सप्तरी समाचारदाता
सप्तरी, पुस ८ गते । सप्तरीसहित मधेशका जिल्लामा चिसो बढेको छ। बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि चिसो बढेको हो। केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन्। चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ। महादेवा गाउँपालिका–१, सोनराका देवनारायण मण्डलले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङ्ग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो। चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङ्ग्रिएर मृत्यु हुने अवस्था रहेको मण्डल बताउनुहुन्छ। चिसो छल्नका लागि स्थानीयहरू घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन्।
विपन्न परिवारलाई चिसोबाट जोगाउन स्थानीय तह तथा अन्य सरोकारवाला निकायले अहिलेसम्म कुनै पहल नगरेको प्रभावितहरूले गुनासो गरेका छन्। चिकित्सकले चिसोबाट बच्न काम विशेषबाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो लुगा लगाउन सुझाव दिएका छन्। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश गुप्ताले अत्यधिक मात्रामा चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिको विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ, सप्तरीले बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। सप्तरीका ट्राफिक प्रहरी प्रमुख कमलजङ्ग थापाले हुस्सु लागेका बेला सवारी दुर्घटनाको जोखिम हुने भएकाले प्रत्येक सवारीलाई बत्ती बालेर सामान्य गतिमा चलाउन र यात्रुलाई पनि सचेत रहन सुझाव दिनुभएको छ।