जीवछ यादव
लहान, पुस ८ गते । औरही गाउँपालिका–४, ईटाटारको मुसहर बस्तीमा बस्नेहरू चार पुस्तादेखि लालपुुर्जाविहीन रहेका छन्। त्यस गाउँका मुसहर समुदाय श्रम गरेर खाए पनि बस्नलाई घरै नभएको भन्दै चिन्तित रहेका छन्।
ऐलानी पोखरीको डिलमा चारैतिर चार पुस्तादेखि बसोबास गरिरहेका मुसहर समुदायले बसोबास गरिरहेको जग्गाको लालपुर्जा सरकारले बनाइदिने पर्खाइमा छन्। ७० वर्षीय सुकन सदायले कहिले कुन सरकारले बनाइ दिन्छ भनेर पर्खिरहेको पीडा सुनाउनुभयो।
स्थानीय बासिन्दा कमलेस सदायले २०४५ सालमा जेटिजेडको अनुदानमा चामल आएपछि सबै सदाय समदायले पोखरी खन्ने काम गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले त्यही पोखरी गाउँपालिकाले ठेक्कामा लगाउँछ।” मुसहर समुदायलाई पोखरीमा माछा पालेर आर्थिक रूपमा सबल बनाउन गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँले दुखेसो पोख्नुभयो।
प्रत्येक चुनावमा यस गाउँका मुसहर समुदायले पोखरीको डिलमा उकुसमुकस भएर बस्न नसक्ने पीडा पोख्दै आइरहेका छन्। कतै बस्ने जमिन उपलब्ध गराइदिए हुन्थ्यो, उनीहरूको मागलाई चुनाव जितेर जाने कुनै राजनीतिक दल र उम्मेदवारले ध्यान नदिएको गाउँकी ६५ वर्षीया मङ्गली सदायले बताउनुभयो। उहाँले भन्नभयो, “यसै गाउँपालिकाबाट प्रदेश सभाको चुनाव जितेर मधेश प्रदेशको कृषिमन्त्री हुनुभएका विजय यादवले सुरक्षित बस्ती बनाइदिने प्रतिबद्धता पनि पूरा गर्नुभएन।”
परिवार सङ्ख्या बढ्दै गएपछि पोखरीको डिलमा घर बनाउने र जग्गा नहुँदा एउटै घरमा धेरै जना बस्नुपर्ने बाध्यता छ। जसोतसो गुजारा गरिरहेकोले ईटाटारका मुसहर समुदायलाई बसोबासका लागि जग्गा उपलब्ध गराई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरी दिन सरोकारवाला माग गरेको ककलती सदायले बताउनुभयो।
भारतको सिमानासँग जोडिएको ईटाटार गाउँका मुसहर समुदायका बालबालिका पढने उमेरमा दिल्ली, पञ्जाब जाने गर्थे। फ्रिडम फोरमको सहयोग र लहानस्थित दलित जनकल्याण युवा क्लबको पहलमा यस वर्ष १५ जना बालकहरूलाई भारतबाट फिर्ता ल्याएर पढाउन थालिएको छ। सात महिनादेखि गाउँका ३५ जनालाई पढाउन ट्युसन कक्षा सुरु गरेपछि केही सुधार हन थालेको स्थानीय बासिन्दाको भनाइ छ।
सिरहा जिल्लामा एक लाखभन्दा बढी जनसङ्ख्या रहेको मुसहर समुदायका ९० प्रतिशतभन्दा बढी परिवार लालपुर्जाविहीन रहेको क्लबका अध्यक्ष उमेश बिसङ्खेले बताउनुभयो। उहाँले यस समुदायको उत्थान गर्न आवासका लागि जग्गा, शिक्षामा पहुँच र आर्थिक रूपमा सम्पन्न बनाउन रोजगारीका अवसर आवश्यक भएकोमा जोड दिनुभयो।