सन्तोष दहित
दाङ, वैशाख १३ गते । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरू तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि सिङ्गो गाउँले तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।
हाम्रो गाउँमा १२० घरधुरी छ, स्थानीय जङ्गबहादुर चौधरीले भन्नुभयो, “१२० घरधुरी नै व्यावसायिक तरकारी खेती गर्दैआएका छौं ।” तुलसीपुर उपमहानगरपालिकाले पाँच वर्षअघि गाउँमा बोरिङ र लिफ्ट सिँचाइको व्यवस्था गरिदिएपछि आफुहरू बाह्रै महिना तरकारी खेती गर्दैआएको बताउनुभयो । गाउँमा बाह्रै महिना सिँचाइ हुने भएपछि यहाँका किसानहरू तरकारी खेतीमा आकर्षित भएको उहाँले बताउनुभयो ।
पहिला मैले इनारबाट सिँचाइ गरेर एक डेढ कट्ठा तरकारी खेती गर्दैआएको थिएँ, उहाँले भन्नुभयो, “अहिले बोरिङ र लिफ्ट सिँचाइ भएपछि १० कट्ठामा व्यासायिक रूपमा तरकारी खेती गर्दै आएको छु ।” धान, गहुँभन्दा तरकारी खेतीमा राम्रो आम्दानी भएकाले आफु बिगत १०–१५ वर्षदेखि तरकारी खेतीमा लागिरहेको बताउनुभयो ।
तरकारी खेतीबाट छोराछोरीको पढाइ र घर खर्च कटाएर पनि वार्षिक ६–७ लाख बचत हुने गरेको उहाँले बताउनुभयो । “अहिले जेठो छोरालाई थप पढाइको लागि गत वर्ष युकेमा पठाएँ, कान्छो छोरा यहि व्याक्चलर पढिरहेको छ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँका सबै किसानले तरकारी खेतीबाट आएको आम्दानीले आफ्ना छोराछोरीलाई पढाइरहनुभएको छ ।’
गाँउमा बोरिङ र लिफ्ट सिँचाइ भएपछि हाम्रो गाउँको परिचय नै फेरिएको छ, जङ्गबहादुरले भन्नुभयो, “वर्षायाम बाहेक कुमलगदी गाउँको बाँझै देखिने खेतबारी अहिले जताततै जुनसुकै समयमा पनि हरियाली देखिन्छ, खेतबारीमा मौसमी र बेमौसमी तरकारीले हरियाली गाउँको रूपमा चिनिन्छ ।’
साँच्चिकै भन्ने हो भने अहिले हामी किसान यहि तरकारी खेतीमा समृद्धि खोज्दै छौँ, त्यो समृद्धि हाम्रो तरकारी बारीमा छ, उहाँले भन्नुभयो, “स्थानीय सरकारले हामीले उत्पादन गरेको तरकारी बजार व्यवस्थापन गरिदिने हो भने हाम्रो लागि समृद्धि यहि छ, कँही खोज्न जानु पर्दैन ।”
मौसमीभन्दा बेमौसमी तरकारीमा फाइदा हुने भएकाले यहाँका किसान बेमौसमी तरकारी उत्पादन गर्नेमा लाग्ने गरेको सोही गाउँकी ललिता चौधरीले बताउनुभयो । “सिजन अनुसारको पनि तरकारी खेती पनि गर्दै आएको छु”, ललिताले भन्नुभयो, “सिजन अनुसारको मौसमी खेतीसँगै बेमौसमी तरकारी खेती बढी गर्दै आएको छु ।”
उहाँको अनुसार कुमलगदी गाउँका किसानले लौका, भेन्दी, बोडी, भन्टा, करेला, घिउसिमी फलाएका छन् । यस्तै काँक्रा, फर्सी, खुर्सानी, गोलभेदा, टमाटर लगायत तरकारी फलेको उहाँले बताउनुभयो । करिब ७ कट्ठामा तरकारी खेती गर्दैआएको बताउँदै उहाँले भन्नुभयो, “तरकारी खेतीमा मेहनत गर्न सकेमा राम्रो आम्दानी हुन्छ ।”
राज्यले तरकारीको बजार व्यवस्थापनका जोड गरिदिने हो भने पैसा कमाउन कसैलाई खाडी मुलुक जानुपर्दैन उहाँले भन्नुभयो, “बाहिरबाट आउने तरकारीलाई रोक लगाएर स्थानीयमा उत्पादन भएको तरकारीको बजार व्यवस्थापन गरिदिने हो भने अधिकांश किसान तरकारी खेतीमा आकर्षित हुने छन् ।” जङ्गबहादुर र ललिता त कुमलगदी गाउँका उदाहरण मात्र हुनुहुन्छ । कुमलगदीको सिङ्गो गाउँ नै तरकारी खेतीबाट आत्मनिर्भर बन्दै छ ।’