• १२ असोज २०८१, शनिबार

जङ्गली हात्तीको आक्रमणबाट बच्नै गाह्रो !

blog

विष्णुप्रसाद पोखरेल 

दमक, पुस ८ गते । झापामा पछिल्लो समयमा जङ्गली हात्तीको आक्रमणबाट बच्न मुश्किल बन्न थालेको छ। जिल्लामा पछिल्लो नौ महिनामा चार जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको छ।  विशेष गरी भारतबाट आउने जङ्गली हात्तीले झापाका विभिन्न सामुदायिक वन तथा चारकोशे झाडीमा वासस्थान बनाउँदै आएका छन्। जिल्लाको प्रमुख समस्या पहिचान गर्ने क्रममा जिल्ला विपद् व्यवस्थापन समितिले हात्तीको समस्यालाई प्रमुख रूपमा औँल्याएको छ। 

कचनकवल गाउँपालिकामा मङ्गलबार हात्तीको आक्रमणबाट बाह्रदशीमा एक जनाको घटना स्थलमा नै मृत्यु भयो। कचनकवल गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो। हात्तीको समूहका कारण भुजेलको शव उठाउन प्रहरी र स्थानीयलाई निक्कै सकस भयो।

प्रहरी र स्थानीयलाई शव उठाउन निकै समय लागेको थियो। साइरन बजाउनेलगायतका विभिन्न उपाय लगाएर शव भएको स्थानबाट हात्तीको बथानलाई भगाएर राति मात्र शव उठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार हात्तीलाई घटना स्थलबाट धपाएर शव उठाउन झन्डै पाँच घण्टा नै लाग्यो। 

केही महिनायता झापाको मेचीनगर, हल्दिबारी, कचनकवल, दमकलगायतका पालिकाहरूमा र चारकोसे झाडीको रूपमा चिनिएको जलथलको जङ्गलमा जङ्गली हात्तीहरूको बथान देखिँदै आएको छ। एक हप्ताअघि हल्दिबारी गाउँपालिकामा हात्तीको आक्रमणबाट चार जना स्थानीय बासिन्दाहरू गम्भीर घाइते बन्नुभएको थियो।

सामुदायिक वन र चारकोसे झाडी आसपासका बासिन्दाहरू रातिमा राम्रोसँग निदाउन नसक्ने अवस्था आएको छ। दिनहुँ हात्तीको बथान देखिन थालेपछि त्रसित भएर जाग्राम बस्ने र हात्ती धपाउनका लागि आलोपालो गरेर जोखिमयुक्त क्षेत्रमा गस्ती गर्ने गरेको छन्। 

मानव र हात्तीको द्वन्द्व नियन्त्रणका लागि एक हप्ताअघि पश्चिम बङ्गालको कोलकातामा बहस पनि भएको थियो। नेपाल आउने भारतीय हात्ती पश्चिम बङ्गालबाट नै आउने गरेकाले दुई देशले यसमा ध्यान दिनुपर्ने आवाज उठाएको मानव र हात्तीको द्वन्द्व न्यूनीकरणमा जुट्नुभएका अर्जुन कार्कीले बताउनुभयो।

मेचीनगर नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका कार्कीका अनुसार आफूूहरूले नेपालमा र विशेष गरी झापामा हात्तीको समस्या सामधानका लागि भारतको कोलकातामा प्रत्येक वर्ष हुने महोत्सवमा यो विषयमा छलफल गर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “समस्या सामधान गर्न भारतको सहयोग र सहकार्य जरुरी छ।” 

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि झापामा ‘हात्ती कोरिडोर’ परियोजना पनि सञ्चालनमा आएको थियो। झापाको दक्षिणी कचनकवलदेखि उत्तरी बाहुनडाँगी गाउँपालिकासम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भू–भागलाई समेटेर कोरिडोर निर्माण चार वर्षदेखि भइरहेको छ।

पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आवतजावतका लागि अन्डरपास नै बन्दैछ। राजमार्ग विस्तारको क्रममा हात्तीको आवतजावतका लागि अन्डरपास निर्माण हुन लागेको हो।