• १३ वैशाख २०८२, शनिबार

अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

blog

काठमाडौँ, पुस ८ गते । जातिप्रथा, छुवाछूत, रङ्गभेद र धर्मभेदजस्ता सामाजिक कुप्रथा पूर्ण रूपमा निर्मूल गर्नुपर्ने मागसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले समाजका यस्ता कुप्रथा पूर्ण रूपमा निर्मूल नभएसम्म सामाजिक न्याय प्राप्त नहुने र लोकतन्त्रसमेत सफल नहुने निष्कर्ष निकालेको नेपाल–भारत दलितमैत्री सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

सम्मेलनमा २१औँ शताब्दीमा छुवाछूत तथा जातिप्रथा कायम रहनु अस्वाभाविक र निन्दनीय भएको, विश्वका सबै मानवतावादीले यस्ता कुप्रथा हटाउन अभियान चलाउनुपर्ने र शिक्षा, स्वास्थ्य, राजनीति तथा आर्थिक उत्थानमा दलित समुदायको स्तरोन्नतिका लागि सरोकारवालालाई ध्यान दिन जोड दिएको छ। मङ्सिर २७ देखि २८ गतेसम्म सो सम्मेलन भारतको दिल्लीमा आयोजना भएको थियो।

सो अवसरमा विभिन्न दलित अधिकारकर्मीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्गबहादुर बस्याललाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’, अधिकारकर्मी मनिराम देवललाई ‘जगजीवनराम अन्तर्राष्ट्रिय पुरस्कार’ र दलित आयोगका पूर्वसदस्य मीना स्वर्णकारलाई ‘इन्द्रायणी राम अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको थियो। 

त्यसैगरी भक्तबहादुर विश्वकर्मा (दैलेख) र रामसुभग हरिजन (रुपन्देही)लाई ‘अम्बेडकर ब्रदरहुड पुरस्कार’, माया विश्वकर्मा (काठमाडौँ), सरिता विश्वकर्मा 

(रुपन्देही), बुद्धकुमारी विश्वकर्मा (सिन्धुपाल्चोक) र आकृति राम (रुपन्देही)लाई ‘अम्बेडकर विशिष्ट समाज सेवा पुरस्कार’ प्रदान गरिएको थियो। सो अवसरमा शर्मिला महरा (धनुषा)लाई ‘वीरङ्गना इन्द्रायणी राम पुरस्कार,’ रेम विश्वकर्मा (पाल्पा)लाई ‘अम्बेडकर ब्रदरहुड पुरस्कार’ प्रदान गरिएको थियो।