरु गरिएको गाउँपालिका  पार्क बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त स्थानमा साहसिक खेल, सिसाको पुल, जीपलाइन, स्वीपिङ, ढुङ्गामा आकर्षण निर्माणलगायत संरचना निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

कूल रु पाँच करोड लागत अनुमान गरिएको गौरवको आयोजनामा राखेर काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ  । गाउँपालिकाले वडा नं ६ को हिले खर्क र वडा नं १ को गिरौनचौरलाई नमुना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई रु ३० लाखका दरले रु ६० लाख बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । ती दुई वटाका नमुना पर्यटकीय गाउँमा रहेका मौलिक घुमाउने घरलगायतको परम्परागत घरको संरक्षण गरिने उहाँले बताउनुभयो ।