• १३ पुस २०८१, शनिबार

दौलत दाइसँगको आग्रह

blog

जय भट्टराई

चपाइएका अनुहार पढेपछि नै दौलतविक्रम विष्टप्रतिको क्रेज ह्वात्तै बढेको हो पाठकको । कलेज जीवनको आरम्भिक दिनमै चपाइएका अनुहार पढेपछि हाम्रा लागि नायक बन्न पुगे दौलतविक्रम । यस्तो उपन्यास लेख्ने मान्छे कस्ता होलान् ? यस्तो उपन्यासलाई चलचित्र बनाउन सके कस्तो होला ? यस्तै जिज्ञासाले डो¥याएको हो उहाँको आँगन छेउ । चालीसको दशकको सुरुताकाको समय मित्र अमोद (साहित्यकार अमोद भट्टराई) का साथ काठमाडौँको मीनभवनस्थित दौलत निवासको छेउछाउ उभिएका थियौँ हातमा चिठ्ठी लिएर । विद्यार्थी कालमा त्यतिबेला हाम्रा लागि दौलतविक्रमजस्ता साहित्यकारलाई भेट्नु भनेको सपनाको कुरा त छँदैथियो, आँटको विषय पनि थिएन । मौकाको पर्खाइमा सडकछेउ उभिएर कसैको प्रतीक्षा गर्नुबाहेक विकल्प थिएन । भाग्यवश एक जना चौधरी भाइ जो दौलत दाइका सहयोगीलाई फेला पारेपछि उसैको हातमा चिठ्ठी थमाएर हामी बाटो लागेका थियौँ । प्रशंसाले भरिएको त्यो पत्रमा हामीले चपाइएका अनुहारलाई चलचित्र बनाउन आग्रह गरेका थियौँ । पत्रको जवाफ आउने कुरा त कता हो कता त्यो पत्र उहाँले पढ्नुभयो भएन त्यो पनि पत्तो भएन । चपाइएका अनुहार नाम गरेको नेपाली कथानक चलचित्र बनेको पनि थाहा भएन  । 

साहित्यमा पाइला टेक्नुअघि नै उहाँको दैलोनिर पाइला टेकेको एउटा गर्विलो इतिहास । साहित्यसँग गाँसिएको एउटा रोमाञ्चक संस्मरण । साहित्यिक कृतिबाट आकर्षित भएर स्रष्टाको दैलोसम्म पुग्न प्रेरित पाइलाहरू पछिल्ला दिन स्रष्टाको सरल, सहज र सहृदयी व्यवहारले बारम्बार गइरहने थलो बन्न पुग्यो मीनभवनस्थित दौलतविक्रम विष्टको घर । त्यो घरमा घण्टौँ बसेर साहित्य र साहित्यकारका बारेमा कुराकानी हुन्थे । कथाका बारेमा, उपन्यासका बारेमा, समालोचनाका बारेमा पनि । 

साहित्यका विविध विधामा कलम चलाएर कथा र उपन्यासमा केन्द्रित र बढी सफल हुने साहित्यकार दौलतविक्रम विष्ट प्रायः भेटिनुहुन्थ्यो चियाको चुस्की र चुरोटको सर्कोका साथ । आफ्नै कोठाको पलङमा बसेर घोप्टो परेर लेखिरहेको अवस्थामा पनि भेटिनुहुन्थ्यो उहाँँ । अवकाशपछिको जीवन, मधुमेह, रक्तचाप, मिर्गौलाको समस्याले गालेको शरीर, बढ्दै गएको उमेरले पनि होला काठमाडौँको मीनभवनस्थित उहाँको घर, कोठा नै केन्द्रबिन्दु थिए उहाँका लागि । गएर बसेपछि चियाको आदेशसँगै गफ सुरु गरिहाल्नुहुन्थ्यो । यही गफ गर्ने र सुन्ने बानीले नै होला दौलत दाइका लेखनमा यी सहायक बने । चपाइएका अनुहार यही गफ सुनेकै भरमा लेखिएको रे– पहिलो र दोस्रो विश्वयुद्धमा लडेका सिपाहीहरूको सङ्गतबाट मैले चपाइएका अनुहार लेखेको हुँ, विशेषतः भारतको उत्तर–पूर्वी सीमामा युद्ध लडेका अनन्द थापाले सुनाएको युद्ध कथाका आधारमा लेखको हुँ  ।

एक पटक साहित्यकार परशु प्रधान, शैलेन्द्र साकार, ध्रुव सापकोटाले सन्दर्भवश चपाइएका अनुहार जासुसी उपन्यास हो भन्ने जिज्ञासामा पनि दौलत दाइ स्पष्ट पार्नुहुन्छ– त्यो कुनै हालतमा जासुसी उपन्यास होइन, हो त्यसमा भावनाहरू बढी छन् । यो मानवताको पक्षमा छ । म कर्मवादी दर्शनको पक्षमा छु । त्यसको मुख्य पात्र अनन्त बुद्धको, अहिंसाको र शान्तिको पक्षमा छ । शैलीमा कथात्मकता छ । 

यहीँनिर फेरि अर्को प्रश्न उब्जन्छ– बानेश्वरको एउटा कोठामा बसेर अफ्रिकाको जङ्गलको चित्रण हुन सक्दैन दौलत दाइ । जर्मन किमरिखको चित्रण कसरी आयो  तपाईंमा ? अनन्तले कुन नेपाली वर्गको प्रतिनिधित्व गर्छ ?

मैले दुई वर्ष रेन्जर कोर्स गरेको थाहा छैन तपाईहरूलाई र यसो भन्नुहुन्छ ? मैले जङ्गली स्वभावको धेरै जानकारी लिएको छु । मैले राजनीति, इतिहास र भूगोल अध्ययन गरेको हुँ । त्यसमा रहेको जर्मनी स्वभाव र जर्नेलका नामहरू ऐतिहासिक तथ्यहरू हुन् । इतिहासको सत्यबाट मेरो उपन्यास टाढा छैन । हो– दार्शनिक गहनताले भने उपन्यासलाई धेरै गहिराइमा पु¥याएको छ । भौगोलिक अज्ञानतालाई आजको वैज्ञानिक युगको टेलिभिजन र पुस्तक, सिनेमाको आविष्कारले धेरै कम गरेको छ, म युरोपियन स्वभावसँग बढी परिचित छु र दोस्रो विश्वयुद्धमा भाग लिने थुप्रै व्यक्ति मेरै छेउछाउमा धेरै छन्, तिनैबाट मैले उपन्यासको जग उभ्याएको हुँ । (परशु प्रधान, केही क्षण, केही अनुहार) चपाइएका अनुहारले उपन्यासकार दौलतविक्रम विष्टलाई अलग रूपमा चिनाएको पक्कै हो । डा. तारानाथ शर्माका शब्दमा भन्नुपर्दा नेपाली उपन्यास साहित्यमा यो 

ग्रन्थ अनुपम उपलब्धि भएको छ । किनभने यसले स्पष्टताका साथ र सफलताका साथ नयाँ क्षितिजको उद्घाटन गरेको छ ।

व्यक्तित्वका अनेकौँ पाटा उहाँका । कथाकार, उपन्यासकार भनेर चुलिनु भए पनि नाटक लेख्नु, अभिनय गर्नु, नाटक निर्देशन गर्नु, साहित्यिक पत्रकारिता गर्नु, अध्यापन गर्नु उहाँका थप व्यक्तित्वका क्षेत्र बन्न पुगे । कलिलो उमेरमै ससानो जागिरमा झुन्डिएर अघि बढ्दै २०१५ सालमा उहाँ सरकारी अधिकृत बन्नुभयो । वि.सं १९८३ सालको असोज ६ गते भोजपुरमा जन्मिनुभएका दौलतविक्रम विष्टले कलाकारितामा रुचि देखाउनु भए पनि साहित्यमा २० वर्षको उमेरदेखि मात्र देखापर्नु भयो । वि.सं २००३ सालमा पहिलो रचनाको रूपमा आँखा शीर्षकको कविता छापिएपछि साहित्य जगत्मा देखापर्नु भयो । लेखनको आरम्भ कविताबाट गरे पनि दौलतविक्रम विष्टले केही समय नाटक लेखनमा पनि सक्रियता देखाउनु भयो । वि.सं २००५ सालमा शारदामा ‘ऊ गयो’ शीर्षकको  कथा छापिएपछि भने उहाँको परिचय कथाकारकै रूपमा रह्यो । निरन्तर रूपमा कथा लेखनमा लाग्दा पनि आफ्नो लेखनको स्तरलाई झन्झन् परिष्कृत पार्दै जान सक्षम विष्टका पछिल्ला समयका  केही कथाहरू केही जटिल भए भन्ने जिज्ञासामा आफ्ना पाठक र समालोचकहरूले आफ्ना पछिल्ला कथाहरूलाई राम्ररी बुझ्न नसकेको गुनासो गर्नुहुन्थ्यो ।

मीनभवनको उही घरको कोठामा कथाकार दौलतविक्रम आफ्नै कथाकारिताका बारेमा भन्दै हुनुहुन्थ्यो– मञ्जरी प्रकाशित नभएसम्म मलाई कथाकारका रूपमा चिन्ने बढी थिए तर २०१६ सालमा मञ्जरी उपन्यास प्रकाशित भएपछि भने धेरैले उपन्यासकारकै रूपमै चिन्न थाले । नेभाप्रसले २००८ सालमा प्रतियोगिता गरेपछि मैले मञ्जरी लेखेर नौ सय रुपियाँ पाएको खबर पाएँ तर पुरस्कार घोषणामा सीमित भयो । तर मेरो उपन्यास लेखनको आरम्भ र पुरस्कृत हुने इतिहास यहीँबाट थालियो । 

उसो भए हाम्रा समालोचकहरूसँग त्यति सन्तुष्ट हुनुहुन्न ? 

नेपाली साहित्यमा समालोचना विधा  त्यति राम्रो छैन  । त्यसमा पनि पर्याप्त मात्रामा समलोचना भएको देखिँदैन । तटस्थ भएर राम्ररी समालोचना गर्ने समालोचकहरू भेटिन गाह्रो छ । यहाँका समालोचकहरू पोख्त छैनन् किनभने उनीहरूले आजसम्म समालोचनाको मौलिक कसी नै तयार पार्न सकेका छैनन् । हाम्रा जे जति समालोचकहरू समालोचना गरिरहेका छन् ती सबै मध्यकालीन समालोचकहरूले अपनाएको समालोचना विधिलाई  नै अपनाइरहेका छन्, उनीहरूकै पछि दौडिरहेका छन्, मौखिक रूपले जतिसुकै आधुनिकताको बखान गरे पनि । 

लेखक, साहित्यकार, कलाकार, नाट्य निर्देशक, सरकारी अधिकृत, सिद्धार्थ वनस्थली र फर्पिङ आदर्श विद्यालयका शिक्षक, कवि, नाटककार जे भए पनि दौलतविक्रम विष्टको चुलिएको व्यक्तित्व कथा र उपन्यासमै रह्यो । पहिलो उपन्यास मञ्जरीका लागि पुरस्कृत उहाँले २०४५ मा ज्योति ज्योति महाज्योतिका लागि मदन पुरस्कार, आँसु त्यसै त्यसै छचल्किन्छ (कथा सङ्ग्रह)का लागि साझा पुरस्कार, महेन्द प्रज्ञा पुरस्कार, गंकी बसुन्धरा पुरस्कारआदि पाउनुभयो । वि.सं २०५९ सालको पुस १३ गते यो धराबाट टाढिनु भए पनि नेपाली कथा, उपन्यास क्षेत्रमा दौलतविक्रम विष्ट पढिने र सम्झिने नाम बन्न पुगेको छ ।